६-१२ माघ २०७५ | 20-26 January 2019

जनस्वास्थ्यकै समस्या सवारी दुर्घटना

Share:
  
- डा. पुष्पराज पन्त
सडक दुर्घटनाबाट हुने मृत्युको संख्या छिमेकी देशहरू बाङ्लादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तानमा भन्दा नेपालमा बढी छ। यो नेपालका लागि दशककै सबैभन्दा चुनौतीपूर्ण स्वास्थ्य तथा सामाजिक समस्या हो।

बिक्रम राई
विश्व स्वास्थ्य संगठनको सडक सुरक्षाको विश्वव्यापी अवस्था प्रतिवेदन २०१८ अनुसार संसारभर सडक दुर्घटनामा मर्नेहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । सन् २०१६ को तथ्यांकलाई विश्लेषण गर्दा यो संख्या विश्वभर १३ लाख ५० हजार पुगेको छ । सन् २०१३ को तथ्यांकभन्दा यो संख्या एक लाखले बढी हो ।

तर विश्वमा बढेको जनसंख्या र यातायातका साधनको संख्याको अनुपात अनुसार सडक दुर्घटनाबाट हुने मृत्यु कम भएको छ । सन् २००० मा प्रति एक लाख यातायातका साधनमा औसत मृत्युदर १३५ रहेकोमा यो दर २०१६ मा ६४ मा झ्रेको छ । अर्कोतर्फ सन् २००० मा प्रति एकलाख जनसंख्यामा मृत्युको दर १८.८ रहेकोमा सन् २०१६ मा १८.२ मा झ्रेको छ । सडक सुरक्षा विज्ञहरू यसलाई सडक दुर्घटनाबाट हुने मृत्युको दर स्थिरताउन्मुख मान्दछन् ।

नेपालको फरक अवस्था

नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा आर्थिक वर्ष २०७४÷७५ मा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार १९५ छ भने विश्व स्वास्थ्य संगठनको अनुमानले यो संख्या ४ हजार ६२२ उल्लेख गरेको छ । स्वास्थ्यका विश्वव्यापी तथ्यांकको अर्को भरपर्दो स्रोत ग्लोबल बर्डन अफ डिजिज (जीबीडी) को अध्ययनले त यो संख्या ६ हजार ७६५ सम्म भएको र प्रति एकलाख जनसंख्यामा मृत्युको दर २३ रहेको उल्लेख गरेको छ । प्रतिवेदनमा दक्षिण एशियाली मुलुकहरूमा सडक दुर्घटनाका मृतकमध्ये सबैभन्दा बढी पैदलयात्री र साइकलयात्रीहरू (४३%) रहेको उल्लेख छ । नेपाल प्रहरीको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१६ का लागि गरिएको अनुमान र नेपाल प्रहरीको तथ्यांकमा ठूलो भिन्नता छ । यसरी फरक तथ्यांक र तथ्यांकीय विधिबाट गरिएका अनुमानहरूका आधारमा एउटा कुरा के स्पष्ट हुन्छ भने नेपालमा जनस्वास्थ्यको यस्तो भयावह समस्या समाधानका लागि भरपर्दा तथ्यांक उपलब्ध छैनन् ।

सडक दुर्घटनाबाट हुने मृत्युको संख्या छिमेकी देशहरू बाङ्लादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तानमा भन्दा नेपालमा बढी छ । यो नेपालका लागि दशककै सबैभन्दा चुनौतीपूर्ण स्वास्थ्य तथा सामाजिक समस्या हो ।

विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित सडक सुरक्षाको विश्वव्यापी प्रतिवेदनका सल्लाहकार एवम् जर्ज वाशिङ्गटन विश्वविद्यालयमा जनस्वास्थ्यका प्राध्यापक अद्नान हाइदरले विश्वव्यापी सडक सुरक्षालाई संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यप्राप्तितर्फको अत्यन्तै महत्वपूर्ण मार्ग भनेका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक अधानोम गेब्रेएससले एक प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘मानिसहरूले सडकमा आवागमनका क्रममा चुकाएको जीवन मूल्यलाई कहिल्यै स्वीकार गर्न सकिंदैन । यस विरुद्ध निष्क्रियताका लागि हामीलाई कुनै छूट छैन । यो यस्तो समस्या हो जसको समाधानका लागि प्रभावकारी उपायहरू उपलब्ध छन् । त्यस्ता उपायहरू अवलम्बन गर्न हामी सबै साझेदारहरू र सरकारहरूलाई आह्वान गर्दछौं ।’

प्रतिवेदन अनुसार पश्चिम–अफ्रिकी देश लाइबेरियामा सडक दुर्घटनाबाट हुने मृत्युको दर सबैभन्दा उच्च (३५.९ प्रति एक लाख जनसंख्या) छ भने दक्षिण एशियाली मुलुक माल्दिभ्समा यो दर सबैभन्दा कम (०.९ प्रति एकलाख जनसंख्या) छ । त्यस्तै स्विट्जरल्याण्ड र नर्वेका लागि सडक दुर्घटना मृत्युको दर २.७ प्रति एकलाख जनसंख्या छ । प्रतिवेदनले यी पछिल्ला दुई देशका तथ्यांकलाई माल्दिभ्सको भन्दा बढी भरपर्दो भनेर उल्लेख गरेको छ ।

न्यून आय भएका देशमा विश्वमा रहेका कुल सवारी साधनमध्ये जम्मा १ प्रतिशत छन् तर, सवारी दुर्घटनामा हुने मृत्युको अनुपात १३ प्रतिशत छ । जबकि उच्च आय भएका देशहरूमा विश्वका ४० प्रतिशत सवारी साधन भए पनि यो अनुपात त्यहाँ ७ प्रतिशत मात्र छ ।

आगामी बाटो

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले अहिलेसम्म विश्वभर भएका सडक दुर्घटना न्यूनीकरणका प्रयासहरूलाई अपर्याप्त भनेको छ । गएको वर्ष मात्रै संगठनले सडक सुरक्षाका लागि प्राविधिक प्याकेज तयार पारेको छ । जस अनुसार सवारी साधनको गति व्यवस्थापन गर्ने, सडक सुरक्षाको नेतृत्व प्रवद्र्धन गर्ने, सडक पूर्वाधार डिजाइन र वातावरण सुधार्ने, सवारी साधनको सुरक्षा मापदण्ड निर्धारण गर्ने, कानून पूर्ण रूपमा पालना गराउने, दुर्घटनालगत्तै दिइने चिकित्सकीय स्याहारमा सुधार गर्नेलगायतका रणनीति तय गरिएको छ । सडक सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यमा पाँचवटा स्तम्भमा आधारित १२ वटा ऐच्छिक लक्ष्यहरू पनि यही रणनीतिमा आधारित भई निर्धारण गरिएका छन् । यी लक्ष्य प्राप्तिको दिशामा अघि बढ्दा सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका क्षेत्रमा ठूलो सुधार आउन सक्छ ।

सडक सुरक्षाका लागि थप परिमार्जित लक्ष्यहरू बनिरहँदा नेपालमा आधारभूत तथ्यांकहरूको व्यवस्थापन गर्नु नै चुनौतीपूर्ण देखिएकोे छ । अबका ११ वर्षभित्र हामीले दिगो विकास लक्ष्य हासिल गर्न संस्थागत र व्यावहारिक पद्धतिको निर्माण र अवलम्बन गरिसक्नुपर्छ । त्यसका लागि केही सुझवहरू प्रस्तुत छन्ः

  • सडक यातायातसम्बन्धी सबै दुर्घटनाहरू संयोगवश हुने र अनुमान नै गर्न नसकिने घटनाहरू होइनन् बरू त्यसका लागि जिम्मेवार जोखिमका तत्वहरू के के हुनसक्छन् भनेर पहिले नै अनुमान गर्न सकिन्छ । यसबारेको स्पष्ट ज्ञान र चेतना प्रवाह गर्नु सबैभन्दा ठूलो कुरा हो । यस विषयमा सञ्चारमाध्यमहरूले ठूलो भूमिका खेल्न सक्छन् ।

  • हाम्रो देशमा सडक दुर्घटनाको यथार्थ स्थिति, सबैभन्दा बढी जोखिममा रहेको समूह बारेका तथ्यहरू सडक प्रयोगकर्ता वा सडक सुरक्षाका अभियन्ताहरूमाझ् पुर्‍याउन विज्ञ र अनुसन्धानकर्ताहरूले योगदान गर्न सक्छन् ।

  • निर्णयकर्ता वा नीतिनिर्माताहरूले सडक दुर्घटना कम गर्न के कस्ता प्रावधानहरू छन् भन्ने विषयमा स्पष्ट जानकारी दिन सक्छन् । यसबाट नीतिहरूको अन्तर थाहा पाउन मद्दत पुग्दछ ।

  • सडक सुरक्षा अभियन्ता, कार्यान्वयनकर्ता र नीति निर्माताहरूले उपलब्ध नीतिगत संरचनालाई लागू गराउन आम नागरिकबाट के कस्तो अपेक्षा गरिएको छ भन्ने जानकारी लिएमा कार्यान्वयन सहज हुन्छ ।

  • नेपालको सन्दर्भमा सडक सुरक्षाका लागि राजनीतिक इच्छाशक्ति सुदृढ बनाउनु जरूरी छ । जसले गर्दा यससम्बन्धका प्रावधानहरूलाई कार्यान्वयन गराउन चाहिने जनशक्ति, स्रोतहरूको व्यवस्थापन गर्न मद्दत पुग्दछ । त्यस्तै जवाफदेहिता अर्को महत्वपूर्ण पक्ष हो । साँचो अर्थमा सडक सुरक्षाका लक्ष्यहरू हासिल गर्नका लागि राज्य, सञ्चारमाध्यम, नागरिकलगायत सबै पक्षबीच सहकार्य हुनु जरूरी छ । प्रभावकारी कार्यक्रमका लागि यथार्थ र गुणस्तरीय तथ्यांक अत्यन्तै महत्वपूर्ण हुने भएकाले सडक दुर्घटना र सडक सुरक्षासम्बन्धी तथ्यांक संकलन प्रणालीलाई पनि सुदृढ बनाउनु उत्तिकै जरूरी छ ।

comments powered by Disqus

रमझम