२०-२६ माघ २०७५ | 3-9 February 2019

‘चार वर्षमा श्रीलंकाको आसपास पुग्छौं”

Share:
  

७ माघमा सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा नियुत्त गरेका सुनिलबाबु श्रेष्ठ भन्छन्, “अबको दुई वर्षभित्रै नयाँ इनोभेशन बजारमा ल्याउने गरी काम गर्छौं।”

यो ओहोदामा प्रवेश गर्दा तपाईंसँग के योजना छन् ?

म वातावरणीय विकास इञ्जिनियरिङको विद्यार्थी र योजनाकार भएकाले योजनाबद्ध ढंगले विज्ञान प्रविधिको विकासमा ध्यान दिन्छु । नास्टको हालको अवस्था अध्ययन गरेर दुई तीन महीनाभित्रै ‘स्टाटस पेपर’ तयार पार्छु । त्यसपछि हामी एकवर्षे र चारवर्षे रणनीतिक योजना बनाउँछौं ।

नास्टले मुलुकलाई सम्झने गरी केही दिन नसकेको अवस्थामा राज्यले कहिलेसम्म लगानी गरिरहने ?

त्यसै कारण मैले परिणाममुखी अनुसन्धानमा मात्रै लगानी गर्ने भनेको छु । अनुसन्धान कुन क्षेत्रमा गर्ने भन्नेमा पनि हामी स्पष्ट हुनुपर्छ । अहिले दिगो विकास र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा अनुसन्धान अघि बढाउनुपर्छ । जे मन लाग्यो, त्यही अनुसन्धान गरेर हुँदैन । विज्ञानलाई जनतासम्म पुर्‍याउनुपर्छ ।

विज्ञान तथा प्रविधिलाई जनतासँग कसरी जोड्ने ?

अब विज्ञान र प्रविधिका कुरा वैज्ञानिकले मात्रै बोल्ने होइन, यो जनतासम्म पुर्‍याउनुपर्छ । त्यसैले हामी ‘समाजका लागि विज्ञान’ भन्ने अभियान चलाउँदैछौं । खानेपानीमा पहुँच र शुद्धताका लागि, जलस्रोतबाट जनताले लाभ लिने अन्य विकल्प जस्ता विषयमा अनुसन्धान गर्न सकिन्छ । त्यस्तै सौर्य ऊर्जा, फोहोर व्यवस्थापन, कृषि र जडीबुटीको विकासमा नयाँ प्रविधिहरूको विकास गर्दा जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रविधि भित्र्याउनमै सीमित नास्टले इनोभेशनमा थप के गर्छ ?

हामी ‘लो इनोभेशन ट्र्याप’ मा फसिरहेका छौं । त्यसैले आविष्कारलाई प्रवद्र्धन गर्ने र अनुसन्धानलाई उत्पादनसँग जोड्ने कामका लागि ‘इनोभेशन फण्ड’ बनाउने कोशिशमा छौं । इनोभेटिभ युवाहरूलाई सहयोग गर्ने र बाटो देखाउने वातावरण तयार पार्छौं । दुई वर्षभित्र नयाँ उत्पादन बजारमा ल्याउने गरी काम गर्छौंं । अहिले हामी ‘ग्लोबल इनोभेशन इण्डेक्स’ मा १०८औं स्थानमा छौं । चार वर्षपछि कम्तीमा श्रीलंका (८८औं स्थान) को आसपास पुग्छौं भन्ने आशा छ ।

त्यसका लागि वित्तीय स्रोतको आवश्यकता होला नि !

सरकारले दिने बजेट बाहेक विभिन्न संघ–संस्थाले यसमा सहयोग गर्न सक्छन् । प्रदेश र स्थानीय सरकारसँग पनि सहकार्य गर्न सकिन्छ । अहिले जलवायु परिवर्तनका क्षेत्रमा पैसा छ, तर कसरी ल्याउने भन्ने प्रक्रिया स्पष्ट छैन । हामीले त्यो बाटो बनाउँछौं । निजी क्षेत्रसँग पनि सहकार्य गर्छौं ।

comments powered by Disqus

रमझम