२२-२८ पुस २०७५ | 6-12 January 2018

पहरा फोडेर सडक

Share:
  
- अच्युतराज भण्डारी

नेपाली सेनाले जिम्मा लिएपछि राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोर निर्माण कार्य तीव्र पारेको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म १४५ किलोमिटर सडकमध्ये ९३ किलोमिटरको निर्माण पूरा भएको छ । सेनाको निर्माण कार्यदलका अनुसार, बाँकी ५२ किलोमिटरको निर्माण एक वर्षभित्र पूरा हुनेछ ।

तस्वीरः अच्युतराज भण्डारी
बाजुराको हिमाली गाउँपालिकामा पर्ने राँगेगौंडा भीर। बाजुरा, मुगु र हुम्लाका पैदलयात्रीहरु यही भीर हुँदै कोल्टी विमानस्थल जाने गर्थे।

कर्णाली कोरिडोर सडकअन्तर्गत बाजुराको जुड्डीघाटमा राखिएको बेलीब्रिज ।

कर्णाली कोरिडोरमा पर्ने बाजुराको हिमाली गाउँपालिका–७ स्थित बोल्डिक गाउँ ।
कर्णाली कोरिडोर निर्माण पूरा भएपछि हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । हुम्लाको सल्लीसल्लादेखि सिमकोटसम्मको ५१ किलोमिटर सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालयले लिएको सेनाको कार्यदल प्रमुख, प्राविधिक सेनानी मिलन कार्कीले बताए । सडक निर्माणमा हालसम्म रु.८३ करोड खर्च भइसकेको र यो आर्थिक वर्षमा थप रु.२० करोड खर्च हुने अनुमान गरिएको छ ।

२०५६ सालमा शिलान्यास गरिएको कर्णाली कोरिडोरको निर्माण २०६६ सम्म सडक विभागको जिम्मा रहे पनि ठूल्ठूला चट्टान र पहराका कारण ९ चैत २०७१ मा नेपाली सेनालाई दिएको थियो । सेनाले विस्फोटक पदार्थबाट पहरा फुटाउँदै सडक निर्माण गरिरहेको छ । प्राविधिक सेनानी कार्की हुम्लाको अदानचुली गाउँपालिकामा पर्ने दोमुखा भियिघाट हाडे भीर फुटाउन मात्रै करीब एक वर्ष लाग्ने बताउँछन् । कर्णाली कोरिडोरको काम द्रुत गतिमा भइरहँदा स्थानीय खुशी भएका छन् ।

बाजुरा र हुम्लाको सीमासम्म सडक पुगेपछि बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उत्साहित हुँदै भने, “हाम्रो गाउँपालिकामा पनि अब गाडी गुड्ने भएको छ, यो सडक नबनेको भए गाडी देख्न बीसौं वर्ष लाग्नेथियो ।”

बाजुराको काटेपहरा भीर हुँदै हुम्लातिर चामल ढुवानी गरिरहेका खसी–बोका।

हिमाली गाउँपालिकाको धुलाचौर सडक खण्ड। चामल ढुवानीको लागि बाजुराको कोल्टी विमानस्थलतिर लगिंदै हुम्लाका खच्चर।

कालीकोट, पाताल झरना गाउँपालिकास्थित शिलाजित भीरमा गुडिरहेको ट्याक्टर ।

बाजुराको हिमाली गाउँपालिकाको राँगेगौंडादेखि धुलाचौरसम्म सेनाको ट्रक र जीप आउजाउ गर्न थालेपछि गाडी हेर्नकै लागि आसपास गाउँका बासिन्दा सडकमा झर्ने गर्छन् । हिमाली गाउँपालिका–७, बोल्डिकका ७३ वर्षीय धर्मदत्त पाण्डे भन्छन्, “सरकारको दया भयो, नजिकैको राँगेगौंडाको भीर फुटाएपछि घर अगाडि गाडी देख्न पाइयो ।” विगतमा राँगेगौंडाको भीरमा हिंड्दा लडेर १२ जनाको ज्यान गएको पाण्डे सम्झन्छन् ।

comments powered by Disqus

रमझम