त्यो बेला मेरो लेखले धेरैको मन छोएको रहेछ । एक दुई जना पुरुष पत्रकार साथीले त ‘तपाईंले के के लेख्नुभयो के के... गोबर र सोबरको घोल, अनि मैले पनि कपाल रंग्याउन छाडें’ भने ।
अचम्म त, समय धेरै बित्दा पनि कतिपयले मेरो कपालको रङ देखेरै मेरो पहिचान ठम्याउन सकेका छन् । अनि आक्कलझुक्कल कसैले त्यो लेख आफूहरूले पढेको र सम्झेको पनि सुनाउँछन् ।
मलाई सेतो हुँदै गरेको कपाल लामो पारेर नौलो फेशन चलाइदिन मन लागेको थियो, ‘लामो सेतो लहलहाउँदो कपाल’ भनेर विज्ञापनमा मेरै कपालको नमूना बन्ने गरी ! कपाल कुमसम्म लामो हुँदा मेरै अफिसकी हाकिमले बारम्बार ‘तिमी त हजुरआमा जस्तै देखियौ, नपाल कपाल !’ भनेकी थिइन् । त्यतिबेला मेरी जेठी नातिनी जन्मिसकेकी हुनाले जवाफ दिन्थें ‘म हजुरआमा नै त हो नि ! के फरक पर्छ र !’ तर जाडोयाम सकिएर गर्मीले छोप्दै गर्दा लम्बिंदै गएको कपालले मलाई सकसक हुनथाल्यो । जतिखेर पनि कपाललाई गुटमुट्याएर च्याप्न थालें । त्यसपछि लक्ष्य त्याग्दै कपाल छोटो राख्न थालें । नयाँ फेशन चलाउने मेरो धोको त्यहीं तुहियो !
मेरो कपालको रङबारे पनि अचम्मका प्रतिक्रिया सुन्न पाएकी छु । शुरूमा ‘ल है, आफू पनि बूढी देखिने भयौ, हामीलाई पनि बूढीको थान्कोमा पुर्याउन लाग्यौ !’ भन्ने आफन्तहरूले अब चाहिं ‘गज्जब स्मार्ट देखिएकी छौ’ भन्न थाले । कत्तिले त्यसलगत्तै ‘हामीलाई त आँट आउँदैन, हामीलाई सुहाउँदैन’ भन्छन् । एक दुई जनाले चाहिं ‘मैले पनि अलि महीना कपाल यत्तिकै छोड्दा आफन्तहरूले किन यस्तो गतिछाडा भएर हिंडेको, रंग मै किनेर ल्याइदिन्छु सम्म भने, अनि फेरि रंग्याउन थालें’ भनेका छन् ।
कालै आँखीभौं र चाउरी नपरेका गाला देखेर होला, मेरो उमेरबारे धेरै जना झुक्किन्छन् । कुरो गर्दै जाँदा ‘कति वर्ष पुग्नुभयो ?’ भनेर कत्तिले मुखै फोर्छन् । अरूहरू मेरो पहिचानबारे पनि अड्कल लगाउँछन् ।
कामको सिलसिलामा विदेशीहरूसित गाउँ पस्दा धेरैचोटि ‘यति वटा विदेशी आएका रैछन्, एउटीले त परर्रै नेपाली बोल्ने रैछ’ भनेको सुनेकी छु । कत्तिले ‘राम्रै नेपाली बोल्नु हुँदोरैछ, हामीले जस्तै । नेपाल बसेको धेरै भयो कि क्या हो ?’ भनेर सोध्थे । ‘होइन, म पक्का नेपाली हो’ भन्दा एक ठाउँमा त एउटी आमैले ‘उसो भए विदेशमा समुद्रको पानीले नुहाएर यस्तो कपाल पार्नुभएको रैछ !’ भनेर अड्कल समेत काटिन् ।
केही वर्षअघि एउटा डिपार्टमेन्ट स्टोरमा पैसा तिर्दैथिएँ । म पछाडि पर्खिरहेकी महिलाले शायद आफ्नी छोरी वा बुहारीलाई भनिन्, ‘देख्यौ ? हामीले चाहिं सबै लत्तो छोडिसक्यौं, ल हेर यिनलाई । यिनले टीका पनि लगाएकी छिन्, नाकमा फूली पनि छ !’ मैले उनलाई आफ्नो नामसहितको परिचय दिंदै आफू एकदमै ‘लोकल’ भएको बुझउन खोजें । तर पत्याइनन् । ठानिन् होला, ‘नाम पनि हामी जस्तै राखिसकिछ !’
कपालले गर्दा नेपाली नबुझने विदेशी ठानेर बाटोमा हिंड्दा कत्तिले मेरो अति भारी जीउ देखेर ‘आम्माऽमामा ! ल हेर यसको फर्सीभन्दा ठूलो ... !’ भनेर आपसमा ठट्टा गर्छन् । मैले उनीहरूलाई फर्केर ‘के भयो त ? मेरो जीउ यस्तै छ !’ भन्दा अक्क न बक्क पर्छन् ।
आफ्नो कपालको रङ फेरिएको भन्ने कहिलेकाहीं बिर्सिंदो रहेछ । हाम्रो अफिस अगाडिको क्याफेमा श्रवण शक्ति कम भएका वेटरहरू भएकाले अक्सर संकेतले कुरा बुझउन कोशिश गरिन्थ्यो । चिया अर्डर गर्दा ‘ब्ल्याक टी’ भनेर संकेत गर्न कुनै बेला मैले आफ्नो कपालतिर देखाएर अथ्र्याउन खोजेकी छु । वेटरले दूध दुहेको संकेत गर्दै ‘दूधवाला चिया ?’ भन्दा पो आफ्नो कपाल दूधिलो भइसकेको याद हुन्छ !
कपाल जति सेतो हुँदै गयो, यताउति गर्दा मानिसहरूले ‘दिदी’ बाट ‘आन्टी’, ‘आमा’, ‘मुवा’ र अब ‘बजै’ सम्बोधन गर्न थालेका छन् । रमाइलो लाग्छ ! पाकेको कपालको फाइदा पनि छ । ‘बूढो’ मान्छे देखेर बस वा कार्यालयमा धेरैले आफ्नो सीट दिन्छन्, सभाहरूमा अगाडिको सीटतिर बस्न संकेत गर्छन् !
सेतो कपाल अब मेरो पहिचान भइसकेको छ । एक किसिमले आफ्नो गहना जस्तै लाग्छ, चाँदी जस्तै कपाल । मेरो पाकेको कपाललाई सहर्ष स्वीकारेर मैले ठूलो झ्ञ्झ्टबाट मुक्ति पाएकी छु— बारम्बार कपाललाई रङरोगन गर्नबाट, र आफ्नो असली रूपलाई ढाकछोप गर्नुपर्ने बाध्यताबाट । मैले ऐनामा जे देख्छु, त्यो मेरो असली रूप हो ।