६-१२ माघ २०७५ | 20-26 January 2019

बीपीलाई फाँसीको माग

Share:
  
- भैरव रिसाल
राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला भारतबाट फर्कंदै गर्दा यता पञ्चहरूको भेलामा उनलाई फाँसी दिनुपर्ने माग चर्को रूपमा उठेको थियो।

बीपी कोइराला ।
राजा महेन्द्रले १ पुस २०१७ मा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउँदै प्रधानमन्त्री बीपी कोइरालालगायतका नेतालाई थुने । १४ कात्तिक २०२५ मा पञ्चायत सरकारबाट रिहा भएलगत्तै बीपी सहकर्मीसहित भारत निर्वासनमा गए । त्यसको आठ वर्षपछि १६ पुस २०३३ मा उनी राजासँग विद्रोह नभई मेलमिलाप गर्नुपर्छ भन्ने नीतिसहित स्वदेश फर्किए ।

त्यसताका पञ्चायतमाथि कुनै अप्ठेरो परेमा वा सम्भावित असहजतालाई विचार गरेर पञ्च भेला आयोजना गरिन्थ्यो । बीपी फर्केपछि उनको नेतृत्वमा पञ्चायत विरोधी गतिविधि बढ्ने आकलन गरेर उनी आउनुअघि नै २०३२ सालमा विराटनगरमा पञ्च भेला बोलाइएको थियो । भेलाको समाचार संकलन गर्न म पनि गएको थिएँ । राष्ट्रिय पञ्चायत सदस्य धीरबहादुर हमाल ‘विश्वेश्वरप्रसाद कोइरालालाई फाँसी दे’ भन्दै पञ्च भेलामा कुर्लिए । उनले जोशिंदै उक्त माग दोहोर्‍याए, तेहर्‍याए । भेलाको माहोल नै गम्भीर बन्यो ।

आफूलाई अद्वितीय राजभक्त दाबी गर्ने हमाल राजा वीरेन्द्रबाट राष्ट्रिय पञ्चायत सदस्यमा जुम्लाबाट मनोनीत भएका थिए । त्यसअघि बीपीलाई फाँसीको माग पञ्चायतको कुनै कोणबाट नआएकाले त्यो माग पहिलो र अत्यन्त सनसनीपूर्ण थियो । मैले सम्झ्ेसम्म सो भेलाको त्यो चरणको सभापतित्व मातृकाप्रसाद कोइरालाले गरेका थिए । त्यतिबेला अनुदारवादी पञ्च मानिने डा. तुलसी गिरी प्रधानमन्त्री थिए ।

बीपीबारे दरबारको हिसाब

त्यो बेला भारतमा इन्दिरा गान्धी शक्तिशाली प्रधानमन्त्री बनेर कडा शासन लगाएकी थिइन् । त्यो शासनअन्तर्गत नेपाली कांग्रेसका सभापति बीपीलाई भारत बसेर नेपाल सरकार विरुद्ध गतिविधि गर्न छूट मिल्दैन भन्ने राजदरबारको राजनीतिक फाँटको विश्लेषण रहेछ । त्यो विश्लेषणले भारतमा इन्दिरा गान्धी सरकारको हैकममा बस्नुभन्दा आफ्नै देश फर्केर सम्भव भएअनुसार राजनीतिक गतिविधि गर्छन् भन्ने हिसाब गरेको थियो ।

त्यसअनुसार उनको गतिविधि नियन्त्रण गर्न सरकारमा सशक्त नेतृत्व चाहिने महसूस गरिएछ । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको सरकारबाट त्यो काम नहुने देखेर राजा वीरेन्द्रले पञ्चायती शासन लागू गर्दा २०१७ सालमा आफ्ना पिताले समेत पत्याएका डा. तुलसी गिरीलाई १५ मंसीर २०३२ मा प्रधानमन्त्री बनाएका थिए ।

नभन्दै दरबारको अनुमानित हिसाब अनुसार बीपी कोइरालाले स्वदेश फर्कने सोच बनाएछन् । त्यहीअनुसार राष्ट्रिय मेलमिलाप आवश्यक छ भन्दै उनी आफ्ना सहयोद्धा गणेशमान सिंह, खनुपरुदे (रामबाबु) प्रसाईं, शैलजा आचार्यसहित नेपाल आए । आफूमाथि मृत्युदण्ड समेत हुनसक्ने सङ्गीन मुद्दाहरू भए पनि बीपी कुनै पर्वाह नगरी मातृभूमि फर्केका थिए । उनलाई काठमाडौं बाहिर जान नदिन पञ्चायत सरकारले यावत् काम गरायो । उनी चढेको विमान विराटनगरमा ओर्लन नदिने जस्ता काम समेत बाँकी राखिएन ।

फाँसीको नारा स्यालहुइँøया

पञ्चायत आवरणमा बलशाली देखिए पनि वस्तुगत रूपमा त्यस्तो थिएन । त्यहाँभित्र चरम गुटबन्दी र अन्तरद्वन्द्व थियो । अरूबेला आपसमै कटुता पालेर बस्ने पञ्चहरू बीपी भारतबाट आउने बेला भने एकढिक्का भए । बीपी नेपाल आइपुगेपछि पोखरामा पञ्च भेला भएको थियो । राष्ट्रिय मेलमिलापबारे बीपीले वक्तव्य नै निकालेका थिए । त्यो वक्तव्य राजा वीरेन्द्र र प्रधानमन्त्री तुलसी गिरीले पढिसकेका रहेछन् । पञ्च भेलामा ती कुरा उल्लेख गरेर राजा र प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।

धीरबहादुर हमालले बीपीलाई फाँसी दिनुपर्ने माग गरेको त्यसअघिको पञ्च भेलामा उपल्लो तहका पञ्चहरू पनि सहभागी थिए । तर, कसैले पनि उक्त मागको प्रतिवाद र समर्थनमा केही भन्ने हिम्मत गरेनन् । सरकार पनि सो असाधारण मागबारे मौन बस्यो । त्यसपछि सार्वजनिक मञ्चमा त्यसरी जोडदार रूपमा बीपीलाई फाँसीको माग प्रायः आएन । कहींकतै हल्काफुल्का र झ्निो स्वरमा उठे पनि त्यसले आकार लिएन । त्यसैले ‘विश्वेश्वरलाई फाँसी दे’ नारा पानीको फोका झैं फुट्यो । त्यो स्यालहुइँøया आफैं विलाएर गयो ।

खासमा पञ्चायती व्यवस्थामा धीरबहादुर हमाल प्रवृत्तिका मानिसको चकचकी थियो । दरबारको नजिक हुने कला नै उनीहरूको पूँजी थियो । राजा महेन्द्रको निधन हुँदा उनी त्यो वेदना खप्न नसकेको देखाउन तिला नदीमा झ्न्डै हाम फालेका थिए रे ! सँगै रहेकाहरूले जोगाएको हल्ला त्यतिखेर चलेको थियो । त्यस्तो समर्पण र आस्था देखेर राजा र राजदरबार खुशी नहुने कुरै थिएन । त्यस्ता प्रवृत्तिकै मानिसहरूले बक्सिस्, तक्मा, सार्वजनिक पद पनि पाउँथे । शायद समर्पण भावकै कारण हमाल राजा वीरेन्द्रबाट राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भएका थिए ।

comments powered by Disqus

रमझम