६-१२ माघ २०७५ | 20-26 January 2019

वाल स्टिकरको सजावट

Share:
  

एम्बियन्स लाइफ स्टाइल
हिजोआज शहरिया घरहरुमा कोठालाई आकर्षक बनाउन भित्तामा वाल स्टिकर राख्ने चलन बढ्दो छ । सिलिङ र बाहिरी भित्तामा समेत लगाउन मिल्ने यस्तो वाल स्टिकरले घरलाई आकर्षक लूक दिनुका साथै भित्ताको सुरक्षा पनि हुन्छ । पानीको ओसले बिग्रेका र घामले रङ उडेका पुराना घरका भित्ता र छानामा पनि यस्ता स्टिकर जडान गरेर नयाँ र आकर्षक बनाउन सकिन्छ ।

विभिन्न आकृति, बुट्टा, प्राकृतिक दृश्य, रङ संयोजन भएका यी वाल स्टिकर कोठालाई उज्यालो र चहकिलो बनाउन पनि प्रयोग गर्न सकिन्छ । यस्ता स्टिकर राख्दा कोठामा भएका फर्निचर, कार्पेट आदिको रङसँग मिलाएर कोठामा एकरुपता ल्याउन सकिन्छ । सजिलै धुन, सफा गर्न सकिने यी स्टिकरमा दाग लाग्यो, घरका नानीहरुले कोरकार पारे भने सफा पानी वा बजारमा पाइने सफ्ट क्लिनरले पुछेर फेरि नयाँ जस्तै पार्न सकिन्छ । तर स्टिकर सफा गर्दा नरम कपडाले हल्का ढंगबाट सफा गर्नुपर्छ । खस्रो वस्तुले सफा गर्दा यसको चमक हराउने वा कोरिने संभावना हुन्छ ।

नेपाली बजारमा वाल स्टिकर उपलब्ध हुन थालेको करीब एकदशक मात्र भएको व्यापारीहरु बताउँछन् । नेदरल्याण्ड, कोरिया, चीन, थाइल्याण्ड, इण्डोनेसियालगायतका मुलुकबाट थर्ड प्यानल, डेको प्यानल र पीभीसी वाल स्टिकर आयात हुने गरेको कासा इन्टरन्याशनल बुद्धनगर, काठमाडौंकी प्रबन्धक सपना भुसाल बताउँछिन् ।

व्यक्तिको रुचि अनुसारका रङ र बुट्टामा उपलब्ध यस्ता वाल स्टिकरका पारखीहरुको संख्या बढिरहेको भुसालको भनाइ छ । उनी भन्छिन्, “हाम्रो स्टोरबाट मात्रै मासिक ६०–७० थान वाल स्टिकरहरु बिक्री भइरहेका छन् ।” अचेल इन्टेरियर डिजाइनिङमा धेरैको ध्यान जान थालेकोले वाल स्टिकरकोे व्यापार बढिरहेको उनी बताउँछिन् ।

घामपानीबाट जोगाउन सके २० वर्षसम्म खप्ने यस्ता स्टिकर प्रायः पीभीसी प्लास्टिकबाट बनेका हुन्छन् । सामान्यतया बजारमा उपलब्ध हुने चार फुट लम्बाइ र आठ फुट चौडाइ भएको स्टिकरको मूल्य प्रतिगोटा रु.९ हजारदेखि रु.११ हजारसम्म पर्छ । नेपाली बजारमा चार एमएमदेखि २५ एमएमसम्म मोटाइका स्टिकर पाइन्छन् । प्लास्टिकबाट बनेका यस्ता वाल स्टिकरहरुलाई कोठा वा सिलिङको आकार र आवश्यकता अनुसार सजिलै काटेर पनि प्रयोग गर्न सकिन्छ । यसमा धमिरा, धुलिया लाग्ने समस्या पनि हुँदैन ।

घरका कोठा, चोटाहरुमा अलग–अलग डिजाइनका वाल स्टिकर राख्दा एउटै घरभित्र विविध स्वरुप प्रस्तुत गर्न सकिन्छ । यस्ता स्टिकर सम्पूर्ण भित्ताभरि नटाँसेर कुनै निश्चित भित्ता वा भित्ताको निश्चित स्थानमा टाँसेर मात्रै पनि नयाँ सजावट गर्न सकिन्छ । अचेल बजारमा सिसा, टायल, फर्निचरमा टाँस्न मिल्ने स्टिकर पनि उपलब्ध छन् । यस्ता स्टिकरहरु सहजै उप्काउन, बिग्रिएमा परिवर्तन गर्न पनि सकिन्छ ।

comments powered by Disqus

रमझम