२९ पुस - ५ माघ २०७५ | 13-19 January 2019

सक्षम शिक्षक र सबल नेतृत्व

Share:
  
- शिशिर खनाल
गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षक अनिवार्य भए पनि उत्कृष्ट विद्यार्थीलाई शिक्षक बन्नका लागि न समाजले न त राज्यको नीतिले प्रोत्साहित गरिरहेकोे छ।

टिचफर नेपाल को ‘कक्षाकोठामा एक दिन’ कार्यक्रमअन्तर्गत नेपालका लागि तत्कालीन अमेरिकी राजदूत एलाइना बी–टेप्लिज ललितपुरको देवीचौरस्थित बुद्ध माविमा ।
हाम्रो सार्वजनिक शिक्षाको अवस्था निकै कमजोर छ । विद्यालयको तल्लो कक्षामा भर्ना दर सन्तोषजनक मानिए पनि तीमध्ये एकतिहाइ विद्यार्थी मात्र कक्षा दशसम्म पुग्छन् । एसईईमा उत्तीर्ण दर ५० प्रतिशतभन्दा कम छ । अझ् निजी विद्यालयको योगदान हटाउने हो भने यो दर ३० प्रतिशतको हाराहारी मात्र हुन्छ । यसो हुँदाहुँदै पनि टिच फर नेपाल को पछिल्लो पाँच वर्षको अनुभवले दक्ष र कटिबद्ध शिक्षक, सबल नेतृत्व तथा व्यवस्थापकीय सुधारले सार्वजनिक विद्यालयलाई निजी विद्यालयको प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने देखिएको छ ।

गुणस्तरीय सिकाइ

निजी र सरकारी विद्यालयबीचको भिन्नता एसईईको नतिजामा मात्र हैन शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गर्ने विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण नतिजामा पनि प्रष्ट हुन्छ । सन् २०१५ को कक्षा ५ को परीक्षणमा निजी विद्यालयका विद्यार्थीहरूको सिकाइ उपलब्धि ६०.८ हुँदा सरकारी विद्यालयहरूमा जम्मा ४४.५ मात्र रह्यो । त्यसैगरी अंग्रेजी विषयमा त यो फरक झ्न् बढी देखिन्छ । निजी विद्यालयहरूको अंग्रेजी कक्षामा सिकाइ उपलब्धि ७३ रहँदा सरकारी विद्यालयमा मात्र ३८ थियो । सरकारी विद्यालयका तल्लो कक्षाबाट नै देखिने यस्तो कमजोर सिकाइ उपलब्धिका कारण अभिभावकहरूमा निजी विद्यालयप्रतिको आकर्षण बढ्दो छ । सन् २०११ मा सरकारी विद्यालयमा ८७ प्रतिशत विद्यार्थीले पढ्ने गरेकोमा यो संख्या सन् २०१७ मा ८३ प्रतिशतमा झर्‍यो भने निजीमा १३ प्रतिशतबाट बढेर १७ प्रतिशत पुग्यो ।

कक्षाकोठाको सम्पूर्ण जिम्मा र नियन्त्रण शिक्षकको हातमा हुन्छ । यसअर्थमा गुणस्तरीय सिकाइको लागि दक्ष शिक्षक पहिलो शर्त हो । तर हालको सामाजिक र नीतिगत व्यवस्था राम्रो अध्ययन गरेका र विषयगत दक्षता भएका व्यक्ति, मूलतः विद्यार्थीलाई शिक्षण पेशाप्रति उत्प्रेरित गर्ने खालको छैन । एसएलसीपछि नै विषय र पेशा छुट्टिंदै जाने हाम्रो परिपाटीमा कमजोर शैक्षिक क्षमता भएकालाई मात्र शिक्षण पेशातर्फ धकेल्ने खालको व्यवस्था र आकांक्षा देखिन्छ । एसएलसीमा राम्रो नतिजा ल्याउने विद्यार्थीले विज्ञान र प्रविधि सम्बन्धी अध्ययन गरिदेओस् भन्ने घर, परिवार र समाजको अपेक्षा अद्यापि कायमै छ । यसको उल्टो शिक्षा संकायको अध्ययन सबैभन्दा कम अंक ल्याउनेका लागि खुला गरिएजस्तो भएको छ । त्यसैले शिक्षण पेशा सामाजिक रूपले कम सम्मानजनक र कम अवसर भएको पेशाको रूपमा हेरिन्छ । सानैदेखि राम्रो उपलब्धि हासिल गरेका विद्यार्थीलाई शिक्षक बन्न न समाजले न त राज्यको नीतिले प्रोत्साहित गरिरहेको छ ।

यस्तो अवस्था चिर्न टिच फर नेपाल ले २०७० साल देखि टिच फर नेपाल फेलोसिप कार्यक्रममार्फत ‘उत्कृष्ट’ नेपाली युवाहरूलाई सरकारी विद्यालयका स्वयंसेवी शिक्षकको रूपमा परिचालन गर्न थाल्यो । तर विडम्बना, पछिल्लो पाँच वर्षको टिच फर नेपाल को कार्यक्रममा सहभागी हुन दरखास्त भर्ने चार हजार युवामध्ये एक प्रतिशत मात्र शिक्षा संकायमा अध्ययन गरेकाहरू छनोट हुनसकेका छन् । अंग्रेजी, गणित विषय लिएर स्नातक वा स्नातकोत्तर गरेका धेरै युवा हामीले लिने विषयगत परीक्षामा उत्तीर्ण हुनसकेका छैनन् ।

यसले हाम्रा विश्वविद्यालयहरूको गुणस्तरमा प्रश्न उठ्छ । शिक्षण सिकाइमा अर्को महत्वपूर्ण पाटो सिकाइ विधि हो । हाम्रो सार्वजनिक शिक्षा ‘धावन्ति खेती, घोकन्ति विद्या’ को मान्यताबाट अघि बढ्न सकेको छैन । अधिकांश कक्षामा भाषण शैलीमा पढाइन्छ । विभिन्न क्रियाकलाप, शैक्षिक सामग्रीको प्रयोग, समूहमा सिक्ने वातावरण निर्माण नहुँदासम्म शिक्षाको गुणस्तर उकासिंदैन । जबसम्म शिक्षक बनाउने तयारी कक्षाहरू परम्परागत रहन्छन, कण्ठस्थ पारिएको पाठ लेखेर परीक्षा उत्तीर्ण गर्ने परिपाटी रहन्छ तबसम्म विद्यार्थीलाई सिकाउने शिक्षकहरू पनि परम्परागत नै बन्छन् । तसर्थ शिक्षक बन्न सिकाउने पढाइ र सही शिक्षक छान्ने प्रक्रियामा आमूल परिवर्तन ल्याउन जरूरी छ ।

हाम्रो अनुभवले पनि दक्ष र प्रतिबद्ध युवाहरूलाई शिक्षण क्षेत्रमा आकर्षण गर्न सक्दा राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने देखिएको छ । टिच फर नेपाल को पहिलो दुई वर्षमा नै हामीले काम गर्ने ललितपुरका विद्यालयहरूमा एसईईको औसत उत्तीर्ण दर करीब ३७ प्रतिशतले बढ्यो । नेपालमा सरकारी विद्यालयहरूको औसत उत्तीर्ण दर ३३ प्रतिशत रहँदा टिच फर नेपाल बाट खटिएका स्वयंसेवी युवाले पढाएका विद्यालयमा यो दर ७४ प्रतिशतको हाराहारीमा पुग्यो । गत एसईई परीक्षामा टिच फर नेपाल का स्वयंसेवकहरू काम गर्ने विद्यालयमा कक्षा ११ पढ्न चाहिने न्यूनतम जीपीए (१.६) ल्याउने विद्यार्थी ९५ प्रतिशत थिए ।

स्वयंसेवक छनोट प्रक्रियामा विषयगत साथै अन्य क्षमतामा विशेष ध्यान पुर्‍याउँदा यो नतिजा प्राप्त गर्न सकिएको हो । सन् २०१४ देखि सन् २०१८ को बीचमा टिच फर नेपालमा परेका ४ हजार १४४ आवेदनमध्येबाट करीब ६ प्रतिशत मात्रै स्वयंसेवी छानिएका छन् ।

सबल नेतृत्व र सुदृढ व्यवस्थापन

दाङको तुलसीपुर नगरपालिका, रक्षाचौरमा रहेको गुरु जजुर मावि दाङमा कुनै बेला १० कक्षामा उत्तीर्ण प्रतिशत शून्य थियो । उच्छृंखल विद्यार्थीले भरिएको यो माविमा झ्ैझ्गडा सामान्य थियो । तर आज यो विद्यालय तुलसीपुरको सबैभन्दा राम्रो सरकारी विद्यालयमा दरिएको छ । परिवर्तनको शुरूआत प्रधानाध्यापकको परिवर्तनसँगै भयो । विष्णुप्रसाद आचार्यले प्रधानाध्यापकको कार्यभार सम्हालेदेखि शिक्षक–शिक्षिकाको सहयोगमा विद्यालयमा विभिन्न सुधार गरे । विद्यालय र समुदायबीचको सम्बन्ध सुधारियो । दक्ष शिक्षकको दरबन्दी थपियो । नतिजा राम्रो हुँदै गएपछि अहिले गुरु जजुरमा विद्यार्थी संख्या झ्न्डै १५०० पुगेको छ । राम्रो मानिएको काठमाडौंको ज्ञानोदय मावि होस् या बुटवलको कालिका मावि, सबैको उत्कृष्टताको कारण प्रधानाध्यापकको नेतृत्व, विद्यालय व्यवस्थापन समिति र विद्यालय तथा समुदायको राम्रो सहकार्य नै देखिन्छ ।

२०६४ सालमा २५९ विद्यार्थी अध्ययन गरिरहेको काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित जनउद्धार माविमा २०७१ सालको चैतसम्म ११५ जना मात्र विद्यार्थी बाँकी रहे । विद्यालयले डाक्ने भेलामा अभिभावकको उपस्थिति न्यून हुन्थ्यो । सक्नेले आफ्ना केटाकेटी निजीमा लगे । प्रति शिक्षक १० जना विद्यार्थी रहँदा पनि जनउद्धारबाट ५० प्रतिशत विद्यार्थी मात्र एसईई उत्तीर्ण हुन्थे ।

यस्तो अवस्थामा टिच फर नेपाल का अलमनाई (दुई वर्षको सेवा अवधि पूरा गरिसकेका स्वयंसेवक) र थप केही स्वयंसेवकले विद्यालयको अवस्था सुधार्ने जमर्को गरे । व्यवस्थापन समितिसँग औपचारिक सहमति गरी वैशाख २०७२ देखि नयाँ कार्यक्रम बनाइयो । केही नयाँ र युवा शिक्षक निजी स्रोतबाट राखियो । विद्यालयमा नै शिक्षक तालिम दिइयो । शिक्षकको अनुपस्थितिमा पढाइमा असर नपरोस् भनेर सट्टा शिक्षक अनिवार्य गरियो । विद्यालयमा हुने छुट्टी कम गरियो । विद्यालय र समुदायको सम्बन्ध सुधारका लागि घरघरै जान थालियो ।

अहिले जनउद्धार माविमा विद्यार्थी संख्या २०६४ सालकै हाराहारीमा पुगेको छ । यसरी तीन वर्षको अन्तरालमा यो विद्यालयले ११३ प्रतिशतले विद्यार्थी संख्या मात्र बढाएको छैन गत वर्षको एसईई नतिजा अनुसार यो विद्यालय बूढानीलकण्ठ नगरपालिकाकै उत्कृष्ट सरकारी विद्यालय भएको छ । यही विद्यालयबाट एसईई उत्तीर्ण गरेका एक विद्यार्थीले हालै उच्च शिक्षा (११/१२ समानको) लागि जर्मनीको युनाइटेड वल्र्ड कलेजमा छात्रवृत्ति पाएका छन् । यस्तै सफलताको उदाहरण टिच फर नेपालका अलमनाईहरूले व्यवस्थापन सहकार्य गरिरहेको ललितपुरको भानुदय प्रावि र बूढानीलकण्ठ नगरपालिकाभित्रै पर्ने टोखा नजिकको मदन आश्रित आ.वि.मा पनि देखिन थालेको छ ।

शिक्षामा साँच्चिकै सुधारका लागि कुशल नेतृत्व र व्यवस्थापकीय सुधारसँगै शिक्षकको दक्षता र नेतृत्वको क्षमतामा जोड दिनुपर्छ ।

(शिशिर खनाल टिच फर नेपालका सह–संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् ।)

comments powered by Disqus

रमझम