२७ माघ - ४ फागुन २०७५ | 10-16 February 2019

क्याञ्जिङको यात्रा

Share:
  
- भरतबन्धु थापा

नेपाल आउने विदेशी पर्यटकले अन्नपूर्ण र सगरमाथा क्षेत्रपछि पदयात्राको लागि रोज्ने तेस्रो गन्तव्य हो, रसुवाको लाङटाङ क्षेत्रस्थित क्याञ्जिङ भ्याली । काठमाडौंबाट सबैभन्दा नजिक प्राकृतिक, सांस्कृतिक र रोमाञ्चक पदयात्राको मज्जा लिन सकिने भएकाले यो क्षेत्र बाह्यसहित आन्तरिक पर्यटकको रोजाइमा परेको हो ।

तस्वीरः भरतबन्धु थापा
लाङटाङ हिमाल ।

क्याञ्जिङ गुम्बाभित्रका चित्र ।
३९०० मिटर उँचाइमा रहेको क्याञ्जिङ भ्याली हिमाली दृश्यावलोकनका लागि प्रख्यात छ । लाङटाङ हिमालका साथै दोर्जे लाक्पा, जुगल, लिरुङ, चेर्गो री र घाङछेम्पो हिमाल हेर्न सकिने यो उपत्यकाबाट तिब्बतको हिमशृंखला पनि देखिन्छ । पुसदेखि फागुन पहिलो सातासम्म हिउँले सेताम्मे हुने यो क्षेत्रमा हिमालसँगै लेकाली जनजीवन र भौगोलिक बनावटले पर्यटकलाई मुग्ध पार्छ । क्याञ्जिङ भ्यालीबाट करीब साढे दुई घण्टा उकालो हिंडेपछि ४५०० मिटर उँचाइको भ्यू प्वाइन्ट क्याञ्जिङ री पुगिन्छ ।

लाङटाङ पदयात्राको अन्तिम बिन्दु क्याञ्जिङ भ्यालीको नाम यस क्षेत्रको धार्मिक एवम् ऐतिहासिक महत्वको क्याञ्जिङ गुम्बाबाट राखिएको हो । यो गुम्बा ७०० वर्षभन्दा पुरानो मानिन्छ । तर, जगेर्ना हुन नसक्दा गुम्बाभित्रका भित्ते चित्रहरू मेटिने अवस्थामा छन् । यो उपत्यका देशकै पहिलो याक चिज उत्पादन केन्द्र स्थापना भएको ठाउँ पनि हो । सन् १९५४ मा स्थापना भएको चिज कारखाना तीन वर्षअघिको भूकम्पले भत्काए पनि पुरानै अवस्थामा फर्कंदैछ ।

क्याञ्जिङ गुम्बा ।

४५०० मी. उँचाइको भ्यू प्वाइन्ट लाङटाङ री ।

कसरी पुग्ने ?

काठमाडौंदेखि क्याञ्जिङ भ्यालीको यात्राका लागि ९ दिन छुट्याउनुपर्छ । पहिलो दिन कलंकीबाट मोटरमा त्रिशूली बजार, राम्चे हुँदै धुन्चेसम्म पुग्न सकिन्छ । दोस्रो दिन धुन्चेदेखि केही समय गाडीमा र त्यसपछि पदयात्रा गरेर तल्लो स्याफ्रु पुगेर बास बस्ने । तेस्रो दिन भार्खु हुँदै ठूलो स्याफ्रु र चौथो दिन लामा होटल पुगिन्छ । पाँचौं दिन लामा होटलदेखि गुम्बा, लाङटाङ गाउँ हुँदै क्याञ्जिङ भ्याली पुग्न सकिन्छ । हिउँद बाहेकका समयमा यहाँ पर्यटकहरू ओइरिने भएकाले त्यस बेला जानुपरे होटलमा अग्रिम बुकिङ नगरे बास पाउन गाह्रो पर्न सक्छ । 

comments powered by Disqus

रमझम