८-१४ पुस २०७५ | 23-29 December 2018

विभेदको पराकाष्ठा

Share:
  

‘आमालाई जेल, बाबुलाई उन्मुक्ति’ (१–७ पुस) आवरण रिपोर्टले लैंगिक हिंसाको कुरुप तस्वीर बाहिर ल्याएको छ । निश्चय नै शिशु हत्या गर्ने आमा दोषी हुन् तर, कुनै आमा आफ्नै सन्तानको हत्या गर्ने अवस्थासम्म कसरी पुग्छे भन्नेबारे अध्ययन र विवेचना हुनु जरूरी छ । हत्यामा प्रत्यक्ष संलग्नता आमाको देखिए पनि शिशु जन्माउनमा बाबुको पनि उत्तिकै भूमिका हुन्छ । कतिपय अवस्थामा यस्ता महिलाहरू जोरजबरजस्ती वा बलात्कारमा परेका हुन्छन् । विवाहेत्तर वा विवाहपूर्वको सम्बन्धबाट बच्चा जन्मिएपछि सम्भवतः समाज र परिवारबाटै परित्यक्त हुनुपर्ने, अनेकौं लाञ्छना खेप्नुपर्ने र शिशुको समेत भविष्य अन्धकार देखेपछि मात्रै हत्यासम्मको निर्णयमा पुगेको अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा न्यायालयले पनि महिलालाई मात्रै दोषी ठहर गर्नु तर, आमालाई त्यो निर्णयसम्म पुग्न प्रत्यक्ष/परोक्ष दबाब सिर्जना गर्ने बाबु र समाजलाई नसिहत समेत नदिनु कदापि विवेकसम्मत होइन ।

बाबुलाई पनि सजायको व्यवस्था हुने हो भने आधा समस्याको समाधान स्वतः हुनेछ । वैध होस् या अवैध उमेर पुगेपछि सन्तान जन्माउनु कुनै पनि आमाको नैसर्गिक अधिकार हो । यस्ता विषयमा कानून निर्माता र सरकारको पनि चाँडो ध्यान जानुपर्छ । यस्तो विभेद जति बढ्दै जान्छ, समाज उति नै विकृत बन्दै जाने हो ।

भजनलाल यादव, अनलाइनबाट

कांग्रेसको पाठ

‘कुइनेटामा कांग्रेस’ (१–७ पुस) विशेष रिपोर्टले नेपालको प्रजातान्त्रिक लडाइँमा सदैव अग्रमोर्चामा रहेको र ६ दशकसम्म मुलुकमा बलियो उपस्थिति देखाएको नेपाली कांग्रेस आज कसरी कुइनेटामा पुग्यो भन्ने सही विश्लेषण पस्किएको छ । जुनसुकै दल होउन्, उनीहरूलाई सत्तामा पुर्‍याउने जनताले हो । यदि जनताको पक्षमा काम हुन सकेन, आम मानिसका जनजीविकाका सवालहरू सम्बोधन भएनन्, राष्ट्रिय र सार्वजनिक मुद्दाहरूमा स्पष्ट अडान भएन भने कांग्रेस मात्र होइन, अन्य दलहरूको पनि कांग्रेसकै जस्तो हविगत हुनेछ ।

प्रमुख प्रतिपक्षी दल एकाएक ‘स्पेस’ विहीन हुनु भनेको मुलुककै लागि पनि राम्रो संकेत होइन । कांग्रेसका नेताहरूले बेलैमा सोच्नुपर्छ– आफ्नो अकर्मण्यताले आफूसँगै मुलुकलाई पनि कमजोर पार्ने वा मुलुक र जनताको दीर्घकालीन हितका लागि आफू सच्चिने । परम्परागत तरिकाले चलिरहेको कांग्रेसले आफूलाई सम्पूर्ण रूपमा परिवर्तन गर्नु आवश्यक छ । कांग्रेसभित्र दोस्रो पुस्ताका र युवा भनिने नेताहरूले पनि पुराना नेताले ठाउँ खाली गरिदिएनन् भनेर गुनासो मात्र गर्ने होइन सही हस्तक्षेप गर्नुपर्ने बेला आएको छ ।

भावुक पोखरेल, अनलाइनबाट

नेपाल पनि कम छैन !

‘विशिष्ट उपचारः अध्ययनमा अब्बल’ (१–७ पुस) रिपोर्टले नेपाल पनि केही विषयमा विश्वका विकसित देशकै हाराहारीमा रहेको देखाएको छ । यो त तिलगंगा आँखा प्रतिष्ठानको मात्र कुरा भयो, खोज्दै जाने हो भने नेपालमा यस्ता धेरै क्षेत्र छन् जसलाई विश्वले अनुसरण गर्नुपर्ने हुन्छ । हरेक क्षेत्रमा यस्तै इमानदारी र लगनका साथ काम हुने हो भने मुलुकले फड्को मार्न बेर लाग्दैन । राम्रा कामलाई सबैले हौसला प्रदान गरौं ।

यामचन्द्र बस्नेत, अनलाइनबाट

सरकार भर्सेस काम !

‘सरकारको अवतरण’ (१–७ पुस) टिप्पणीले अहिलेको सरकारको भविष्य केवल उसले प्रवाह गर्ने सेवा र बृहत्तर हितका काममा मात्र निर्भर रहेको स्पष्ट पारेको छ । नेकपाकै सरकार हुँदा आफ्नै पार्टीका केन्द्रीय सदस्यको यो टिप्पणी मननीय छ । सरकारमा बस्नेहरूले जति छिटो यसलाई मनन् गरेर व्यवहारमा उतार्छन् उति नै सरकार र जनताको हितमा हुनेछ ।

विकु लाल, अनलाइनबाट

स्वार्थी सरकारहरू !

आगलागी नियन्त्रण सम्बन्धी ‘विपत्माथिको खेलबाड’ (१–७ पुस) रिपोर्टले जनताको ज्यानसँग जोडिएको आगलागी जस्तो विपत्मा सरकार संवेदनशील नदेखिनु लाजमर्दो कुरा हो । सरकार भनेको जनताको संरक्षणका लागि हो । तर, राज्यस्रोतको दोहन गरी आफ्ना लागि सुविधा जुटाउने तीनै तहका सरकारले जनताको ज्यान र धनसँग खेलबाड गरिरहनु उदेकलाग्दो कुरा हो । विपत् व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले चासो देखाउन अबेर भइसकेको छ ।

आशिष शर्मा, अनलाइनबाट

‘हे ईश्वर !’

‘साधुको भेषमा अपराध’ (१–७ पुस) रिपोर्टले अब कसको विश्वास गर्ने भन्ने फसाद परेको छ । सन्त–महन्त भनेका ईश्वरका सन्देश वाहकका रूपमा समाजमा सम्मानित हुँदै आएका छन् । तर, साधुकै भेषमा अपराध कर्म हुन थालेपछि कसको पो विश्वास गर्ने ? नेताको विश्वास गरौं भने देश लुटेका छन् । कानूनका रखवाला नै कानूनको धज्जी उडाइरहेका छन् । कर्मचारीहरू घूस नभई कामै गर्दैनन् । कस्तो समय आयो यो, विश्वास कसको गर्ने ? हे ईश्वर देश र जनताको रक्षा गर !

साधु विष्णुदास, पशुपतिबाट

comments powered by Disqus

रमझम