१-७ पुस २०७५ | 16-22 December 2018

ऋणीको रकममा पदाधिकारीको रजगज

Share:
  
गरीबलाई वित्तीय पहुँच दिने छिमेक लघुवित्तामा वित्तीय अनियमितता भएको पाइएको छ।

भानु भट्टराई
विपन्न महिलालाई वित्तीय सेवा दिंदै आएको छिमेक लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनले ऋणीसँग उठाएको रकममा अनियमितता गरेको आरोप लागेको छ ।

विपन्न ऋणीसँग एक दशकअघिदेखि ऋणी/पशुधन सुरक्षण कोषका नाममा उठाएको करीब रु.८ करोड संस्थाको व्यवस्थापनले गैरसरकारी संस्थामा स्थानान्तरण गरेको भेटिएपछि नेपाल राष्ट्र ब्यांकले छानबिन गरिरहेको छ ।

छिमेक लघुवित्तले गरीब ऋणीसँग कर्जा तथा पशुधनको सुरक्षणबापत उठाएको रकम छिमेक सेवा समाज नामक गैरसरकारी संस्थामा सारेको भेटिएको थियो । उक्त रकमबाट घरजग्गा खरीदलगायतका काम गरेर उच्च व्यवस्थापनका पदाधिकारीहरूले लाभ लिएको बुझ्एिको छ ।

राष्ट्र ब्याङ्कले छिमेकमा संस्थागत सुशासनको अभाव रहेको बताएको छ । “छिमेक लघुवित्तको रकम गैरसरकारी संस्थामा सारिएको भेटिएपछि यसबारे कागजपत्र मगाएर अनुसन्धान भइरहेको छ”, राष्ट्र ब्यांकको लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारी भन्छन् । गैरसरकारी संस्थामा स्थानान्तरण गरिएको रकम छिमेक लघुवित्तमा नै फिर्ता गर्न राष्ट्र ब्याङ्कले पहल गरिरहेको उनले बताए ।

“जतिसक्दो चाँडो वित्तीय संस्थामा नै रकम फिर्ता गराउँछौं”, अधिकारीले भने । राष्ट्र ब्याङ्कले यसबारेमा छिमेक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र जोशीसहितका उच्च व्यवस्थापनका अधिकारीहरूलाई पनि स्पष्टीकरण सोधिसकेको छ । सीईओ जोशीले नियतवश अनियमितता गर्न वित्तीय संस्थाको रकम अर्को संस्थामा स्थानान्तरण नगरिएको भन्दै संस्थामा सबै रकम फिर्ता ल्याउने बताएका छन् ।

आफ्नै हात जगन्नाथ !

२०५८ देखि लघुवित्त कारोबारको अनुमति पाएर वित्तीय संस्थाको रूपमा काम थालेको छिमेकले आफ्ना सदस्य (ऋणी) बाट वार्षिक रूपमा कर्जा रकमको १ प्रतिशत ऋणी सुरक्षण शुल्क लिन्छ । त्यस्तै, छिमेकका ऋणीले पशुपालनको लागि ऋण लिंदा कुल रकमको ५ प्रतिशत पशु संरक्षण कोषमा जम्मा गर्नुपर्छ । यसबाहेक, लघुवित्तले सम्पूर्ण सदस्यबाट उठाएको प्रति सदस्य मासिक रु.१ मा त्यति नै थपेर कल्याणकारी कोषमा जम्मा गर्छ । कोषमा संस्थाका कर्मचारीको वर्षेनि दुई दिन बराबरको तलब समेत जम्मा हुन्छ । वार्षिक रु.१ करोड हाराहारी हुने यो सबै रकम लघुवित्तले छिमेक सेवा समाज नामक संस्थामा सार्दै आएको भेटिएको हो ।

त्यसमाथि, २०७२ को भूकम्पपछि पीडितलाई सहयोग गर्न भनेर सदस्यबाट उठाइएको रु.२ करोड रुपैयाँ पनि पीडितलाई सहयोग नगरी सेवा समाजमै सारिएको छिमेकलाई आरोप लागेको छ ।

छिमेक सेवा समाज संस्थाले चितवनमा तीन बिघा जमीन खरीद तथा प्लटिङ गरी लघुवित्तका पदाधिकारी, कर्मचारी र उनीहरूको परिवारलाई बिक्री गरेको थियो । यसका लागि, सोही संस्थाबाट कर्जा दिइएको थियो । कतिसम्म भने सीईओ जोशी आफैंले संस्थाबाट रु.८ लाख १ हजार ४१६ ऋण लिएर ५९, ६० र ६५ प्लट नम्बरका जग्गा खरीद गरेका थिए । त्यस्तै, छिमेक सेवा समाज संस्थामा स्थानान्तरण गरिएको रकमबाटै छिमेक लघुवित्तको रु.२० लाख बराबरको शेयर समेत खरीद गरिएको भेटिएको छ ।

लघुवित्त र समाज सेवा संस्था दुवैतिर एकाघरका सदस्य र उनीहरूका आफन्तको हालीमुहाली भएकाले पनि संस्थागत सुशासनमा प्रश्न उठेको हो । लघुवित्त संस्थाका उच्चपदस्थ व्यवस्थापकहरू छिमेक सेवा समाजको सञ्चालक समितिमा छन् । लघुवित्तको डेपुटी जनरल म्यानेजर शोभा मिश्र, मानव संसाधन विभाग प्रमुख चोलराज शर्मा, तालिम विभाग प्रमुख दीपकनिधि तिवारी छिमेक समाज सेवा संस्थाका सञ्चालक हुन् । मिश्र, शर्मा र तिवारी लघुवित्तका सीईओ जोशीका नजिकका नातेदार हुन् । जोशी आफैं संस्थाको शुरूआतदेखि सीईओ छन् ।

राष्ट्र ब्याङ्कले छिमेक लघुवित्तमा संस्थागत सुशासनको अभाव रहेको विषय आफूले ढिलो मात्रै थाहा पाएको बताएको छ । “हामीले सबै संस्थाको सबै कुरा हेर्न नभ्याउने कारणले नमूना छनोट गरेर हेर्छौं” कार्यकारी निर्देशक जनकबहादुर अधिकारी भन्छन्, “लामो समयदेखि संस्थागत सुशासनको अभाव भएको अहिले मात्र थाहा पाइएपछि छानबिन गरेका हौं ।”

ब्याङ्कका सीईओ जोशी भने, छिमेक समाज सेवा संस्था नै लघुवित्तको आधार संस्था भएकाले रकम स्थानान्तरण गरिएको बताउँछन् । पहिले राष्ट्र ब्याङ्ककै अनुमतिमा त्यसो गरिए पनि अब रकम फिर्ता ल्याइएको उनको भनाइ छ ।

छिमेक समाज सेवा २०४८ सालमा भुवनेश्वरी पन्तलगायतको पहलमा स्थापना भएको थियो । सरसफाइबाट सामाजिक अभियान थालेको यो संस्थाले कार्यक्षेत्र विस्तार गर्दै विपन्न वर्गको आर्थिक सुधारमा ध्यान केन्द्रित गरेको थियो । संस्थाकी संस्थापक पन्तले हिमाल सँग भनिन्, “म लघुवित्तका सदस्यहरूको रकम हिनामिना हुन नदिने सुनिश्चितता गर्छु ।”

रमेश कुमार

comments powered by Disqus

रमझम