६-१२ माघ २०७५ | 20-26 January 2019

टेकोमा सम्पदा

Share:
  
- गोपाल गड्तौला

१२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रस्त सम्पदाहरूको साढे तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुनसकेको छैन । भूकम्पले जग र जोर्नी खलबल्याएपछि तत्काल थामथुम पार्न टेकोले अड्याइएका सम्पदाहरू अहिले पनि सोही अवस्थामा छन् । टेकोको सहारामा धराप अवस्थामा उभिएका सम्पदाहरू काठमाडौं उपत्यकाका ठाउँठाउँमा देखिन्छन् ।

भूकम्पबाट हनुमानढोका दरबार स्क्वायर क्षेत्रभित्रका मठमन्दिर र दरबार गरी ४३ वटा संरचना क्षतिग्रस्त भएका थिए । तीमध्ये गद्दी बैठक, तलेजु मन्दिर, नगरा घरलगायत नौ वटा निर्माण भइसकेका छन् भने सात वटा निर्माण क्रममा छन् । निर्माण नै शुरु नगरिएका बाँकी २७ वटा सम्पदामध्ये अधिकांश टेकोकै भरमा छन् । पुनर्निर्माणमा ढिलाइ हुँदा जेनतेन टेकोमा उभ्याइएका सम्पदा जुनसुकै बेला ढल्न सक्ने जोखिम छ ।

कुमारी घर

टेकोमा अड्याइएको कुमारी घरको बाहिरी र भित्री भाग ।

तस्वीरः गोपाल गड्तौला

विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार स्क्वायर क्षेत्रभित्र रहेको कुमारी घरको बाहिर र भित्र गरी २४ वटा टेको लगाइएको छ । गएको असोजदेखि मंसीरसम्म कुमारी घरको प्राविधिक जाँच गर्दा उक्त भवनको पर्खालको चौडाइ थेग्नेगरिको जग निर्माणसहित धेरैजसो भाग पुनर्निर्माण गर्नुपर्ने निष्कर्ष आएको थियो । तर, गुठी संस्थानले जीवित देवीको रूपमा पुजिने कुमारी बस्ने घर भत्काउन नहुने अडान लिएपछि हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अलमलमा छ ।

आगमछें

हनुमानढोका संग्रहालयको प्रवेशद्वारसँगै लाम्चो आयतनमा फैलिएको आगमछें मन्दिर पनि टेकोको सहारामा उभिएको छ । जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकामार्फत भइरहेको यसको पुनर्निर्माण लागत रु.३३ करोड छ । तर, मन्दिरमा तान्त्रिक ज्ञान भएको व्यक्ति मात्र प्रवेश गर्न पाउने भएकाले विदेशीलाई प्रवेश नदिइँदा निर्माणको कामले गति लिनसकेको छैन । यो जटिलता समाधान गर्न प्रयास भइरहेको पुरातत्व विभागका कार्यवाहक महानिर्देशक दामोदर गौतम बताउँछन् ।

शिव–पार्वती मन्दिर

हनुमानढोका दरबार क्षेत्रभित्रै रहेको शिव–पार्वती मन्दिर पनि १२ वटा टेकोले थामिएको छ । यो मन्दिर पुुनर्निर्माणको योजनामा समेत परेको छैन । मन्दिरको जग र भित्ता चर्किएको छ । भूकम्पपछि असुरक्षाको डरले उक्त मन्दिरमा पूजापाठ गरिएको छैन ।

माजु देगः मन्दिर

साढे तीन वर्षअघिको भूकम्पले काष्ठमण्डप नजिकै रहेको माजु देगः (महादेव) मन्दिर मर्काएको थियो । बाह्रै मास दिनभर मानिसको चहलपहल हुने ठाउँको उक्त मन्दिर पनि दुई दर्जनभन्दा बढी टेकोको भरमा छ । मन्दिर पुनर्निर्माणका लागि रु.२५ लाखको योजना स्वीकृत भएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखल बताउँछन् ।

टेकु पचलीस्थित बलराम मन्दिर

काठमाडौं महानगरपालिका–१२, टेकु पचलीस्थित १०० वर्ष पुरानो मानिने बलराम मन्दिरको दोस्रो तला भूकम्पले लच्किएपछि पर्खाललाई टेकोले अड्याइएको छ । भूकम्पले उक्त मन्दिरसँगै रहेको कलात्मक भवन भत्किएर इँटा र अन्य सामग्री असरल्ल छरिएका छन् । पछिल्ला वर्षहरूमा मन्दिरमा दर्शनार्थी घटेका छन् । काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले चालु आर्थिक वर्षमा मन्दिर पुनर्निर्माणका लागि रु.५० लाख छुट्याएको छ । तर, अहिलेसम्म मन्दिर जीर्णोद्धारको योजना समेत बनेको छैन ।


सम्पदा कति ? ‘थाहा छैन’

सामान्यतया १०० वर्ष नाघेको धार्मिक, सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वको मूर्त वा अमूर्त वस्तु वा परम्परालाई पुरातत्व विभागले सम्पदा मान्ने गरेको छ । सो आधारमा विभागले उपत्यका बाहिर एक हजार ८७२ वटा सम्पदाको पहिचान गरेको छ । उपत्यकाभित्र भने कति सम्पदा छन् भन्ने यकिन तथ्यांक विभागसँग छैन । विभागका कार्यवाहक महानिर्देशक दामोदर गौतम उपत्यकाभित्र कम्तीमा दुई हजार सम्पदा रहेको अनुमान गर्छन् । “अहिलेसम्म यही अनुमानको भरमा विभाग चलेको छ”, उनी भन्छन् ।

देश संघीय संरचनामा गएपछि विभागलाई काम गर्न असहज भएको छ । देशका अन्य ठाउँमा विभागको शाखा वा कुनै इकाइ नभएको र प्रदेश तहमा विभागले कुन मन्त्रालयसँग समन्वय गर्ने भन्ने किटान समेत नभएकोले जटिलता भएको महानिर्देशक गौतम बताउँछन् । विभागले गएको असारमा सातै वटा प्रदेश सरकारलाई सम्पदाहरूको संरक्षणको लागि इकाइ खडा गर्न र कार्यक्रम बनाउन सुझाव पठाएको थियो । तर, सात महीना बितिसक्दा प्रदेश सरकारहरूबाट त्यससम्बन्धी काम भएको जानकारी आएको छैन ।

comments powered by Disqus

रमझम