८-१४ पुस २०७५ | 23-29 December 2018

सुरुचिपूर्ण अनुवाद

Share:
  

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन (संवत् १९९२) लाई नेपाली साहित्यको सर्वाधिक लोकप्रिय कृति मानिन्छ । प्रकाशनको झण्डै ८३ वर्षपछि प्राध्यापक पद्म देवकोटाले यस खण्डकाव्यलाई अंग्रेजीमा अनुवाद गरेका छन् । यसअघि पनि धेरै पटक अनुवाद भइसकेको कृतिको अनुवाद महाकवि देवकोटाका आफ्नै छोरा अंग्रेजीका प्राध्यापक पद्मबाट गरिएको हुँदा अघिल्ला अनुवादहरू भन्दा राम्रो हुनुपर्ने पाठकको स्वाभाविक अपेक्षा हुन्छ । पाठकको त्यो अपेक्षा पूरा गर्न प्राध्यापक देवकोटा धेरै हदसम्म सफल छन् ।

पुस्तक मुनामदन अनुवाद पद्म देवकोटा

प्रकाशक आदर्श बुक,

नयाँदिल्ली पृष्ठ १५०

अंग्रेजी प्राध्यापन र प्राज्ञिक लेखनमा लामो समय विताइसकेका पद्म देवकोटाको भाषा सरल र काव्यात्मक छ । यो स्तरीय अनुवादले नेपालको लोकप्रिय साहित्यलाई विश्वका साहित्यप्रेमीमाझ फैलाउन मद्दत पुग्नेछ ।

हुन त अनुवादका लागि सबैभन्दा कठिन विधा हो, कविता । त्यसैले पनि होला, अनुवादकले झ्याउरे छन्दमा लेखिएको कविताको लयभन्दा भावानुवादमा जोड दिएका छन्, जुन सराहनीय छ । यद्यपि नेपाली साहित्यमा मुनामदनको परिचय झ्याउरे लयसँगै गाँसिएको हुँदा कविताको मूल मर्म अनुवाद हुन सक्यो कि सकेन भन्ने प्रश्न भने बाँकी नै रहन्छ ।

भनिन्छ, महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य सृजनाका क्रममा आफूले चाहेजस्तो शब्द नभेटेपछि नयाँ शब्द सृजना गरिदिन्थे । तर, त्यो सुविधा अनुवादकलाई हुँदैन । त्यसैले पुस्तक परिचयमा अनुवादक भन्छन्– ‘महाकवि देवकोटा आफ्नो लेखाइलाई फेमिनिन भन्थे ।’ अर्थात् कोमल र लयात्मक । शायद यस्तो गुणको पनि अनुवाद सम्भव छैन । प्राध्यापक देवकोटाले यस अनुवादमा निकै मिहिनेतका साथ मुनामदनका विभिन्न संस्करण जुधाएर छुटेका, गल्ती भएका हरफहरू समेत सच्याएका छन्, जसका कारण पाठकका लागि यो अनुवाद मूल्यवान् बनेको छ ।

अनुवादकले पुस्तकको झण्डै आधा भाग परिचयमै खर्चेका छन् । तर, परिचयमा प्राज्ञिक अध्ययन मात्रै नभई पिताबारे उनको व्यक्तिगत बुझाइ पनि भएकाले पाठकलाई मुनामदन र लक्ष्मीप्रसाद देवकोटा दुवैलाई बुझ्न सघाउँछ ।

मुनामदनको मूल कथा नेपालभाषाको लोक कविताबाट लिइएको हो कि होइन भन्ने विवादलाई पनि अनुवादकले सम्बोधन गरेका छन् । अनुवादक प्राध्यापक देवकोटा भन्छन्, ‘महाकवि देवकोटा नेपालभाषा जान्दथे, र नेपालभाषाका रोपाईं गीतसँग परिचित थिए । त्यति मात्रै होइन, उनले कलेज पढ्ने बेला एक दिन आफ्ना मित्रलाई नेपालभाषाका लोकरचनाबारे सोधेका पनि थिए । र उनका मित्र चन्द्रबहादुर श्रेष्ठले उनलाई ल्हासा जाने व्यापारीको कथा सुनाएका थिए, जुन मुनामदनको कथासँग निकै मिल्दोजुल्दो छ ।’ सँगसँगै महाकवि देवकोटा त्यस्तै कथानक भएको अंग्रेजी कवि लर्ड टेनिसनको ‘इनोक आर्डेन’ सँग पनि परिचित थिए भन्ने तथ्य पनि अनुवादकले खुलाएका छन् । उनले मुनामदनमा नेपालभाषाको लोककविता वा टेनिसनको कविता वा दुवैको प्रभाव हुनसक्ने सम्भावना स्वीकारेका छन् ।

महाकवि देवकोटाको समयमा ‘कल्चरल एप्रोप्रिएसन’ अर्थात् लोकसाहित्यमाथि अन्यायको प्रश्न अहिले जसरी चर्किएको थिएन । त्यसैले उनले आफ्नो जीवनकालमा यो प्रश्नको उत्तर दिनु परेन । तर ढिलै भए पनि यो प्रश्नलाई सम्बोधन गरेर अनुवादकले लोकसाहित्यमाथि न्याय गर्ने सराहनीय प्रयास गरेका छन् ।

पुस्तकको परिचयमा मुनामदन र कवि देवकोटामाथि अनुवादकको गहिरो अध्ययन देखिन्छ, जहाँ उनले शृंगारिक भावका लागि प्रसिद्ध कृतिभित्रका दार्शनिक र आध्यात्मिक पाटाहरू समेत पाठकसामु उघारेका छन् । ल्हासा जान उकालो चढ्दै गर्दा मदन हिमाल र पहाडमा राधा र कृष्ण झुलेको देख्छ र ती स्थानलाई उमा र शिवको बासस्थान भन्ठान्छ । तर, हैजाले थकित गलित भएर भोटेले उद्धार गरेपछि ऊ सुन र पैसालाई बेवास्ता गर्ने भोटे साथीको बौद्ध दर्शन र जीवनबाट प्रभावित हुन्छ । यात्राको शुरुआतमा मदन ल्हासाको भौतिक सुखमा रमाएको हुन्छ भने फर्किने बेलासम्म आध्यात्मिक भइसकेको हुन्छ ।

प्रत्येक पृष्ठमा एकातर्फ नेपाली मूल कविता र अर्कोतर्फ अंग्रेजी अनुवाद रहेको यो पुस्तकले मुनामदन पढिसकेका नेपाली पाठकलाई समेत यस कृतिसँग दोहोर्‍याएर परिचित गराउँछ । पुस्तकको सरल भाषा साथै प्रेम र विछोडका भावनाको सहज अभिव्यक्तिले मुनामदन नेपालमा किन यति प्रशंसित छ भन्ने पनि पुष्टि हुन्छ ।

यो अनुवादबाट नेपालमा लोकप्रिय मुनामदनलाई अंग्रेजी भाषाका कुनै पनि पाठकले सहज रुपमा बुझ्नसक्ने भएका छन् । स्तरीय भाषा र चाखलाग्दो परिचयका कारण यो अनुवाद पठनीय र संग्रहणीय बनेको छ ।

सेवा भट्टराई

comments powered by Disqus

रमझम