चौडा र उज्याला सडकमा करीब ६० किलोमिटर लामो सुविस्तापूर्ण यात्रा १५ रिंगिट (रु.४५०) मै पूरा भयो । होटलको झयालबाट अलिक पर देखिने ट्विनटावर र त्यसको वरपर अग्लिइरहेझैं लाग्ने ब्याङ्कका भवनहरूले मलेशियाको अर्थतन्त्रबारे बोलिरहेका थिए । यी पूर्वाधार निर्माणमा नेपाली कामदारको पनि श्रम मिसिएको छ– योजना र सपना महाथिर मोहमदको भए पनि ।
मे १३ काण्ड
सन् १९५७ मा बेलायतको उपनिवेशबाट मुक्त भएको मलेशियाले स्वतन्त्रताका शुरूआती वर्षहरूमा जातीय राजनीतिका कारण सामाजिक द्वन्द्व खेप्नु पर्यो । कुल जनसंख्याको सानो हिस्सा ओगटेका चिनियाँहरू शहरी क्षेत्रमा र मलायको ठूलो हिस्सा ग्रामीण क्षेत्रमा बसोबास गर्ने हुँदा स्वास्थ्य, शिक्षा र आर्थिक क्रियाकलापमा चिनियाँको पहुँच बढी थियो । आर्थिक रूपमा पछाडि परेका म यमा आफू आदिवासी भएको घमण्ड थियो भने चिनियाँहरूमा सामूहिक शक्ति र धनको तुजुक थियो । निरन्तर कलहकै बीच सन् १९६३ मा मलाय, सिङ्गापुर, बोर्नियो र सरावक मिलेर मलेशियाको संघीय ढाँचा तयार भयो । यद्यपि जातीय द्वन्द्व चलिरहँदा जुलाई १९६४ मा मुसलमानहरूको पर्व मौलिदका बेला दक्षिणी क्षेत्रमा भएको हिंसात्मक क्रियाकलापले उग्र रूप लियो । अन्ततः सन् १९६५ मा सिङ्गापुर छुट्टै मुलुक बन्न पुग्यो । इतिहासबाट पाठ सिकेर सिङ्गापुर बहुसांस्कृतिक र बहुभाषिक मूल्यमान्यता अँगाल्दै सहनशील समाजको निर्माणतर्फ लाग्यो ।
सन् १९६९ को आम निर्वाचनबाट मलेशियामा सत्तारुढ अलायन्स पार्टी (यूनाइटेड मलेज् न्याशनल अर्गनाइजेशन, मलेयन चाइनिज एसोेसिएसन र मलेयन इन्डियन कंग्रेस मिलेर बनेको) ले डेमोक्रेटिक एक्सन पार्टीबाट दह्रो प्रतिस्पर्धा खेप्नु पर्यो । संघीय संसदमा बहुमत प्राप्त गरे पनि अलायन्स पार्टीले पेनाङ, केलन्तान र पेरक जस्ता महत्वपूर्ण राज्यमा हार बेहोर्यो । ११ र १२ मेमा क्वालालम्पुरमा डेमोक्रेटिक एक्सन पार्टीले निकालेको जुलूसमा जातीय नारा लागेपछि त्यो धेरै मलायका लागि सह्य भएन । जवाफस्वरुप १३ मेमा अलायन्स पार्टीले आयोजना गरेको र्याली दंगामा रूपान्तरण भयो । दंगा बढ्दै जाँदा संकटकाल घोषणा गरियो । नवनिर्वाचित सरकारको चौतर्फी विरोध भएपछि संसद निलम्बन भयो भने तीन महीनापछि संसदको पुनस्र्थापनासँगै प्रधानमन्त्री तुन्कु अब्दुल रहमानले राजीनामा दिए र उपप्रधानमन्त्री तुन अब्दुल राजाकको नेतृत्वमा नयाँ सरकार गठन भयो ।
समाजको ठूलो हिस्सा गरीबी र अज्ञानताको दलदलमा रहँदा विकास र समृद्धि हासिल हुँदैन । मे १३ को विस्मयपश्चात सत्तारुढ दलले समग्र विकासका लागि समाजको तल्लो तहलाई माथि नल्याई धरै छैन भन्ने महसूस गर्यो । फलतः सन् १९७१ मा मलेशिया विकासको २० वर्षे नयाँ आर्थिक नीति तयार पारियो । सन् १९९० सम्ममा निरपेक्ष गरीबी निवारण गर्ने लक्ष्य बोकेको उक्त नीतिले मलायको जीवनस्तर उकास्न उनीहरूमा पूँजी, जमीन, रोजगारी, आर्थिक स्रोत आदिको पहुँच बढाउने व्यवस्था ल्यायो । त्यसबेला ५२ प्रतिशत जनता गरीब रहेकोमा यो संख्यालाई सन् १९९० सम्ममा २० प्रतिशत भन्दा तल झर्ने योजना बनाइयो । जमीन र भौतिक सम्पत्तिमा मलायको स्वामित्व बढाउने, विश्वविद्यालय प्रवेश गराउने र प्रशासनिक क्षेत्रमा कोटा निर्धारण गर्ने काम भयो । नभन्दै सन् १९९० सम्म आइपुग्दा गरीबी २० प्रतिशतको हाराहारीमा झ्र्यो ।
महाथिरका २२ वर्ष
मे १३ को जातीय दंगापछि महाथिर मोहमदले मलेशियाको जातीय इतिहास र भविष्यको विकासको अवधारणा समेटिएको पुस्तक लेखे, द मलाय डिलेमा । पेशाले डाक्टर उनै महाथिर सन् १९८१ मा देशको प्रधानमन्त्री भए । शुरूआती दिनेदेखि नै सन् १९७१ मा तर्जुमा गरिएको नयाँ आर्थिक नीतिलाई सुदृढ बनाउँदै लगेका उनले मलेशियाको विकासमा अभूतपूर्व योगदान दिए । बेलायतमा मार्गरेट थ्याचर र अमेरिकामा रोनाल्ड रेगनको नीतिगत ऐक्यबद्धताको प्रभावका कारण उनले उद्योगधन्दाहरूको निजीकरण गरे, जसले राम्रो परिणाम दियो ।
सन् १९९० मा नयाँ आर्थिक नीतिको म्याद सकिएपछि महाथिरले विकासको आफ्नै अवधारणा अघि सार्ने मौका पाए । त्यसको एक वर्षमै उनले तीस वर्षभित्र मलेशियालाई पूर्ण विकसित मुलुक बनाउने लक्ष्यसहितको ‘भिजन २०२०’ नीति ल्याए । यसलाई समग्र राष्ट्रिय विकास नीतिका रूपमा अघि बढाइयो । पूर्वाधार विकासमा निकै महत्वाकांक्षी देखिएका उनले सिलिकन भ्यालीकै अवधारणामा क्वालालम्पुरको दक्षिणी भेकमा प्राविधिक उद्यम विकासका लागि मल्टिमिडिया सुपर कोरिडोरको स्थापना गरे । पुत्रजायालाई सार्वजनिक एवम् प्रशासनिक सेवा क्षेत्रको रूपमा विकास गरियो ।
महाथिरको नेतृत्वमा बनेको ठूलो पूर्वाधारमध्येको थाइल्याण्डदेखि सिंगापुरसम्म जोड्ने उत्तरदक्षिण राजमार्ग हो । सन् १९९४ मा निर्माण सम्पन्न कुल ७७२ किलोमिटर लामो यो राजमार्ग निर्माणको काममा ढिलासुस्ती हुन थालेपछि निजी क्षेत्रलाई दिइएको थियो । सरकार र मित्सुबिसी कम्पनीबीच साझेदारी गरेर मलेशियाली कार प्रोटोन उत्पादन थालियो । जुन एक समयमा दक्षिणपूर्व एशियाकै सबैभन्दा ठूलो कार उत्पादनकर्ता बन्न पुग्यो ।
सन् १९९७ मा एशियाली आर्थिक मन्दीको प्रभाव मलेशियामा पनि पर्यो । ऊर्जा विकासका लागि बृहत् बकुन ड्याम निर्माणाधीन रहेकै बेलाको यो मन्दीले अन्य पूर्वाधार निर्माणको काम पनि ठप्प हुन पुग्यो । मुद्रा अवमूल्यनको मार खेपिरहेको मलेशियाबाट विदेशी लगानीकर्ता भाग्न थाले । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आग्रहमा सरकारी खर्च कटौती र ब्याजदरमा वृद्धि गरिएपछि आर्थिक अवस्था झ्न् बिग्रिन थाल्यो । त्यसपछि महाथिरले आईएमएफको सुझव विपरीत सरकारी खर्चमा वृद्धि गरे । डलरसँग रिंगिटको विनिमय दर स्थिर बनाए । यसको परिणाम तुरुन्तै देखिन थाल्यो– मलेशिया अन्य छिमेकीहरूको दाँजोमा आर्थिक संकटबाट चाँडै पार पाउन सफल भयो । उनका लागि यो अर्को राजनीतिक विजय थियो ।
पश्चिमा मुलुकसँग नजिक रहे पनि आवश्यक पर्दा उनीहरूको आलोचना गर्नबाट महाथिर कहिल्यै डराएनन् । १६ जुलाई १९८१ देखि ३१ अक्टोबर २००३ सम्म २२ वर्षसम्म निरन्तर महाथिरको नेतृत्वमा मलेशियाली अर्थतन्त्रमा कायापलट भयो । सन् १९८० मा करीब २४ अर्ब डलर रहेको मलेशियाको कुल गार्हस्थ्य उत्पादन सन् २००३ मा ११० अर्ब डलर नाघ्यो ।
नेपाली महाथिरको खोजी
पछिल्लो समय मलेशियाको अव्यवस्थित अर्थतन्त्र, शक्ति र धनमा केही सीमित वर्गको बढ्दो हालीमुहालीलाई नियालिरहेका महाथिर फेरि निर्वाचित भएर देशको नेतृत्व सम्हालिरहेका छन् । ९२ वर्षीय यी प्रधानमन्त्रीले कार्यभार सम्हाल्नेवित्तिकै २५ वर्षका युवालाई मन्त्री बनाए ।
विकास आफैंमा निरन्तर प्रक्रिया हो । भनिन्छ, रोम एक दिनमै तयार भएको थिएन । तर, छिटै हुनसक्ने काम पनि ‘विकास एक्कासी हुँदैन’ भनेर नगर्नु चाहिं यो उक्तिको तात्पर्य होइन । हाम्रा राजनीतिज्ञहरूले बुझ्ेकै हुनुपर्छ, जनतामा तीव्र विकासको आकांक्षा छ । देशमा केही भएन भनेर निराश भई पलायन भएका युवा पनि केही त होला र फर्किउँला भन्ने आशा सँगालिरहेका छन् । तर यो अविच्छिन्न आशाका बाबजूद पनि मुलुकमा विकासले गति लिनसकेको छैन ।
खनेर छोडेका ग्रामीण सडक ग्राभेल हुँदैनन् । ग्राभेल सडक पीच हुन वर्षौं लाग्छ । माझ् शहरमै परेका खाल्डामा अल्झ्एिर नागरिकको ज्यान जाँदा पनि खाल्डा पुरिंदैनन् । हैदरावादको अमला, जमलमा बिक्री भइरहँदा जुम्लाको स्याउ बगानमै कुहिन्छ । हुन नसकेका यी कामलाई लिएर नेतृत्वतर्फ औंला सोझयाएको राम्रो नदेखिएला तर, अन्य राष्ट्र खरायो झैं समृद्धि पथमा दौडिरहँदा हाम्रो गति कछुवाको हुने छुट छैन ।
सपना देख्नुपर्छ, देखाउनुपर्छ । नेतृत्वले नै हो सपना देखाउने, आशा जगाउने, उत्प्रेरित गर्ने । तर, उचित प्राथमिकताका साथ तयार गरिएको कार्ययोजना, प्रष्ट निर्देशन र परिणाममुखी दक्षताको प्रयोग विना सपना पूरा हुँदैनन् । हावादारी सपनाले निराशा झ्न् बढाउँछ । इतिहासमा सधैं महाथिर जन्मँदैनन्, हरेक मुलुक र समयका आ–आफ्नै विशेषता हुन्छन् र ती विशेषताहरू महाथिर बन्नका लागि अनुकूल नहुन पनि सक्छन् । हाम्रा नेता हाम्रै मुलुकका, हामी बीचका र अझ् अहिले नेतृत्व पंक्तिमै रहेकाहरू हुन् । उनीहरूबाटै दक्षता, जिम्मेवारी र कार्यकुशलता अपेक्षित छ । तर, क्वालालम्पुर सम्मेलनको समाप्तिपछि होटलको रूफ–टपबाट देखिएको ट्विनटावरको दृश्य र छेवैको मनमोहक केएलसीसी पार्कले हाम्रो ढलेको धरहरा र सुकेको रानीपोखरी सम्झइदियो । र, झवाट्टै मेरो मनले महाथिरको नेपाली रूप खोजी गर्न थाल्यो ।