१५७ हेक्टरमा फैलिएको यो कृत्रिम तालमा जाडो छल्न हिउँद याममा साइबेरिया (रूस), चीन, मंगोलिया, तुर्किस्तान, किर्गिस्तानलगायतबाट चरा आउँछन् । सन् २००३ मा विश्व सिमसारमा सूचीकृत जगदीशपुर तालमा ९० रैथाने प्रजातिसहित १६८ प्रजातिका चरा पाइने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ । एक–दुई घन्टामै ४० भन्दा बढी प्रकारका चरा देख्न पाइने भएकाले यो ठाउँ चरा अवलोकनकर्ताका लागि आकर्षण बनेको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० ले पर्यटकीय आकर्षण थप्न र आर्थिक उपार्जन गर्न २२ असोजबाट तालमा संयुक्त रूपमा डुंगा सञ्चालन गरेका छन् । डुंगामा सयर गर्दै चराको अवलोकन गर्न पाउँदा पर्यटकहरू रमाएकाले यसबाट उत्साहित हुँदै अब तालको बीचमा बुद्धको मूर्ति राख्ने सोच बनाइएको छ । डुंगा चलाएका कारण यस वर्ष चराको आगमन घटेको भन्दै संरक्षणकर्मीहरूले बुद्ध मूर्तिले थप असर पार्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।
तालको बीचमा बुद्धको मूर्ति राखिनु हुन्छ या हुँदैन भन्ने विवादलाई एकछिन थाती राखेर यहाँ र अन्यत्र पनि जथाभावी बुद्ध मूर्ति राखिनु हुन्छ कि हुँदैन भन्ने विषयमा छलफल गरिनु आवश्यक छ । बौद्ध समुदायले बुद्ध मूर्तिको निर्माण तथा स्थापना गर्नुको तात्विक अर्थ श्रद्धा व्यक्त गर्न तथा मूर्तिमा प्रयुक्त मुद्राबाट बौद्ध दर्शनको स्मरण गर्न हो । बौद्ध वातावरणको सिर्जना गर्न पनि बुद्धको मूर्ति स्थापना गरिन्छ । तर, बुद्धको मूर्तिलाई सज्जाको वस्तु बनाउने तथा पर्यटकलाई आकर्षित गरी अर्थोपार्जन गर्ने सोच बौद्ध भावनाअनकूल छैन ।
लुम्बिनी तथा कपिलवस्तुका कतिपय ठाउँमा बुद्ध मूर्तिको स्थापना गर्ने तर बौद्ध भावनाअनुकूल व्यवहार नगर्ने प्रवृत्ति पनि देखिएको छ । कुनै भावना विना बुद्धको मूर्ति स्थापना गर्ने र पछि कुनै बहानामा अन्य मूर्तिसरह हटाउन खोज्दा नकारात्मक सन्देश प्रवाह हुने कुरा हेक्का राख्नुपर्छ । रूपन्देहीको सिद्धार्थनगरमा केही वर्षअघि राखिएको बुद्धको मूर्ति केही समयअघि त्यहाँबाट हटाउने प्रयास हुँदा बौद्ध जनसमुदायले चित्त दुखाएको प्रसंग यहाँ स्मरणीय छ ।
तालको बीचमा बुद्धको मूर्ति राख्न जगदीशपुर ताल व्यवस्थापन बहुसरोकार मञ्चले तालको मध्यभागमा ७० फिट अग्लो माटोको गोलाकार ढिस्को बनाइसकेको छ । त्यसलाई चारैतिरबाट १५ फिट ढलान गरिएको छ । तालको विकासका लागि चालु आर्थिक वर्षमा प्रदेश–५ सरकारले रु.२ करोड र संघीय सरकारले रु.१५ लाख विनियोजन गरेको छ । उक्त रकमबाट ताल आसपास भवन, जैविक विविधता पार्क र टावर निर्माण गर्ने योजना छ ।
जगदीशपुर तालको बीचमा बुद्धको मूर्ति राखेपछि चराहरूको आगमन र वासस्थानमा नकारात्मक असर पर्ने संरक्षणविद्हरूको भनाइमा संवेदनशील हुनैपर्छ । उक्त भनाइलाई आत्मसात् गर्दै बुद्ध मूर्ति राख्ने जिद्दी छाड्नु बुद्धिमानी कदम हो । तालमा बुद्धको मूर्ति राख्नैपर्ने भए संरक्षणविद्हरूसँग छलफल गरेर पर्यावरणलाई असर नपुर्याउने उपाय अवलम्बन गरिनुपर्छ । किनभने बौद्ध धर्मदर्शनले पनि दिगो पर्यावरणमा जोड दिएको छ । बौद्ध वातावरण भन्नु पनि विशुद्ध प्राकृतिक हो । प्राकृतिक चक्र बिथोल्ने गरी तालको बीचमा बुद्धको मूर्ति राख्न जोड दिइनु बुद्ध र बौद्ध धर्मदर्शनप्रति संवेदनशील नहुनु हो ।
मूर्ति राख्दा पनि मुचलिन्द नागले बुद्धको सेवा गरिरहेको दृश्य अंकित मूर्ति राख्दा अर्थपूर्ण हुन्छ । भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेको केही दिनपछि ध्यानमग्न रहेकै बेला ठूलो पानी पर्दा तलाउमा रहेको मुचलिन्द नागले बुद्धको सेवा गरेको वर्णन बौद्ध साहित्यमा पाइन्छ । यो क्षणलाई चित्र तथा मूर्तिकलामा आकर्षक रूपमा प्रस्तुत गरिन्छ । त्यही कुरालाई जगदीशपुर तालमा उपलब्ध गराउने हो भने लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र पर्यटकलाई त्यहाँसम्म तान्न सकिन्छ । लुम्बिनी आउनेहरूलाई कपिलवस्तुका बौद्ध स्थलहरूले तान्न नसकिरहेको अवस्थामा जगदीशपुर तालको आकर्षण सहयोगी हुनसक्छ ।