बौद्ध धर्म–दर्शनको प्रमुख विशेषतामा अनित्य, अनात्म, अनीश्वरवाद, अशाश्वतवाद आदि हुन् । तर, नेपाली लेखनमा यी कुरालाई पूर्णतया बेवास्ता गरिएको छ । बौद्ध विषयवस्तुका आधिकारिक प्रकाशनहरूको अभावमा यस्तो भएको हुन सक्छ । यो अवस्थामा बौद्ध धर्म–दर्शनसम्बन्धी आधिकारिक ग्रन्थ ‘त्रिपिटक’ नेपाली भाषामा अनुवाद भई प्रकाशनमा आउनु सुखद हो । यसअघि सम्पूर्ण ‘त्रिपिटक’ लाई नेपाल भाषामा अनुवाद गरिसकेका दुण्डबहादुर बज्राचार्यले पछिल्ला वर्षहरूमा नेपाली भाषामा अनुवाद गरिरहेका छन् ।
‘त्रिपिटक’ एउटै ग्रन्थ नभई तीन भागमा बाँडिएको र साना–ठूला ग्रन्थहरूको समुच्च नाम हो । बज्राचार्यले सूत्रपिटकअन्तर्गतको ‘दीघनिकाय’ र ‘मज्झ्मिनिकाय’ को नेपाली अनुवाद केही वर्षअघि प्रकाशनमा ल्याइसकेका छन् । बाँकी अनुवाद तथा अनुवादको संयोजन गरी उनी यस कार्यलाई पूर्णता दिने प्रयासमा छन् ।
त्रिपिटकको अनुवादका लागि पृष्ठभूमि बनाउन विभिन्न ग्रन्थ र पुस्तकहरू छापिने क्रम चलिरहेको छ । त्रिपिटक अनुवादक तथा परियोजना प्रमुख बज्राचार्यको संयोजनमा साढे १३ हजार पृष्ठको ‘बुद्धकालीन नेपाली विश्वकोश’ अहिले धमाधम छापिइरहेको छ । त्रिपिटककै आधारमा भिक्षु अमृतानन्दले लेखेको बुद्धकालीन ग्रन्थमालालाई नै विश्वकोशको रूप दिइएको हो ।
त्रिपिटकका विभिन्न ग्रन्थ तथा सूत्रहरूमा छरिएर रहेका चरित्रहरूलाई क्रमबद्ध मिलाएर विगतमा विभिन्न पुस्तक प्रकाशन भएका थिए । वि.सं. २०२८ मा ‘बुद्धकालीन ब्राह्मण भाग–१’ प्रकाशन भएको थियो भने त्यसको ६ वर्षपछि दोस्रो र तेस्रो भाग पनि निस्कियो । त्यहीबीच विभिन्न भागमा बुद्धकालीन गृहस्थी, बुद्धकालीन राजपरिवार, बुद्धकालीन परिव्राजक, बुद्धकालीन महिलाहरू, बुद्धकालीन श्रावक चरित, बुद्धकालीन श्राविका चरित, बुद्धकालीन ब्रह्मादिदेव, बुद्धकालीन प्रेतकथा, बुद्धकालीन विमानकथा तथा अनेक चरित्रहरूबारे ग्रन्थ प्रकाशित भएको थियो । विगतमा आनन्दकुटी विहार गुठीबाट प्रकाशित यी ग्रन्थहरू अप्राप्य भएपछि अहिले मुद्रण गर्न थालिएको हो ।
‘बुद्धकालीन नेपाली विश्वकोश’ पाटनस्थित वीर–पूर्ण पुस्तक संग्रहालयबाट पुनः प्रकाशन हुन लागेको हो । यही निजी सङ्ग्रहालयबाट त्रिपिटक ग्रन्थहरू विगत चार दशकअघिदेखि प्रकाशन हुँदै आएको छ । परियोजना प्रमुख बज्राचार्यका अनुसार त्रिपिटकको प्रकाशनअघि नेपाली पाठकलाई त्रिपिटक वाङ्मयसँग परिचित गराउन २७ भागको यो विश्वकोश निकाल्न लागिएको हो ।
‘त्रिपिटक’ ग्रन्थ मूलरूपमा पालि वा मागधी भाषामा छ । अनुवादकले तत्कालीन भाषाशैली तथा प्रस्तुतिको मौलिकतामै ध्यान दिएकाले आम पाठकले अध्ययनमा केही असहज महसूस गर्छन् । भिक्षु अमृतानन्दले पनि उक्त मौलिकता जोगाउँदै तर सर्वसाधारण पाठकलाई ध्यानमा राखेर ग्रन्थमाला प्रकाशन गरेकाले ‘बुद्धकालीन नेपाली विश्वकोश’ त्रिपिटक अध्ययनका लागि आधारभूमि जस्तै बनेको छ ।
बौद्ध धर्म–दर्शनको आधारभूत ग्रन्थका रूपमा ‘त्रिपिटक’ लाई मान्दा उत्साहित हुने र नाक खुम्च्याउने दुई प्रवृत्ति बौद्ध समाजभित्रै पाइन्छ । थेरवादी सम्प्रदायका व्यक्तिहरू त्रिपिटक मात्रै आधिकारिक र मौलिक ग्रन्थ भएको र अन्यलाई विकृति ठान्छन् भने महायानी बौद्धहरू यसलाई मात्र आधिकारिक बुद्धवचन मान्न नहुने जिकिर गर्छन् । तर त्रिपिटक तथा महायानी दुुवै ग्रन्थको अध्ययन गर्नेहरू यी दुईमा भेद देख्दैनन् । यो पंक्तिकार पनि त्रिपिटकमा निहित कुरालाई नै विस्तृत व्याख्या गर्ने क्रममा महायानी दर्शन र ग्रन्थहरूको रचना भएको मान्छ । यति महत्वपूर्ण त्रिपिटकलाई सर्वसाधारणका लागि ध्यानमा राखी प्रस्तुत गरिएको ‘बुद्धकालीन नेपाली विश्वकोश’ बौद्ध वाङ्मयमा नेपालको आफ्नै प्रकारको सिर्जना हो, जुन अन्य भाषामा पाइँदैन ।