६-१२ माघ २०७५ | 20-26 January 2019

भियनामा नेपाली कलाकृति

Share:
  
- गोपाल गड्तौला
नेपाली कलाकारका १०० वटा चित्र र मूर्ति अष्ट्रियाको भियनास्थित वेल्ट म्युजियममा सात महीनासम्म प्रदर्शनीमा राखिंदैछ।

अष्ट्रियाको भियनास्थित वेल्ट म्युजियममा ३८ नेपाली कलाकारका १०० कलाकृति प्रदर्शनीमा राखिने भएका छन् । आउँदो ११ अप्रिलदेखि ५ नोभेम्बरसम्म ८० वटा चित्र, सात वटा धातुका मूर्ति, केही ढुंगाका मूर्ति र सेरामिक्स सामग्री प्रदर्शनीमा राखिनेछन् । ‘आजको नेपाली कला’ नाम दिइएको उक्त प्रदर्शनी नेपाली कला सृजनाको हालसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी हुनेछ ।

कलाकार अस्मिना रञ्जितको विइङ इन अ बडी थिमको ‘इन्स्टलेशन’ ।
प्रदर्शनीको चाँजोपाँजो नेपाल आर्ट काउन्सिलले मिलाइरहेको छ । काउन्सिलका उपाध्यक्ष तथा परियोजना संयोजक सागरशमशेर जबरा प्रदर्शनीमा राखिने ती कलाकृतिमार्फत एक शताब्दी यता नेपाली कला क्षेत्रले समातेको बाटो बाँकी विश्वलाई चिनाउन मद्दत पुग्ने अपेक्षा राख्छन् ।

प्रदर्शनीमा राखिने सृजनाहरू नेपाली मौलिकता, जीवनशैली, शान्ति, संघर्ष र हिम्मतबोधक छन् । विश्व–राजनीतिलाई कटाक्ष गरिएको सृजना पनि प्रदर्शनीमा समेटिनेछ । तिनैमध्येको एक हो, समकालीन विश्वका चर्चित नेताहरू डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन र किम जोङ उनलाई विभिन्न स्वरूपमा शान्तिका मालिक थिममा प्रस्तुत गरिएको सुनिल सिग्देलको चित्र । प्रदर्शनीमा दिग्गज कलाकारहरू लैनसिंह बाङ्देल, मनुजबाबु मिश्र, शशिविक्रम शाहका साथै रागिनी उपाध्याय ग्रेला, हितमान गुरुङ, अस्मिना रञ्जितलगायतका सृजनाहरू रहनेछन् ।

यसअघि नेपाली कलाकृतिहरू भारतको नयाँदिल्लीमा हरेक वर्ष आयोजना हुने ‘इन्डिया आर्ट फेयर’ मा सन् २०१६ देखि लगातार तीन पटक प्रदर्शनीमा राखिएका थिए । यो मेलालाई विश्वको पाँचौं ठूलो कला प्रदर्शनी मानिन्छ । भारतमा विश्वस्तरका नामी कलाकारका सृजनासँग बराबर दरिएका नेपाली कलाकृतिलाई अहिले भियनास्थित वेल्ट म्युजियममा राख्ने तयारीमा जुटिरहेका आर्ट काउन्सिलका उपाध्यक्ष जबरा उत्साहित हुँदै सुनाउँछन्, “यो लामो प्रतीक्षापछिको महत्वपूर्ण उपलब्धि हो ।” ती कलाकृति गएको १२ देखि १८ डिसेम्बरमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा समेत प्रदर्शनीमा राखिएका थिए ।

काउन्सिलले कार्गाे गरेर भियना पठाउन लागेका सबै कलाकृतिको वेल्ट म्युजियमले बीमा गरेको छ । प्रदर्शनी अवधिभरिमा ६ जना कलाकार पालैपालो सो संग्रहालयमा रहनेछन् । साथै, युरोपको भव्य संग्रहालयमा सात महीनासम्म प्रदर्शनी चल्ने भएकाले त्यस अवधिमा नेपाल र नेपाली कलाबारे जान्न चाहनेहरूलाई जानकारी दिन एक जना प्रतिनिधि समेत रहने व्यवस्था मिलाइएको प्रदर्शनी व्यवस्थापनमा संलग्न आर्ट क्युरेटर स्वस्ती आर कायस्थ बताउँछिन् । यसबाट सन् २०२० को नेपाल भ्रमण वर्षको प्रवद्र्धनमा पनि सघाउ पुग्ने उनको भनाइ छ ।

तस्वीर सौजन्यः आर्ट काउन्सिल ।
छकलाकार हितमान गुरुङको ‘हामी शत्रुविनाको युद्धमा छौं’ थिमको पेन्टिङ ।

विश्वस्तरमा कला सृजना भन्नासाथ युरोपका इटाली, फ्रान्सलगायतका मुलुक र त्यहाँका पुराना कला संग्रहालयहरूलाई सम्झने गरिन्छ । तर, अष्ट्रियाका मानवशास्त्री डा. क्रिस्टियन सिकग्रुवर सन् १९७० देखि नेपाल आउजाउ गर्न थालेपछि नेपाली कलाप्रति असाध्यै मोहित भए । कला साधक स्व. डिना बाङ्देलको सरसंगत गरेका सिकग्रुवरलाई यहाँका कला सृजना मौलिक लाग्यो । अरुण उपत्यकाको मानवशास्त्रबारे विद्यावारिधि गरेका उनी हाल भियनाको वेल्ट म्युजियम भियनाका निर्देशक तथा चिफ क्युरेटर छन् । डा. सिकग्रुवर सन् २०१६ मै नेपाली कला प्रदर्शनीका लागि राजी भएका थिए, तर लामो तयारीपछि गएको १२ डिसेम्बरमा प्रदर्शनीको टुंगो लागेको हो ।

सुनिल सिग्देलको सृजना ट्रम्प, पुटिन र किम जोङ उनको आकृति (बायाँबाट क्रमशः) ।

वेल्ट म्युजियम

सन् १८७६ मा अष्ट्रियाको भियनामा स्थापित यो संग्रहालय विश्वका प्रतिष्ठित कला संग्रहालयमध्ये पर्छ । यो संग्रहालयमा दुई लाखभन्दा बढी सांस्कृतिक वस्तु, एक लाखभन्दा बढी तस्वीर, एक लाख ४० हजारभन्दा बढी प्रकाशित कृति, आवाज र श्रव्यदृश्य सामग्री संग्रहित छन् । संग्रहालयमा सव–सहारा, उत्तर अफ्रिका, मध्यपूर्व, मध्य एशिया, पूर्वी एशिया, दक्षिण एशिया, अष्टे«लिया र ओसेनिया, उत्तर र मध्य अमेरिकाका अलग–अलग विभाग छन् ।

सन् २०१४ को नोभेम्बरमा पुनर्निर्माणको लागि बन्द गरिएको उक्त संग्रहालय सन् २०१७ को अक्टोबरदेखि पुनः खुला गरिएको थियो । यसले मूर्त एवं अमूर्त सम्पदाको जिम्मेवार संरक्षकको रूपमा नाम कमाएको छ ।

comments powered by Disqus

रमझम