वैशाख पूर्णिमाको दिन भने सदर टुँडिखेलमा मात्र जुवा फुक्थ्यो । यस्तै, मत्स्येन्द्रनाथको भोटो देखाउने दिन मत्स्येन्द्रनाथलाई बुङ्मती लगेपछि पाटन शहरमा भोलिपल्ट बिहानसम्म जुवा फुक्थ्यो । जुवा फुकेको र बन्द भएको सूचना झयाली पिटाएर दिने चलन थियो । किनकि त्यो जमानामा सार्वजनिक सूचना दिने माध्यम अरू थिएन ।
जुवा र राणा विरोधी आन्दोलन
पौराणिक किंवदन्ती हेर्ने हो भने जुवा केही रकमको हार–जित मात्र होइन, राज्य नै दाउमा राखिने खतरनाक खेल हो । महाभारत काण्ड, पाण्डव र कौरवबीचको जुवाले गर्दा नै भएको हो । नेपालमा कागजको नोट नछापिउञ्जेल (संवत् २००२ असोजअघि) राणा शासकहरूले जुवा खेल्दा नगद कारोबार विशेष तरिकाले गर्थे । धेरै रुपैयाँको जुवा खेलिने भएकाले सिक्का गनेर हरहिसाब गर्न धेरै समय लाग्ने भएकाले कहिले पाथीले भरेर, कहिले तराजुले जोखेर कारोबार हुन्थ्यो रे !
शासकहरूको भोगविलासको एउटा माध्यम जुवा खेल्न फुकुवा भएकै दिन मौका छोपेर राणाशासन विरुद्ध आन्दोलन शुरू भएको रहेछ । ९ असार १९९७ मा मत्स्येन्द्रनाथको भोटोजात्राको उपलक्ष्यमा जुवा खेल्न फुकुवा गरिएको थियो । सोही राति पर्चा टाँसेर र छरेर राजनीतिक आन्दोलन शुरू भएको रहेछ । जुवा फुक्का गरेकाले त्यो रात कफ्र्यू नलाग्ने भएकाले नेपाल प्रजा परिषद्ले त्यो अवसरको भरपूर फाइदा लियो ।
राणाशासनको अन्त्य भएको अर्को वर्ष सरकारले चाडपर्व विशेषमा समेत जुवा फुकुवा नगर्ने गरी पूर्णरूपमा बन्द गर्ने निर्णय गर्यो । १ असोज २००८ मा तत्कालीन सरकारको गृह विभागले एउटा विज्ञप्ति निकाल्यो– “अहिलेको बदलिएको परिस्थितिमा जुवा बन्द गर्नुमा नै जनताको हित ठहरिएकोले अबउप्रान्त कोजाग्रत र यमपञ्चकमा समेत जुवा फुक्का नगर्ने निश्चय भएको छ ।” गृह मन्त्रालयलाई गृह विभाग भनिने त्यो समयमा विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री थिए । तर, त्यसबेला जुवा सम्बन्धी ऐन संशोधन वा खारेज हुनसकेको रहेनछ । त्यसैले खुलारूपमा खेल्न रोक लगाइए पनि घरघरमा भने तिहारको बेला जुवा खेल्ने चलन जारी नै रहेछ ।
‘मनोरञ्जनका लागि’ फेरि खुला
राणा र कांग्रेसको संयुक्त सरकार लामो समय चल्न सकेन । प्रधानमन्त्री पदबाट मोहनशमशेरले २० कात्तिक २००८ मा राजीनामा गरे । १ मंसीरमा गठित मातृका कोइराला नेतृत्वको सरकारले पनि २६ साउन २००९ मा राजीनामा दियो । त्यसपछि ३० साउनमा राजा त्रिभुवनले केही परामर्शदाताको सहयोग लिएर आफैं शासन चलाउने निर्णय गरेछन् । उनले जनरल केशरशमशेर, मेजर जनरल महावीरशमशेर, खड्गमान सिंह, लेफ्टिनेन्ट जनरल सुरेन्द्रबहादुर बस्न्यात र शारदाशमशेरलाई परामर्शदाता राखे ।
त्यो परामर्शदातृ सरकारले १ कात्तिक २००९ मा मनोरञ्जनका लागि लक्ष्मीपूजाको दिन बिहानदेखि भाइटीकाको भोलिपल्ट बिहानसम्म घरघरमा जुवा खेल्ने इजाजत दियो । यहाँ यो सन्दर्भ उठाउनुको तात्पर्य एक वर्षअघि विश्वेश्वरप्रसाद गृहमन्त्री भएको गृह विभागले ‘जनताको हितमा’ भनी जुवा बन्द गरायो । तर, राजाले नेतृत्व गरेको परामर्शदातृ सरकारले ‘मनोरञ्जनका लागि’ भनी तिहारमा ७२ घण्टा जुवा फुकायो । जुवाबारे निर्णय गर्दा ‘जनताको हित नगर्ने’ एउटा राजनीतिक नेता वा पार्टीको ठम्याइ र ‘मनोरञ्जनका लागि’ अर्को पक्षको ठम्याइ हेर्दा राजनीतिक पार्टी र कुलीनहरूको हेराइ अनि व्याख्याको अन्तर छुट्याउन सहयोग गर्छ कि भन्ने मेरो सारांश हो ।