१-७ पुस २०७५ | 16-22 December 2018

पारिका कारिगरको बजार

Share:
  
- चन्द्रकिशोर
भारतीय श्रमिकको एकाधिकार जस्तै रहेको नेपाली श्रम बजारमा स्थानीय युवालाई जोड्न प्रदेश र स्थानीय सरकारको पहल जरूरी छ।

चन्द्रकिशोर
अगहनमा धान घर भित्र्याएपछि कृषि मजदूरहरू गाउँ–देहातबाट पलायन हुन थाल्छन् । कोही काम खोज्दै भारतको हरियाणा–पञ्जाबतिर लाग्छन्, कोही खाडी मुलुकतिर उड्छन् । यही बेला भारतीय कारिगरहरू भने अवसर खोज्दै नेपाल भित्रिन्छन् । यहाँको श्रम बजारमा मौका छोप्ने उनीहरूका अनेकौं जुक्ति छन् ।

सिरक–डसना बनाउने मौसमी व्यवसायमा भारतीयको एकाधिकार जस्तै छ । त्यसमा थप विस्तारका लागि उनीहरूले कपासको सट्टा कपडाको भुवा प्रयोग गर्न सकिने नयाँ प्रविधि ल्याएका छन् । ट्याक्टरबाट सञ्चालन गर्न मिल्ने मेशीनले काम नलाग्ने पुराना कपडालाई भुवा जस्तै बनाएर पुनः प्रयोगमा ल्याइदिन्छ । “ट्याक्टर यतैका भाडामा लिन्छौं, केवल धुन्ने मेशीन आफ्नो हो,” विहारको पूर्वी चम्पारण रमगढवाका मोइत खाँ (५२) भन्छन् । उनका अनुसार करीब एक लाख रुपैयाँ पर्ने उक्त मेशीनले आम्दानी १० गुणा बढाएको छ । सिरक–डसना बनाउने कामका लागि मोइत खाँ प्रत्येक अगहनमा नेपाल छिर्न थालेको दुई दशक भइसकेको छ । गएको वर्षदेखि भने उनीहरूको टोली कपडा धुन्ने मेशीनसहित आउन थालेको हो । “अहिले यो कारोबार खूब फस्टाएको छ” मोइत भन्छन्, “मेरै गाउँबाट नेपालका पहाडतिर मात्रै पाँचवटा टोली गएका छन् ।”

प्लम्बिङको काममा भारतको उडिसाबाट आउनेहरूको कब्जा नै छ । सुनको कारिगरीका लागि पश्चिम बंगालबाट आउनेहरू प्रशस्तै छन् । दुर्गा पूजा, सरस्वती पूजा, विश्वकर्मा पूजा, गणेश पूजाका बेला मूर्ति बनाउने कारिगरमध्ये ठूलो हिस्सा सीमापारिबाट आउनेकै हुन्छ । फूटपाथ वा मेला–महोत्सवका बेला चना–चटपटे बेच्नेदेखि खेल–तमासा लिएर आउनेहरू सीमावर्ती भारतीय राज्यकै हुन्छन् । कबाड व्यवसायमा ठूलो हिस्सा उनीहरूकै छ । फलफूल–तरकारीदेखि घरायसी प्रयोजनका सामान डुलाई डुलाई बेच्नेहरूको जमातमा भारतीयकै वर्चस्व छ । प्रेसर कुकर वा ग्यास चुल्होदेखि अन्य घरायसी सामग्रीको मर्मतमा उनीहरू नै खप्पिस छन् । शैलुन, लण्ड्री, टेलरिङ, गाडी मर्मत जस्ता व्यवसायहरूमा तराईवासीहरूसँगै उनीहरू प्रतिस्पर्धा गरिरहेका छन् ।

सिकर्मी, घर बनाउने काम, कुखुरापालन, माछापालन, नर्सरी कारोबार जस्ता काममा उनीहरूको हुनर नेपालीका लागि आवश्यक भइसकेको छ । सिमरौनगढका रामेश्वर मेहताका अनुसार यस क्षेत्रको माछा पालनमा भुरा उत्पादनदेखि नै भारतीय सीपको उपयोग हुन्छ । उनीहरूकै स्याहार र संरक्षणमा माछा पालन व्यवसाय फस्टाउँदैछ ।

यी स–साना जस्ता लाग्ने कामको बजार नेपालमा निकै फराकिलो छ । सीप र प्रविधिको संयोजनसँगै अलिकति मिहिनेत गर्न सक्नेका लागि नेपाल कमाइको राम्रो थलो भएको छ । हिजो गर्दै आएको कामलाई प्रविधिसँग जोडिदिंदा आज कमाइ ह्वात्तै बढेको छ ।

नेपालमा भारतीय नागरिकले काम गर्न हुन्छ/हुदैन भन्ने यो आलेखको विषय होइन । यहाँ उठाउन खोजिएको के हो भने, गरिराखेकै काममा नयाँ सीप र प्रविधि थप्न सकियो भने कम पूँजी वा श्रममा पनि मनग्गे आम्दानी गर्न सकिन्छ र त्यस्तो प्रशस्त अवसर नेपालभित्रै छ । नेपालमा काम गर्ने अधिकांश भारतीय मजदूरहरूलाई ‘घर कहाँ हो’ भनेर सोध्दा उनीहरू नेपालकै दक्षिणी सीमाका शहर–बजारको नाम लिन्छन् । तर, खोजीनिती गर्दै जाँदा आफू पारिपट्टिको भएको स्वीकार्छन् ।

सीमावर्ती भारतीय क्षेत्रका यी मजदूरहरू भारतकै अन्य प्रदेशमा भन्दा नेपालमा काम गर्दा आफूलाई सुरक्षित ठान्छन्— नेपाली समाजमा उनीहरूको सहज–स्वीकार्यताले गर्दा । भारतकै दक्षिणका प्रदेशहरू भन्दा नेपालभित्रको भूगोलमा ओहोरदोहोर गर्नु कम झ्न्झ्टिलो हुने उनीहरूको अनुभव छ ।

तर, भारतीयले छोपिरहेका यस्ता अवसरमा नेपालीहरूको चासो र रुचि उतिसाह्रो पुग्न सकेको छैन । स्थानीय र प्रदेश सरकारले यस्ता अवसरहरूको पहिचानसँगै त्यस अनुकूलको सीप विकास गरी पूँजी उपलब्धताको व्यवस्था गर्ने हो भने पलायनको अनियन्त्रित बाढीलाई कम गर्न सकिन्छ । रेमिटेन्समा आधारित अर्थतन्त्र डामाडोल हुँदै गएको अवस्थामा नेपाली जनशक्तिलाई घरदैलोमै रहेका अवसरहरूसँग जोड्नु जरूरी भइसकेको छ ।

भारतीयले कसरी आफ्नो उपस्थितिलाई नेपालमा आवश्यक बनाउँदै लगेका छन् त्यसको खोजीनिती गरेर स्थानीय सरकारहरूले प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा नेपालीलाई नै ती अवसरसँग जोड्न सक्ने हो भने देहातको पूँजी देहातमै रहन्छ ।

comments powered by Disqus

रमझम