कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीका अनुसार अनुकूल मौसम, रोपाइँको क्षेत्रफल वृद्धि, उन्नत बीउ र प्रविधिको प्रयोगका कारण धान उत्पादन बढेको हो । यो वर्ष गएको वर्षभन्दा २० हजार हेक्टर बढी जग्गामा धान खेती भएको थियो । मलखादको अभाव हुन नपाएको, यान्त्रिकीकरणमा सहयोग पुगेको तथा उन्नत बीउबिजन वितरण भएका कारणले धान उत्पादन बढेको सचिव जिसीको दाबी छ । उनी भन्छन्, “पर्याप्त वर्षाका कारण समयमै रोपाइँ हुनसक्यो, बाढी र कटानसमेत पोहोरजस्तो भएन त्यसैले पनि धानको उत्पादन बढायो ।” धान खेती हुने जग्गामध्ये करीब ९७ प्रतिशतमा रोपाइँ भएको कृषि मन्त्रालयको तथ्याङ्क छ । गएको वर्ष यो ८६ प्रतिशत मात्र थियो । धान उत्पादन बढेसँगै यसको उत्पादकत्व प्रतिहेक्टर ३.७६ टन पुगेको छ । गएको वर्षसम्मको तुलनामा यो प्रतिहेक्टर ०.२५ टनले बढी हो ।
तैपनि बढेको यो उत्पादनले समेत मुलुकभरको न्यूनतम मागलाई थेग्दैन । अहिले धानको कुल माग वार्षिक ६१ लाख टन छ । चालु आर्थिक वर्षको पहिलो चार महीना (साउन–कात्तिक) मा भारतबाट रु.९ अर्ब ३५ करोडको धान–चामल आयात भइसकेको छ । धानको बढेको उत्पादनले सरकारको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई भने भरथेग गर्नेेछ । “धानको उत्पादनले आर्थिक वृद्धिमा १ प्रतिशतसम्म सहयोग गर्ने अनुमान छ”, मन्त्रालयको तथ्याङ्क शाखाका प्रमुख रामकृष्ण रेग्मी भन्छन् ।
सकारात्मक कृषि उत्पादन
देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा वन क्षेत्रको योगदान २७.१० प्रतिशत छ । कृषिको कुल गार्हस्थ्य उत्पादनमध्ये धानले २१ प्रतिशत ओगटेको छ । केन्द्रीय तथ्याङ्क विभागका अधिकारीहरू धानसहित कृषि बालीको उत्पादन यो पटक सकारात्मक देखिएकाले आर्थिक वृद्धिमा सघाउ पुग्ने बताउँछन् । तथ्यांक विभाग स्रोतका अनुसार यो वर्ष कृषि क्षेत्रमा ५ प्रतिशतसम्मको वृद्धि हुनसक्ने आकलन गरिएको छ । गएको आर्थिक वर्षमा धानको उत्पादन १.५ प्रतिशतले कम हुँदा पनि समग्र कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा २.७२ प्रतिशतको वृद्धि भएको थियो ।
कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा करीब १० प्रतिशत भूमिका रहेको तरकारीको उत्पादन यो वर्ष करीब ८ प्रतिशत वृद्धि हुने मन्त्रालयले अनुमान गरेको छ । गएको वर्ष तरकारीको उत्पादन ५ प्रतिशत मात्रै बढेको थियो । कृषि मन्त्रालयले १४औं योजनाको कृषि उत्पादनको लक्ष्यमध्ये धान, गहुँ, मकै, आलु, तरकारी, तेलहन, उखु, अण्डा, दूध, माछाको उत्पादनमा लक्ष्य हासिल हुने दाबी गरेको छ । कृषि मन्त्रालयका सचिव जिसी भन्छन्, “फलफूल, दलहन र मासुबाहेक मुख्य कृषि वस्तुमा लक्ष्य अनुसारको उपलब्धि हासिल हुने देखिएको छ ।”
तथ्याङ्क विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादनको तथ्याङ्क सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कृषि, निर्माण, उत्पादनमूलक उद्योग, विद्युत् तथा पर्यटनसहितका सेवा उद्योगसहित सबै क्षेत्रको आर्थिक क्रियाकलापमा राम्रै विस्तार देखिएकाले पहिलो त्रैमासको आर्थिक वृद्धिदर उत्साहजनक हुने विभागका एक अधिकारी बताउँछन् ।
निर्माण र उद्योगसम्बन्धी मेसिनरीको बढेको आयातका कारण पनि आर्थिक क्रियाकलापको विस्तार भइरहेको देखिने तथ्याङ्क विभागका ती अधिकारी बताउँछन् । यद्यपि, गएको वर्ष १०.६४ प्रतिशतले बढेको निर्माण क्षेत्रको वृद्धिदर यो वर्ष केही खुम्चने आकलन छ ।
सरकारले यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बजेटमार्फत सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल हुने आन्तरिक बैठकहरूमा बताउने गरेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले शुरूमा चालु आर्थिक वर्षमा ५ प्रतिशतको आर्थिक वृद्धि (उत्पादकको मूल्य) हुने बताए पनि पछि त्यसलाई बढाएर ६.५ प्रतिशत हुने आकलन गरिसकेको छ । एशियाली विकास ब्याङ्कले भने चालु आर्थिक वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धि हुने आकलन गरेको छ । वितेका दुई आर्थिक वर्षमा नेपालले क्रमशः ७.४ प्रतिशत र ५.९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । यस वर्ष ७ प्रतिशत बढी आर्थिक वृद्धि भए त्यो नेपालका लागि दुर्लभ अवसर हुनेछ । यो वर्ष कृषि क्षेत्रको विस्तारले आर्थिक वृद्धिलाई उचाल्न मद्दत गर्नेमा अधिकारीहरू विश्वस्त छन् ।