खपटाका कारण संकटमा
सालक निशाचर वन्यजन्तु भएकाले यसलाई हम्मेसी भेटिन्न । तर, शरीरका अवयव बहुगुणी भएकै कारण यो प्राणीलाई खोजीखोजी मार्ने गरिन्छ । यसको शिकार गरेर खानेहरू मासु स्वादिलो हुने बताउँछन् भने यसका खपटा र नङ्ग्रा क्यान्सर, दमको उपचारमा प्रयोग हुन्छ । नेपालमा सालक तस्कर गर्ने गिरोह ठूलै भए पनि देशभित्रै यसको खपटा औषधिको निम्ति प्रयोग हुने गरेको जानकारी अहिलेसम्म पाइएको छैन । यसको खपटा विभिन्न नाकाबाट चीनतिर निर्यात गर्न लगिने क्रममा बरामद भएका छन् । चीनमा सालकको खपटा हजारौं वर्षअघिदेखि परम्परागत औषधिमा प्रयोग हुन्थ्यो भन्ने विवरण पढ्न पाइन्छ । तर, पछिल्लो समय यसको खपटा चीनबाट पनि समुद्रपार व्यापार हुने गरेको छ ।
सागर दाहालले जलथल जंगलमा मारिएको सालकलाई खपटाको आधारमा पहिचान गरे । त्यो ‘चाइनिज पेन्गोलिन’ भनिने कालो सालक थियो । यसको खुट्टाको तल्लो भाग, थुतुनो, कान र घाँटी हल्का गुलाफी र बाँकी भाग गाढा फुस्रो रङको खपटाले ढाकेको हुन्छ । नेपालमा ‘इन्डियन पेन्गोलिन’ भनिने अर्को सालक प्रजाति पनि पाइन्छ । खपटा फिक्का पहेंलो हुने यसलाई तामे सालक भनिन्छ । इन्डियन पेन्गोलिनको खपटा चाइनिज पेन्गोलिनको भन्दा ठूलो हुन्छ ।
चाइनिज पेन्गोलिन नेपाल, उत्तरी भारत, भूटान, म्यानमार, इण्डोचाइना, ताइवान, भियतनाम, हङकङ, थाइल्यान्ड र लाओसमा पाइन्छ, तर अत्यन्त न्यून संख्यामा । ती देश÷क्षेत्रहरूमा चाइनिज पेन्गोलिनलाई संरक्षण नगर्ने हो भने यो निकट भविष्यमै लोप हुनसक्ने आकलन गरिएको छ ।
गम्भीर जोखिममा दुई प्रजाति
विश्वभरका वन्यजन्तु तथा वनस्पतिको अवस्थाबारे जानकारी दिने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले सन् २०१४ मा एउटा महत्वपूर्ण जानकारी जारी गरेको थियो । जसअनुसार ‘चाइनिज पेन्गोलिन’ र एशियामै पाइने अर्को प्रजाति ‘सुन्डा पेन्गोलिन’ गम्भीर जोखिम (क्रिटिकल्ली इन्डेन्जर्ड) समूहमा छन् । यी दुई प्रजातिका सालकको संख्या विगत दुई दशकयता करीब ९० प्रतिशत घटिसकेको छ । तत्कालै तिनलाई विशेष संरक्षण नगर्ने हो भने विश्वबाटै लोप हुनसक्छन् । अन्य पेन्गोलिनको अवस्था भने तुलनात्मक रूपमा केही राम्रो छ । ‘इण्डियन पेन्गोलिन’ को अवस्था इन्डेन्जर्ड मात्र हो । यी दुईसँगै एशियामा अन्य दुई र अफ्रिकामा चार गरी जम्मा ८ प्रजातिका सालक पाइन्छन् ।
बाघ, हात्ती, गैंडा, हिउँचितुवा, रेडपान्डा संरक्षित वन्यजन्तु भए पनि विश्वको निम्ति गम्भीर जोखिममा रहेका अन्तर्गत पर्दैनन् । बाघ, हात्ती, रेडपान्डा इन्डेन्जर्ड अर्थात् जोखिममा रहेका वन्यजन्तु हुन् । इन्डेन्जर्डले ‘क्रिटिकल्ली इन्डेन्जर्ड’ भन्दा एक तह राम्रो अवस्थाको संकेत गर्छ । गैंडा र हिउँचितुवाको अवस्था अझ राम्रो छ । ती दुईलाई आईयूसीएनले क्रमशः सन् २००८ र २०१७ मा इन्डेन्जर्ड भन्दा एक तहमाथिको ‘भल्नेरेबल’ मा सूचीकृत गरेको छ । क्रिटिकल्ली इन्डेन्जर्डपछि इक्सटिंक्ट अर्थात् लोप भएको समूह हुन्छ ।
हाका–हाकी पत्रिकाको अनलाइन संस्करणअन्तर्गत ८ मंसीरमा प्रकाशित ‘तस्करको निशानामा सालक’ शीर्षक समाचार अनुसार नेपाल प्रहरीले २०६९ देखि २०७५ साउनसम्म सालकका ३४ जना कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट सालकको १२५.३ किलो खपटासहित चार वटा जिउँदा, एउटा मृत र चार थान छाला बरामद गरेको थियो ।
सालक तस्करी बढेकै कारण आईयूसीएनको विज्ञ समूहले सन् २०१२ यता फेब्रुअरी महीनाको तेस्रो शनिबारको दिन विश्व सालक दिवसका रूपमा मनाउँदै आएको छ । हाम्रो देशमा सालकलाई संरक्षित वन्यजन्तुअन्तर्गत राखिएको छ । ऐनअनुसार संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरीद–बिक्री एवम् ओसारपसार गर्ने व्यक्तिलाई रु.५ लाखदेखि रु.१० लाखसम्म जरिवाना वा पाँच वर्र्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । सालकको खपटाको कारोबार गर्नेलाई १५ वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान छ ।
सन्जन थापा लिखित ‘अ चेकलिष्ट अफ म्यामल्स अफ नेपाल’ (सन् २०१४) अनुसार नेपालमा स्तनधारी वन्यजन्तुका १९२ प्रजाति छन् । तीमध्ये अन्तर्राष्ट्रिय रुपमै अत्यधिक चोरी निकासी भई लोप हुने अवस्थामा रहेको वन्यजन्तु चाइनिज पेन्गोलिन मात्र हो । यसबारे नेपालमा अनुसन्धानकर्ता तथा संरक्षक निकायहरूले यथेष्ट चासो दिन सकेका छैनन् । डब्लुडब्लुएफ नेपाल, जुलोजिकल सोसाइटी नेपाल शाखा, राष्ट्रिय प्रकृति संरक्षण कोष आदिले विशेषतः बाघ, हिउँचितुवा, गैंडा आदिमा मात्र ध्यान केन्द्रित गरेका छन् । ती संस्थाले पर्यटकलाई देखाउन सकिने ठूला र आकर्षक वन्यजन्तुप्रति विशेष चासो दिएको देखिन्छ ।
युरोपमा उत्पत्ति भएको मानिने सालक हिजोआज एशिया र अफ्रिकामा मात्र पाइन्छ । ५ फेब्रुअरी २०१८ मा युनाइटेड नेसन्स इन्भारोमेन्ट प्रोग्रामले प्रकाशन गरेको एक समाचारअनुसार अफ्रिका र एशियाली देशबाट सालकको खपटा चीन पुर्याइन्छ । त्यहाँबाट तस्करले अमेरिका र युरोप निर्यात गर्छन् ।
अर्कोतिर, सालक लोपोन्मुख र हाम्रो संरक्षित वन्यजन्तु हो भन्ने चेतना नभएर पनि यो संंकटमा परेको हो । सालकलाई गाउँघरमा सामान्य वन्यजन्तु ठानेर मार्ने गरिन्छ । सालकबारे चेतना फैलाउन सालक पाइने क्षेत्रमा यससम्बन्धी होर्डिङ बोर्ड लगाइनुपर्छ । शिक्षक, विद्यार्थी वर्गलाई सुसूचित गर्नुपर्छ । यस्तो अभियानमा निर्वाचित जनप्रतिनिधिलाई सामेल गरे जनस्तरमा व्यापक प्रचार गर्न सकिन्छ ।