८-१४ पुस २०७५ | 23-29 December 2018

‘अब खेलाडी उत्पादनमा योगदान गर्छु’

Share:
  

भर्खरै सक्रिय खेलाडी जीवनबाट सन्यास लिएका, डेढ दशक भन्दा लामो समय राष्ट्रिय क्रिकेट टीमका सदस्य रहेका शत्ति गौचन (३४) भन्छन्, “अब खेलाडी उत्पादन गर्ने काममा लाग्छु।”

यहीबेला सक्रिय खेल जीवनबाट सन्यास किन लिनुभयो ?

नेपाली क्रिकेटमा अहिले नयाँ पुस्ताका थुप्रै प्रतिभावान खेलाडीको आगमन भएको छ । अब नयाँ पुस्तालाई अगाडि बढाउनुपर्छ भन्ने मेरो सोच हो । दुई वर्ष अघिदेखि नै मैले सन्यासको योजना बनाइरहेको थिएँ । यसमा घरपरिवार हेर्नुपर्ने जिम्मेवारी पनि जोडिएको छ ।

खेल जीवनको अनुभव कस्तो रह्यो ?

मेरा लागि यो अनुभव निकै अविस्मरणीय रह्यो । बीचबीचमा कैयौं उतारचढाव आए । समग्रमा नेपाली क्रिकेटको विकास र त्यसमार्फत देशका लागि योगदान गर्नसकें जस्तो लाग्छ । क्रिकेटमा मेरा समर्थकको उल्लेख्य संख्या त्यसकै उदाहरण हो ।

सन्यासपछिको योजना के छ ?

१८ वर्षसम्म क्रिकेट खेल्दा मैले जे जति कुरा सिकें, अब त्यो सिकाइलाई नयाँ पुस्तासँग जोड्न चाहन्छु । खेलाडी उत्पादनमा लाग्ने यो अभियान रुपन्देहीबाट शुरु गरिसकेको छु । त्यसलाई विस्तारै देशैभर विस्तार गर्ने योजना छ ।

नेपाली क्रिकेटको अवस्था अहिले कस्तो छ ?

नेपाल क्रिकेट संघ नभएको चार वर्ष पुग्यो । संघ नहुँदा क्रिकेट विकासका लागि हुनुपर्ने सबै काम प्रभावित भएका छन् । निजी क्षेत्रको सहयोगले मात्र क्रिकेट धानिएको छ । आर्थिक सम्भावनाका हिसाबले भने क्रिकेटले ठूलो आशा जगाएको छ । हाम्रा खेलाडी विदेशी लिगमा करोडौं पारिश्रमिक लिएर खेल्ने भइसके ।

क्रिकेट विकासमा मुख्य चुनौती के हो ?

क्रिकेटको स्वतन्त्र नियामक निकाय नभएसम्म क्रिकेट खेलको विकास सम्भव छैन । निजी क्षेत्रको सहयोगले मात्र क्रिकेट टिक्न सक्दैन । संघ नहुनु नै अहिलेको मूल समस्या भएकाले यथाशक्य क्रिकेट संघ गठन हुने पहल गरिनुपर्छ ।

comments powered by Disqus

रमझम