८-१४ पुस २०७५ | 23-29 December 2018

साहित्य र संस्कृतिको अन्तर्राष्ट्रियकरण

Share:
  
साहित्य र विविध विषयमा विचार मन्थन, लेखक–पाठक अन्तरक्रिया र विदेशी स्रष्टासँग साक्षात्कार गराउने ‘नेपाल साहित्य महोत्सव’ नेपाली साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्ने माध्यम बनेको छ।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ नारासहित पोखराको फेवाताल किनारमा सातौं संस्करणको ‘आईएमई नेपाल साहित्य महोत्सव’ शुरु भएको छ । ७ पुसमा शुरु भएको महोत्सव साहित्यिक र गैर–साहित्यिक विषयमा अन्तरक्रिया गर्दै १० पुसमा समापन हुनेछ । पोखरामा यतिबेला विश्वका ख्यातिप्राप्त लेखकसँगै नेपाली लेखक–साहित्यकार, राजनीतिज्ञ, अभियन्ता, पत्रकार, कलाकार तथा सयौं पाठकको जमघट भएको छ । महोत्सवमा साहित्यसँगै समसामयिक राजनीति, पर्यटन, समाज, संगीतलगायत विविध विषयमा बहस तथा अन्तरक्रिया भइरहेको छ ।

महोत्सवमा मोहम्मद हनिफ, निकोला स्ट्रिटन, हरिश नाम्बियार, एएस पनिरसेल्भन, सब्रिना टोपालगायतका विश्वचर्चित लेखक–साहित्यकार र पत्रकार पनि सहभागी छन् । साथै, महोत्सवमा नेपालका करीब १०० जना लेखक–साहित्यकार, कलाकार, राजनीतिज्ञ र पत्रकार सहभागी भएका छन् । महोत्सवले लेखक–पाठकबीच अन्तरक्रिया गर्ने मञ्च दिनुका साथै सामाजिक बहस र स्वतन्त्र विचार निर्माण गर्न सघाउने महोत्सव निर्देशक अजित बराल बताउँछन् । अन्तर्राष्ट्रिय लेखक–साहित्यकारको समेत सहभागिता, एकै थलोमा विविध विषयको जमघट आदिका कारण फरक विचार, भाषा र भूगोलबारेको छलफलले लोकतान्त्रिक अभ्यास बलियो बनाउन भूमिका खेल्ने उनको भनाइ छ । “देश–विदेशका चर्चित साहित्यकार, लेखक, पत्रकारसँग पाठकले प्रत्यक्ष अन्तरक्रिया गर्ने हुँदा यसले विश्व–साहित्यको उतारचढावलाई बुझ्न मद्दत गर्छ” बराल भन्छन्, “यसले विषयगत ज्ञानको दायरा फराकिलो पार्न र वैचारिक मत बनाउन सघाउँछ ।” पाठकको प्रत्यक्ष उपस्थितिमा हुने अन्तरक्रियाले पठन संस्कृतिको विकासमा पनि टेवा पु¥याउने उनी बताउँछन् ।

ऊर्जा र अवसर

साहित्य महोत्सव लेखक र पाठकले एक–अर्कालाई भेट्ने मौका पनि हो । साहित्य महोत्सवले लेखक–साहित्यकारलाई थप ऊर्जा दिने बताउँछन् महोत्सव संयोजक रविन गिरी । “साहित्यकार तथा पाठकका लागि यो आफैंमा उत्सव हो” उनी भन्छन्, “पाठकले लेखकलाई प्रत्यक्ष भेट्न, सल्लाह–सुझाव दिन र लेखनबारे बुझ्न पाउने भएकाले पनि यसको विशेष महत्व छ ।” महोत्सव नेपालमा साहित्यको प्रवद्र्धन, पठन संस्कृतिको विकास गर्ने तथा पुराना लेखकबाट नयाँले सिक्ने अवसर दिने थलो पनि भएको गिरीको भनाइ छ । यसका साथै फरक धारणा र विचारहरूलाई एउटै मञ्चमा स्थान दिएर नेपाललाई दक्षिणएशियाको ‘साहित्य राजधानी’ बनाउने अभियानमा लागेको उनको भनाइ छ ।

महोत्सवका सत्र

महोत्सव अवधिभर ४१ वटा सत्र सञ्चालन हुनेछन् । ७ पुसमा उद्घाटनसहित ११ वटा सत्र प्रस्तुत भएका छन् । उद्घाटन समारोहमा ‘अन्यायमा महिला’ शीर्षकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विद्वत् प्रवचन विशेष आकर्षण बन्यो । त्यस्तै, बलिउड अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ को ‘ग्लोबल लन्च’ र उनीसँग नायक राजेश हमालको अन्तरक्रिया विशेष रह्यो । सन् २०१२ मा क्यान्सर भएको पत्ता लागेपछि त्यो संकटसँग सामना गर्न जुटाएको हिम्मत र रोगलाई जितेर पाएको नयाँ जीवनबारे उनको पुस्तक केन्द्रित छ ।

महोत्सवमा प्रमुख अतिथिको रुपमा लेखक जर्ज जोन र एलियाम्मा जोन सहभागी छन् । महोत्सवमा सहभागिता जनाउनकै लागि क्यानडाबाट आइपुगेकी छन्– मञ्जुश्री थापा । पछिल्लो समय महिलामाथिको यौन हिंसा विरुद्ध सामाजिक सञ्जालबाट उठेको अभियान ‘मिटू’ लाई पनि महोत्सवले समेटेको छ ।

महोत्सव स्थललाई भूपी कक्ष र अलि मियाँ कक्ष गरी दुई भागमा विभाजन गरिएको छ । पाठक–श्रोताले आफ्नो इच्छानुसार रुचिको सत्रमा सहभागिता जनाइरहेका छन् । महोत्सवमा विभिन्न राजनीतिक सत्रहरू समेत सञ्चालन गरिनेछ । ‘प्रजातन्त्र र पुस्तक’ सत्रमा हरि शर्मा र सीके लालबीच बहस हुनेछ । ‘सय वर्षपछिको नेपाल’ शीर्षकमा विश्व पौडेल र सुधीर शर्माबीच अन्तरक्रिया हुनेछ । ‘अबको नेतृत्वः कसको, कस्तो ?’ सत्रमा नेताहरू नारायणकाजी श्रेष्ठ, रवीन्द्र मिश्र र गगन थापाबीच बहस हुनेछ ।

‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुग्ने गरी ‘किन घुम्ने नेपाल’ सत्र समेत राखिएको छ। जसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, व्यवसायी सुरज वैद्य र आङछिरिङ शेर्पा बोल्नेछन् । साहित्य समाजका गतिविधिसँग जोडिएको र राजनीति, अर्थलगायतले साहित्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले साहित्यइतरका सत्रहरू पनि राखिएको महोत्सव निर्देशक बराल बताउँछन् ।

comments powered by Disqus

रमझम