स्थानीय तहको निर्वाचनपछि कतिपय टोलमा इनारको मर्मत गरिनुका साथै ट्यूबवेल समेत जडान गरिएको छ । लहान–१५ मोहनपुरमा खानेपानीका लागि जडान भएका दुई ट्यूबवेल ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ नामले चिनिन्छन् । एउटा नगरप्रमुख (तत्कालीन एमाले) को र अर्को वडाध्यक्ष (कांग्रेस) को पहलमा जडान भएकाले । तर, जमीनमुनि पानीको सतह गहिरिंदै जाँदा यस्ता ट्यूबवेलबाट एक/दुई वर्षमै पानी आउन छोड्छ र थप गहिरो ‘बोरिङ’ गर्नुपर्ने हुन्छ । समुदायमा आधारित यी ट्यूबवेल बिग्रिएमा हप्तौं अलपत्र अवस्थामा हुन्छन् ।
चुरे पर्वत शृङ्खलादेखि पूर्व–पश्चिम राजमार्गको छेउछाउका बस्तीमा बढी देखिएको यो समस्याबाट सम्पूर्ण तराई आक्रान्त हुँदैछ । जानकारहरूका अनुसार चुरेको अत्यधिक दोहन र जथाभावी वन फडानी नै यसको मुख्य कारण हो ।
गाउँको दलित टोलको कुनै इनारमा पानी छ भने त्यस इनारबाट पानी झ्क्नि सबैभन्दा पहिला अरू टोलका कथित उच्च जातिकाले पालो पाउँछन् । दलितहरूलाई आफ्नै घरआँगनको इनारबाट पानी लिन घण्टौं कुर्नुपर्छ ।
पानीको बन्दोबस्त गर्ने जिम्मा प्रायः महिलाहरूकै हुन्छ । घरको कामधन्दा र बनिबुतोबाट फुर्सद मिलाएर पानीको स्रोतसम्म पुगेर लुगा धुने काम पनि महिलाहरूकै जिम्मामा हुन्छ । पानी प्रबन्धको जिम्मेवारीले गर्दा स्कूल जाने उमेरका बालिका होउन् वा बनिबुतोमा खटिने महिला; अरू काम सहजै निप्टाउन पाउँदैनन् ।
पानीको यो समस्या बर्खायाममा केही सहज भैदिन्छ । तर, मनसुनी वर्षाका बेला आउने बाढीको विपत्तिको कथा फेरि बेग्लै छ । र, यो समस्याको प्रमुख कारक पनि चुरे दोहन नै हो ।
पूर्व–पश्चिम राजमार्ग निर्माण हुनु अघिसम्म चुरे क्षेत्रबाट घरायसी प्रयोजनका लागि मात्र काठदाउरा संकलन गरिन्थ्यो । तर, राजमार्ग निर्माणपछि नयाँ शहर र बस्तीको विकास भइरहँदा चुरे र वनमाथिको अतिक्रमण अतिशय बढ्यो । सँगै भावर क्षेत्रमा बढेको जनघनत्वले खानेपानीको माग ह्वात्तै बढायो जसलाई खानेपानी आपूर्तिका पारम्परिक स्रोतहरूले थेग्न सकेनन् ।
२०६० सालदेखि चुरे क्षेत्रमा आधुनिक मेशीनहरू प्रवेश गर्न थाले । जङ्गल फडानी, गिट्टी–ढुंगा–बालुवा उत्खनन्, बस्ती विकासका नाममा जथाभावी सडक निर्माण जस्ता मानव सिर्जित समस्याका कारण खानेपानीको संकट गहिरिंदै गयो । चुरे क्षेत्रका अध्येता डा. विजयकुमार सिंहका अनुसार तराई क्षेत्रका लागि भूमिगत पानी भण्डारको काम गरिरहेको भावर क्षेत्रको चारकोसे झडी केही ठाउँमा बाहेक अन्यत्र मासिइसकेको छ । पहिले यहाँ रहेको काँडे खयरको बाक्लो जंगलले बाढीले ल्याउने गेग्रान रोक्थ्यो, पानीको वेग कम गथ्र्यो । गेग्रानमा सोसिएको पानी पछिसम्म जमीनमुनिबाट बग्दै दक्षिणसम्म पुग्थ्यो र मूल फुट्थ्यो, जरुवा रसाउँथे ।
अब स्थानीय र प्रदेश सरकारले पानीको संकट व्यवस्थापनका लागि नगरी नहुने काम हो– चुरे क्षेत्र र वनमाथिको दोहन नियन्त्रण । पितृसत्तात्मक सामाजिक संरचनाले गर्दा देहातमा घरगृहस्थीका कठिन कामहरू महिलाहरूले नै गर्नुपर्ने बाध्यता हुँदा महिलाहरूको समग्र विकासमा नकारात्मक असर पुगेको छ । पानी संकटको प्रभाव गाईवस्तुपालनदेखि हिउँदेबाली उत्पादनमा समेत परेको छ ।
पानीमाथिको पहुँच जातीय र लैङ्गिक विभेदबाट मुक्तिसँग जोडिएको पाटो पनि हो । पानीको संकट बढ्दै जाँदा जसको पानीमाथि वर्चस्व हुन्छ, उसैले नयाँ तरिकाबाट बन्धनका जालहरू फैलाउँदै जाने खतरा जो देखिएको छ ।