मैथिल संस्कृतिको केन्द्र मानिने जनकपुरमा बसेर सार्वजनिक सम्पत्ति हडप्नेदेखि गम्भीर अपराधमा समेत मुछिंदै आएका वैकुण्ठमाथि पछिल्लो पटक सरकारी कागजात किर्ते गरेर जनक हजारी विद्यापीठले भोगचलन गर्दै आएको दुई बिघा ११ कट्ठा जग्गा हडपेको आरोप लागेको थियो । विद्यापीठका प्राचार्य विजयकुमार चौधरीले नै प्रमाणसहित जाहेरी दर्ता गरेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । जिल्ला अदालत धनुषाले १४ मंसीरमा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका महन्त वैकुण्ठलाई धनुषा प्रहरीले २० मंसीरमा सार्वजनिक गरेको छ ।
डेढ अर्बको जग्गा किर्ते
वैकुण्ठमाथि रत्नसागर मठको जग्गा बेचेर करोडौं रकम कमाएको आरोप पहिलेदेखि लाग्दै आएको थियो । त्यही कारण अरू त अरू, जनकपुर र आसपासका अन्य जिल्लामा रहेका मठका महन्तहरू समेत उनीविरुद्ध उभिएका थिए । जस्तो कि, जनकपुरको वीरपुर कुट्टीमा रहेको राधाकृष्णको बहुमूल्य मूर्ति गायब पारेको, मन्दिरको सम्पत्ति अनधिकृत रूपमा बेचबिखन गरेको दाबी गर्दै जनकपुरको जानकी मन्दिर र महोत्तरीको मटिहानी मठका महन्तहरू सम्मिलित ‘रामानन्दीय वैष्णव संघ’ ले २० वैशाख २०६६ मा प्रेस विज्ञप्ति जारी गर्दै वैकुण्ठविरुद्ध सडकमा ओर्लिने चेतावनी दिएको थियो । जानकी मन्दिरका महन्त रामतपेश्वर दास भन्छन्, “गुठीसँगको मिलेमतोमा उनले सयौं वर्ष पुरानो मूर्ति र जग्गा समेत बेचेर खाए । उनको चरित्र शुरूदेखि नै विवादित र आपराधिक प्रवृत्तिको देखिंदै आएको छ ।”
नक्कली कागजात तयार पारिएको त्यो जग्गा (सिट नम्बर १३५४–१४ को कित्ता नम्बर ६२ को २ कट्ठा ११ धुर र सिट नम्बर १३५४–१५ को कित्ता नम्बर २८ को २ बिघा ८ कट्ठा १४ धुर) उनले आफ्ना नातेदार अशोक शर्माका नाममा नामसारी गराएका थिए । शर्माको नामबाट त्यो जग्गा अरूलाई बिक्री गरिएको थियो । जनकपुरको रामानन्द चोकबाट करीब ३०० मिटर दक्षिण पश्चिममा रहेको यो जग्गाको चलनचल्तीको मूल्य डेढ अर्ब रुपैयाँभन्दा बढी पर्छ, जहाँ अहिले घना बस्ती छ ।
जनक हजारी विद्यापीठका प्राचार्य विजयकुमार चौधरी विद्यालयले भोगचलन गर्दै आएको गुठीको जग्गा धमाधम बिक्री हुन थालेपछि खोजी गर्दा वैकुण्ठको ठगी धन्दा खुलेको बताउँछन् । धनुषा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलिया भन्छन्, “उनीविरुद्ध थुप्रै आरोप छन्, अन्य कुरामा प्रमाण पुर्याउन कठिन हुने भएकाले तत्काल सरकारी कागजात किर्ते र जालसाजी मुद्दा चलाउने तयारीमा छौं ।”
महन्त नाम बदनाम
साधु–सन्त, महन्तहरूलाई समाजमा बेग्लै स्थान र सम्मान दिइएको हुन्छ, तिनले समाजलाई दिशानिर्देश गर्ने विश्वास गरिने भएकाले । वैकुण्ठको प्रसंग भने बिल्कुल फरक देखिन्छ ।
उनी पक्राउ परेको पनि यो पहिलो पटक होइन । यसअघि जनकपुरमा भएको हत्याको एक घटनामा प्रमुख योजनाकार भएको अभियोगमा पक्राउ परिसकेका व्यक्ति हुन्, वैकुण्ठ । हत्या गरिएका व्यक्ति जिल्ला शिक्षा कार्यालय महोत्तरीमा कार्यरत अधिकृत लालकिशोर झ थिए । झलाई ११ कात्तिक २०६७ मा जनकपुर उपमहानगरपालिका–७ मा रहेको पगलाबाबा धर्मशालाबाट कार्यालयतर्फ जाँदै गर्दा गोली प्रहार गरिएको थियो । गोली लागेपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले झको हत्यामा ‘शूटर’ का रूपमा प्रयोग भएका ‘जनतान्त्रिक तराई मुक्ति मोर्चा’ का राकेश पाण्डेलाई पक्राउ गरेपछि त्यसका प्रमुख योजनाकार वैकुण्ठ नै रहेको बयान पाण्डेले दिएका थिए ।
पछि २९ असार २०७३ मा यो मुद्दाको अन्तिम सुनुवाइ गर्ने क्रममा जिल्ला न्यायाधीश ओमकार उपाध्यायको इजलासले पाण्डे, यादव र ठाकुरमाथिको अभियोग ठहर गर्दै जेल चलान गर्ने फैसला सुनायो । तर, उनीहरू तीनै जनाको बयानबाट मुख्य योजनाकार देखिएका वैकुण्ठलाई भने सफाइ दियो । जिल्ला अदालतको यो फैसला विरुद्ध दायर रिट अहिले उच्च अदालत जनकपुरमा विचाराधीन छ । झका बुबा पशुपति झले जिल्ला अदालतको फैसलाविरुद्ध न्यायपरिषद्मा समेत उजुरी गरेका छन् ।
वैकुण्ठ मुछिएका घटना यतिमै सीमित छैनन् । पछिल्लो समय भारतको पञ्जाबस्थित एक विश्वविद्यालयबाट विद्यावारिधि गरेको दाबी गर्दै आफ्नो नामको अगाडि ‘डाक्टर’ लेख्न थालेका उनले राजनीतिक संरक्षणको आड र आर्थिक चलखेलको बलमा आफ्ना गतिविधिलाई निरन्तरता दिंदै आएका छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालयमा पटक पटक उजुरी परेका छन् । तर, तिनको सुनुवाइ भएको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा उजुरी पर्नुको कारण हो– भारतीय नागरिक वैकुण्ठले झूटो विवरण पेश गरेर नेपाली नागरिकता लिनु । भारतीय राज्य विहारको मुजफ्फरपुर जिल्लाअन्तर्गत मधेपुरा ग्राम पञ्चायतको कटरा बस्ने राम श्रेष्ठ तिवारीका जेठा छोरा हुन्, वैकुण्ठ । तीन दाजुभाइमध्ये माहिला अनिल तिवारी जनकपुरमा वैकुण्ठसँगै बस्छन् । वैकुण्ठले आफ्नो काका पर्ने रत्नसागर मठका तत्कालीन महन्त रामप्रकाश दास वैष्णवको छोरा बनेर १७ कात्तिक २०५० मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रमाण–पत्र नम्बर ३९६९२४७ को नागरिकता लिएका छन् ।
रामप्रकाश दासलाई नजिकबाट चिन्ने जनक हजारी विद्यापीठका प्राचार्य चौधरीका अनुसार रामप्रकाश आजीवन अविवाहित रहे । विवाह नै नगरेका उनको छोरा बनेर नागरिकता लिएका वैकुण्ठको नागरिकताबारे परेको उजुरीमाथि सुनुवाइ भएको छैन । उनले भाइ अनिललाई समेत आफैंले सनाखत गरी रामप्रकाशकै छोरा बनाएर नागरिकता दिलाए, १६ फागुन २०६३ मा ।