हामीकहाँ ६२ वर्षअघिको पहिलो योजनादेखि नै गरीबी निवारणलाई प्राथमिकतामा राखी राज्यको साधन स्रोत खर्च गरियो । तर, २५.२ प्रतिशत जनसंख्या अझै पनि गरीबीको रेखामुनि छन् भने २८.६ प्रतिशत जनता बहुआयामिक गरीबीमा छन् । यद्यपि शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, सडक जस्ता आधारभूत र पूर्वाधारको विकासमा २०४६ सालको राजनीतिक परिवर्तनपछि विकास नभएको भने होइन । यति हुँदाहुँदै यस अवधिमा जनअपेक्षा र देशमा उपलब्ध साधन स्रोतको तुलनामा प्राप्त भौतिक उपलब्धि न्यून हो ।
योजनाबद्ध विकासको लामो अभ्यासमा उदार आर्थिक नीति, निजी क्षेत्रको सहभागितालाई देशको समृद्धिको मूल आधार एवं खुला बजारमुखी प्रतिस्पर्धात्मक प्रणालीलाई विकासको मेरुदण्डको रूपमा अगाडि सारिएको छ । तर, मिहिनेत र लगानी अनुरूप विकासको प्रतिफल देखिंदैन । यसैले हाम्रो परम्परागत योजना प्रणालीमा देखिएका कमजोरीको पहिचान र समीक्षा गरी नीति, योजना, कार्यक्रम र कार्यान्वयन प्रयासको सघन विश्लेषण र प्राप्त निष्कर्षको आधारमा अगाडि बढ्नुको विकल्प छैन ।
विकास यात्राका चुनौती
उत्पादित वस्तुलाई कच्चा रूपमा मात्र उपयोग नगरी औद्योगिक उत्पादनमा रूपान्तरण गर्न सक्दा मूल्य अभिवृद्धि हुने र औद्योगिक विकासमा पनि टेवा पुग्छ । त्यसैले परम्परागत कृषि क्षेत्रको व्यावसायिक रूपान्तरण नै विकासको चुनौतीको पहाड हो । अझ्ै पनि झ्ण्डै दुईतिहाइ जनसंख्या कृषिमा निर्भर छ, तर कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान २७ प्रतिशतमा झ्रिसकेको छ । कृषि क्षेत्रमा निर्भर जनसंख्या क्रमशः औद्योगिक क्षेत्रमा सर्न सकेको भए उद्योगधन्दाको विस्तारले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्थ्यो । औद्योगिक क्षेत्रमा रोजगारी वृद्धि हुँदा राष्ट्रिय अर्थतन्त्र बलियो र दिगो भई उच्च आर्थिक वृद्धिदर हासिल गर्न सहायक हुन्छ । तर, यथार्थमा, हाम्रो अर्थतन्त्रको मूल आधार औद्योगिक क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान घट्दै गएर ५.४ प्रतिशतमा खुम्चिएको छ ।
अर्थतन्त्रको संरचनागत रूपान्तरण कृषिबाट उद्योग क्षेत्रमा हुनुपर्ने थियो । गाउँमा कुटिर, लघु र मझैला उद्योग एवं शहरी र सुगम क्षेत्रमा ठूला उद्योगको विकासले गाउँको उत्पादनलाई कच्चा पदार्थको रूपमा लिई प्रशोधन गरी उच्च मूल्यको वस्तु निकासी गर्न सकिन्छ । औद्योगिक विकासले कृषि क्षेत्रबाट बाहिर आउने श्रमशक्तिलाई टिप्छ । तर, हामी अहिले कृषिबाट सोझै सेवा क्षेत्रमा फड्को मार्दैछौं । कृषि र उद्योगको अर्थतन्त्रमा योगदान घट्दै जानु र सेवा क्षेत्रको योगदान बढ्दै जानुले यही संकेत गर्छ । विकसित र विकासोन्मुख देशहरूको आर्थिक विकास र समृद्धिको इतिहास केलाउँदा कृषिबाट उद्योग हुँदै सेवा क्षेत्रमा क्रमशः फड्को मारेको देखिन्छ ।
जलवायु परिवर्तन, दिगो विकास र लैङ्गिक विकासका अजेण्डा देशको विकास र समृद्धिसँग नङ–मासु जस्तै जोडिएका छन् । जलवायु असरले हाम्रा हिमशृंखला कालापत्थरमा बदलिंदै जाँदा कार्बन उत्सर्जन कटौतीका लागि विकसित देशहरूमाथि दबाब बढाउनु अपरिहार्य छ ।
दिगो विकासका लक्ष्यहरूलाई सन् २०३० सम्म हासिल गर्न ठूलो लगानी चाहिन्छ । सरकारी लगानीबाट मात्र यो सम्भव नभएकाले निजी क्षेत्रको लगानी प्रवद्र्धन यसको मूल आधार हो । तर, हाम्रो निजी क्षेत्र अझै पनि संस्थागत र व्यावसायिक भइसकेको छैन । एउटा मध्यमस्तरको आयोजना निर्माणका लागि स्रोत परिचालन गर्न समेत निजी क्षेत्र सक्षम नभएको हेटौंडा–काठमाडौं सुरुङमार्गको असफलताले देखाएको छ । त्यसैले वैदेशिक लगानी भित्र्याउनुको विकल्प नरहँदा यसको लागि सबैभन्दा महत्वपूर्ण पक्ष लगानीको वातावरण, लगानी सुरक्षा र प्रतिफल सहज रूपमा लैजान पाउने वातावरण बनाउनु हो ।
नेपाल प्राकृतिक विपत् र जोखिमबाट समेत सचेत रहनुपर्ने अवस्थामा छ । भौगोलिक अवस्थिति, वर्षेनि हुने प्राकृतिक प्रकोप र जलवायु परिवर्तनबाट पर्न सक्ने प्रभाव समेतलाई ध्यान दिई आगामी दिनमा योजना तर्जुमा गर्न नसकिए योजनाले तोकेका क्षेत्रहरूमा हुने ठूलो लगानी यस क्षेत्रमा खन्याउनुपर्ने हुन्छ । २०७२ सालको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणमा मात्र रु.९ खर्ब ३८ अर्ब लाग्ने अनुमान छ । यसको असरबाट तंग्रिन अझै लामो समय लाग्नेछ । गाउँबाट शहरमा बसाइँसराइको बढ्दो लहरले हिमाली तथा पहाडी क्षेत्र बाँझे बन्दैछन् । वैदेशिक रोजगारीमा जानेहरूका परिवारलाई समेत सदरमुकाम र शहरले तानेको छ । बसाइँसराइको अहिलेकै प्रक्रिया चलिरहे मध्यपहाडी र हिमाली क्षेत्रका २१ जिल्ला निर्जन बन्ने अध्ययनले देखाएको छ । त्यस्तै, २४ देखि ५९ वर्ष उमेरसमूहको ऊर्जावान् श्रमशक्तिलाई उपयोग गर्न सक्ने गरी आगामी योजना तर्जुमा गर्न सक्नु अर्को चुनौती हो ।
हामी अहिले पनि सरकारी स्वामित्वका बन्द र मृतप्रायः अवस्थाका कृषि औजार कारखाना, वीरगञ्ज चिनी कारखाना, बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योगलगायतका संस्थानहरू पुनः सञ्चालन गर्ने कसरतमा छौं । तर, यी संस्थाहरूले प्रयोग गर्ने प्रविधि कहिलेको हो र समय कहाँ पुगिसक्यो भन्नेतर्फ सोचिएको छैन । स्वामित्व र जोखिम लिनेभन्दा अरूको बलमा सञ्चालन गरी फाइदा लिन अग्रसर हुने व्यवस्थापन रहुन्जेल बन्द भएका संस्थाहरू चलाउने हठ गर्नै हुँदैन । बरु, हाल सञ्चालनमा रहेका संस्थानहरूलाई नै कसरी टिकाइराख्ने भन्ने सोच्नुपर्छ ।
प्रविधिको विकाससँगै हिंड्न नसक्दा त्यसबाट हुने लाभबाट वञ्चित हुनुपर्ने अवस्था आउनेतर्फ बेलैमा ध्यान दिन सकिएन भने जलस्रोतको धनी देशले जलसम्पदाबाट समेत लाभ लिन चुक्नेछ । किनकि बिजुली बेचेर धनी हुने सपना पूरा गर्न अहिलेकै गतिमा अगाडि बढ्दा पनि न्यूनतम १० वर्ष लाग्छ । आयोजना निर्माणमा हुने ढिलाइ र अवरोधका कारण उक्त अवधिमा पनि १५ देखि २५ हजार मेगावाट विद्युत् उत्पादन गर्न समेत गाह्रो पर्नेछ, जुन अवधिमा अत्यन्त सस्तो र छिटो समयमा बन्ने सोलार प्रविधिले जलविद्युत्को भाग खोसिसकेको हुनेछ ।
आगामी पाँच वर्षमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य र प्रतिव्यक्ति आय दोब्बर बनाउन पनि लगानी वृद्धि, पूर्वाधार र औद्योगिक विकास, सेवा क्षेत्रमा पर्याप्त अवसरको सृजनाबाट रोजगारी बढाउनुपर्ने हुन्छ । नेपालको श्रमशक्तिको ठूलो हिस्सालाई स्वदेशमै परिचालन गर्न सकिए जनसांख्यिक व्यवस्थापनको जोखिमलाई पनि केही हदसम्म घटाई पहाडी र हिमाली जिल्लाहरूलाई पुनर्जन्म दिन सकिएला । त्यसैले आगामी पन्ध्रौं योजना तर्जुमा गर्दा यस्ता सम्भावित चुनौतीलाई केन्द्रविन्दुमा राख्नु अपरिहार्य देखिन्छ ।