८-१४ पुस २०७५ | 23-29 December 2018

मध्यान्तरपछिकी मनीषा

Share:
  
- रूपा जोशी

पुस्तक हिल्डः हाउ क्यान्सर गेभ मि अ न्यू लाइफ

लेखक मनीषा कोइराला, निलम कुमारसँग

प्रकाशक पेन्गुइन र्‍याण्डम हाउस इण्डिया

पृष्ठ २१९ मूल्य

भारु ४९९

मोनिका देउपाला
बलिउडमा अभिनय यात्रा शुरु गर्दा मनीषा कोइराला १९ वर्षे किशोरी थिइन् । ९०को दशकमा भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री बन्दै उनले कैयौं प्रतिष्ठित पुरस्कार पनि पाइन् । करिअरमा व्यस्त हुँदाका बेला वर्षमा दर्जनभन्दा बढी फिल्ममा काम गरेकी उनी दैनिक १८ घण्टासम्म खट्थिइन् ।

तर, सन् २०१२ सम्म आइपुग्दा उनका थुप्रै फिल्म असफल भए । असफल प्रेमले समेत निराश बनेकी उनको विवाह पनि असफल भयो । त्यसबेला अत्यधिक मदिराको लतमा रहेकी मनीषा मृत्युको नजिक पुगिन् । उनलाई पाठेघरको क्यान्सर भएको थाहा भयो, त्यो पनि अन्तिम स्टेजमा पुगिसकेपछि पत्ता लागेको ।

यो संकटको सामना उनले कसरी गरिन् ? क्यान्सरबाट मात्र होइन, जीवनका तमाम निराशाबाट उनले कसरी पार पाइन् ? मनीषाले हालै सार्वजनिक आफ्नो पुस्तक हिल्ड मा व्याख्या गरेकी छन् ।

प्रकृतिलाई असीम प्रेम गर्ने, मसिना कुराको हेक्का राख्ने, हठी स्वभावकी मनीषा हजुरआमा सुशीला (बीपी कोइरालाकी पत्नी) को वात्सल्यमा हुर्किइन् । कोइराला परिवारको समतावादी वैचारिक दृष्टिकोणमा ढालिएकी उनले समस्यामा परेकालाई सहयोग गर्नु नै मानव कर्तव्य हो भन्ने बाल्यकालमै बुझिन् । त्यसकै परिणाम हो, क्यान्सर पीडितलगायत अन्य मानिसहरूको सहयोगका लागि उनको प्रयास । त्यस्तै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सद्भावना राजदूतका रुपमा महिलाहरूको स्वास्थ्य र सर्वाङ्गीण हितका लागि उनको काम । “अहिले म ठीक भइसकेपछि अरुलाई सहयोग गर्न चाहन्छु”, मनीषा भन्छिन् ।

मनीषा ती थोरै भाग्यमानी महिलामा पर्छिन्, जसले अन्तिम स्टेजमा पुगिसकेको पाठेघरको क्यान्सरलाई जित्न सकिन् । ६ वर्षयता उनी क्यान्सरमुक्त छिन् । ध्यान, योग, प्रार्थना गर्नुका साथै शाकाहारी आहार लिने मनीषा अनुशासित, सन्तुलित र सुविचरित दिनचर्यामा छन् । पाँच वर्षको विश्रामपछि बलिउड फर्किएकी उनी थोरै तर सार्थक फिल्म खेल्न केन्द्रित छन् ।

क्यान्सर विरुद्धको लडाइँमा परिवार (विशेषगरी आमा–बुवा र भाइ) र साथीहरूसँगै शुभेच्छुकहरूको बेहिसाब सहयोग पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन्, मनीषा । क्यान्सरलाई जित्दै ‘नयाँ जीवन’ पाएकी उनको यात्रामा अहिले फरक सोच, संकल्प र सम्भावना गाँसिएको छ, फिल्मको मध्यान्तरपछिको नयाँ मोड जस्तै । पछिल्लो समय आफ्नो व्यवस्थित आहारविहारसँगै उनी आम मानिसको स्वास्थ्यप्रति पनि चिन्तित छन् । “क्यान्सरको उपचार महँगो छ” उनी भन्छिन्, “सरकारले हावा, पानी र खानामा हुने प्रदूषण घटाउँदै जनतालाई स्वस्थ वातावरण दिनुपर्छ । आवश्यक परेकाहरूलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउनुपर्छ । बाँकी त व्यक्ति आफैंमा पनि निर्भर गर्छ ।”

उनको भनाइ छ, “क्यान्सर भनेको मृत्यु नै होइन, त्यसैले आशा मार्नुहुँदैन ।”

निलमकुमार (क्यान्सरलाई जितेका) सँग सहलेखन रहेको हिल्ड मा क्यान्सर विरुद्ध मनीषाको संघर्षले पाठकलाई उनीसँगै ‘रोलरकोष्टर’ को सवारी गराउँछ– क्यान्सरको काठमाडौंमा पहिचानदेखि त्यसबाट मुक्त हुने असहज यात्राबीच उनको भावनाको । यस क्रममा मनीषाको कथा भय र पीडामा चक्कर खान्छ । आशाको झिल्कादेखि गहिरो निराशामा रुमल्लिन्छ । यो पुस्तक मनीषाको आत्म–खोज हो, जहाँ लेखकले पूर्ण इमानदारी र साहसका साथ आफ्नो जीवनका निर्णय, ‘विषाक्त सम्बन्ध’ र गल्तीको सूक्ष्म विश्लेषण गरेकी छन् । ती घटना र व्यक्तिहरू जसले उनलाई आकार दिए र रोगको सामना गर्न साथ दिए, उनीहरूका माध्यमबाट लेखकले आफ्नो कथा कहेकी छन् ।

पुस्तकमा बलिउडका ८० भन्दा धेरै फिल्ममा अभिनय गरिसकेकी अभिनेत्रीका भोगाइ, सम्झना र संवेदनाहरू छन् । सहजरुपमा बगेको लेखनले फिल्म नगरीको चमकदमक र मायावी आकर्षणको पर्दा उघारेर मनीषालाई सामान्य मानिसका रुपमा प्रस्तुत गरेको छ । हिल्ड मा खुलेर प्रस्तुत हुँदै मनीषाले आफ्ना कोरा भावना, अत्यन्त पीडादायी क्षण केही पनि लुकाएकी छैनन् । क्यान्सरको उपचारका क्रममा गरिएको शल्यक्रिया, ‘क्रूरतापूर्वक’ टाँका लगाइएको पेट, बाथरुमभित्र उनको चीत्कार समेत उनले खुलस्त पारेकी छन् । पहिलो किमोथेरापीको पीडाबारे उनी भन्छिन्, ‘... मुख बाउँदै मेरो शरीरका प्रत्येक नसामा दाह्रा गाड्न उद्यत ब्वाँसाहरू, तीव्र गतिमा क्षतविक्षत पारिरहेका थिए ।’

बलिउडकी चर्चित नायिका किमोपछि मुडुलो टाउको, उजाडिएका आँखीभौं र झरेका परेलासहितको तस्वीर सार्वजनिक गर्न पनि हिच्किचाएकी छैनन् । कथा अघि बढ्दै जाँदा विगतका अनुभूति, दृश्य, ध्वनि र सुगन्धका सन्दर्भहरू जोडिन्छन्– समुद्र, घाम, चरा, फूल, जंगल, पहाड, धूपको सुगन्ध आदि । पुस्तकमा काठमाडौं, मुम्बई र न्यूयोर्कमा डाक्टरहरूका पहिरन जस्ता मसिना विवरण पनि उल्लेख हुँदा पाठकलाई फिल्म हेरेझैं अनुभूति हुन्छ ।

पुस्तकले पाठकलाई मनीषाको ‘कमजोर रुख’ देखि ‘बट वृक्ष’ मा रुपान्तरण हुँदासम्मको आत्म–खोजको यात्रामा सहभागी गराउँछ । आफूलाई तन्दरुस्त बनाउन मनीषाले अपनाएका उपायहरूबाट पाठकले प्रेरणा लिन सक्छन् ।

मनीषाका अनुसार, क्यान्सर उनको जीवनमा उपहार जसरी आयो र धेरै पाठ सिकाएर गयो– उर्लिएर आएको बाढीले किनारामा मलिलो माटो छोडे जस्तै । पुस्तकमा मनीषा आफ्नो जीवनका छनोट र आनीबानीबारे विवेचना गर्छिन् । जीवनलाई हार्दिकतापूर्वक स्वीकार्न, आफ्नो मनको आवाज सुन्न र प्रत्येक पल उल्लासपूर्वक बाँच्न पाठकलाई प्रेरित गर्छिन् ।

comments powered by Disqus

रमझम