२९ पुस - ५ माघ २०७५ | 13-19 January 2019

खरीददारीको व्यवहार

Share:
  
- चन्द्रकिशोर
बयलगाडाबाट मोटरसाइकलसम्म पुगेको देहातको कारोबार अझै पनि ढुंगाको टुक्रालाई नापतौलको इकाइ मानिरहेको छ, सीमावर्ती बजारमा ‘कम्पनी मुद्रा’ को प्रचलन हट्न सकेको छैन।

तस्वीरः चन्द्रकिशोर
रूपनगर, सप्तरीको हाटबजारको किनमेल ।
देहातका गाउँबजारमा वस्तु विनिमयको पुरानो चलन अझै देखिन्छ । अन्नले भाँडाकुँडा र अन्य सामान साटेर गर्जो टार्नेहरू प्रशस्तै छन्– विशेषगरी बनिबुतो गर्नेहरू । काम गरेको ज्यालावापत अन्न लिने–दिने चलन पनि कायमै छ । बजारमा अन्न बेचेर पैसा लिने र त्यसबाट आवश्यकता अनुसारको किनमेल गर्ने ग्रामीण अर्थतन्त्रको नियमित प्रक्रिया नै भयो । अन्नका खरीददार देहातका बजारको मुहानमै बसेका हुन्छन् । तिनलाई ‘पल्ला’ भनिन्छ । अगहन (मंसीर) को महीनामा त दुकानदारले सोझै अन्न लिएर सामान दिने गरेको पनि देखिन्छ ।

प्रशस्त उत्पादन गर्ने गिरहतहरू वर्ष दिन खान पुग्ने छुट्याएर फाजिल अन्न गोलामा बेच्छन् । खासखास मौसममा अन्न किन्न गाउँमै आउने व्यापारीहरू पनि हुन्छन् । यस्ता व्यापारी पहिले घोडा लिएर आउँथे, पछि साइकल लिएर पनि आउन थाले, अहिले ट्र्याक्टरको चलन छ । किसानहरू पनि पहिले बयलगाडामा अन्नका बोरा हालेर आकर्षक भाउको खोजीमा ठूला बजारतिर जान्थे ।

काम गरेको ज्यालावापत अन्न लिने चलन भने अचेल निकै कम भएको छ । कृषि मजदूरहरूले समेत नगदमै भुक्तानी पाउन थालेका छन् । नगद व्यवहार बढ्दो छ । रेमिटेन्सले नगद आर्जनसँगै कारोबार बढाएको छ । यी सबैका बावजूद पनि देहाती बजारमा पल्लावालहरू छन्, ग्रामीण कारोबारमा अन्न महत्वपूर्ण माध्यम बनिरहेकै छ ।

पहिले गाउँमा दूधको खरीदबिक्री हुँदैनथ्यो– पैंचो लिई/दिई गर्जो टार्ने बाहेक । बरु घिउ बेचिन्थ्यो, घिउका व्यापारी किसानका घरघरै पुग्थे । हिजोआज भने दूध किन्नु परे किसानसँग नभई व्यापारीकहाँ पुग्नुपर्छ । दूध गाउँगाउँबाट नियमित संकलन भई डेरी उद्योगमा पुगिरहेको छ । यसका लागि किसान व्यापारीसँग पहिले नै अनुबन्धित भइसकेका हुन्छन् । कतै डेरी उद्योग गाउँसम्म पुगेको छ त कतै ग्रामीणवासी दूध बेच्न बजारसम्म पुगिरहेका छन् । राजविराजमा किसानले हाटमा दूध बेच्छन् । कलैयामा दहीको बजार लाग्छ । दही बेच्नेहरू घर–घर चहारिरहेका पनि देखिन्छन् । देहातमा ढुवानीको साधन मानिस, बयलगाडाबाट साइकलहुँदै मोटरसाइकलसम्म पुगेको छ । निम्नमध्यम वर्गीय तहको ठूलो हिस्सा मोटरसाइकलमा निर्भर हुँदै गएको छ । गाउँ देहातमा दूध, कुखुरा र माछा कारोबारको ठूलो हिस्सा मोटरसाइकलमाथि अभ्यस्त छ ।

भारतीय सीमासँग जोडिएका क्षेत्रमा भारतीय नोट चलनचल्तीमा छ । कुनै वस्तुको मूल्यको कुरा हुँदा त्यो भारतीय मुद्रामा हो भनेर बुझनुपर्छ । भारतीय मुद्रालाई ‘कम्पनी’ भन्ने पिढी अझै छ । जग्गा खरीदबिक्री वा दाइजो लेनदेनको निर्धारण भारुमै तय हुन्छ । मुद्रास्फीतिका कारण पहिलेका मुद्राका विभिन्न इकाइहरू लोकव्यवहारबाट हराए पनि आहानको रूपमा ज्यूँदा छन् । देहाती खरीददारीको पारम्परिक व्यवहारबाट सर्वथा अनभिज्ञ नयाँ पुस्ताले यी आहानको भेउ पाउँदैन । जस्तो– ‘एक फूटी कौडी ना देहम’, ‘धेला के काम ना करेला’, ‘चमडी जाय पर दमडी न जाय’, ‘पाई–पाई के हिसाब लेहम’, ‘सोह्र आना सच ।’

नाप तौलका कनवा, सेर, पसेरी र मन जस्ता इकाइहरू अब किलोग्राम र लिटरमा परिवर्तन भएका छन् । तर पनि प्रमाणित ढक–तराजु नहुँदा ग्राहक ठगिइरहेका हुन्छन् । ढुङ्गा वा इँटाको टुक्रालाई निश्चित इकाइ भन्दै ठग्ने दुकानदार पनि छन् । यसतर्फ स्थानीय सरकारको ध्यान जानु जरूरी छ । त्यसैगरी नेपाली बजारमा नेपाली दर र नेपाली रुपैयाँको प्रभावकारी चलन बारे चाहिं संघीय सरकारले ध्यान दिनु जरूरी भइसकेको छ ।

comments powered by Disqus

रमझम