२७ माघ - ४ फागुन २०७५ | 10-16 February 2019

सफा ऐना

Share:
  

हामी झ्यालका सिसा, सिसाका फर्निचर, बाथरुम र ड्रेसिङ रुमका ऐना बारम्बार सफा गरिरहेका हुन्छौं । तर पनि यी वस्तु सफा र चम्किलो बनाइराख्न गाह्रो पर्ने गर्छ । घरका कुनाकानीसम्म सफा भए पनि ऐनामा दाग छ भने त्यसले समग्र चमकलाई फिका तुल्याउने भएकाले यस्ता सामग्री सरसफाइको विशेष महत्व हुन्छ ।

सामान्यतया हामी सिसा पुछ्न साधारण कपडा प्रयोग गर्छौं, तर सिसा सफा हुनुको साटो कपडाको झुस टाँसिएर झन् फोहोर हुन्छ । त्यसैले सिसा सफा गर्न माइक्रोफाइबर कपडा प्रयोग गर्नु उपयुक्त हुन्छ । बजारमा सहजै पाइने यस्तो कपडाले सिसामा झुस टाँसिंदैन र कोरिने सम्भावना पनि हुँदैन । माइक्रोफाइबर कपडा छैन भने सफा सूती कपडा पनि प्रयोग गर्न सकिन्छ । सिरकको पुरानो तर सफा खोल, टि–सर्ट वा गञ्जीको कपडा पनि उपयुक्त हुनसक्छ । त्यस्तै न्यूजप्रिन्ट पेपर (पत्रिका) ले पुछ्दा पनि हुन्छ ।

सामान्य धूलो जमेको सिसालाई सफा कपडाले पुछ्दा चम्किलो हुन्छ । तर अलि बढी नै फोहोर छ भने पानीमा एकचौथाइ ह्वाइट भिनेगर मिसाइएको घोलले पुछ्दा सिसा सफा हुन्छ । ऐनामा चिसो छ भने पानीको साटो टेलकम पाउडरले सफा गर्नुपर्छ । सिसा वा ऐनालाई मनतातो पानीमा न्यूजप्रिन्ट पेपर भिजाएर पुछ्दा पनि सफा हुन्छ । तर, पत्रिकाको मसी सिसामा लाग्न सक्नेमा भने सावधान हुनुपर्छ ।

यदि सिसामा चिल्लो दाग लागेको छ भने दुई कप पानीमा एकचौथाइ कप भिनेगर र आधा कप भाँडा माझ्ने झोल डिटर्जेन्ट मिसाएर पुछ्दा त्यस्तो दाग सहजै हट्छ । यस्तो घोलमा दुई चम्चा रबिङ अल्कोहल (बजारमा पाइने हात सफा गर्ने अल्कोहल) मिसाउँदा दाग हटाउन अझ सहज हुन्छ ।

लेग्रा लागेको र धुम्मिएको ऐना छ भने सेभिङ क्रिम (सेभिङ जेल होइन) ले पुछ्दा सफा हुन्छ । सिसाका फर्निचरहरुमा कागतीको रसले पुछ्दा सफा हुन्छ । त्यस्तै, कोरिएको सिसाका मसिना खत सेतो टुथपेस्टले सफा गरेर हटाउन सकिन्छ ।

सिसा पुछ्ने पानी सफा हुन जरुरी छ । डिस्टिल्ड वाटर प्रयोग गर्न सकिंदैन भने फिल्टर गरिएको पानी प्रयोग गर्नुपर्छ । नत्र पानीमा रहेका खनिजका कणहरुले दाग लाग्ने सम्भावना हुन्छ । सिसामा कडा दाग वा कडा पानीको दाग बसेको छ भने भिनेगरले सफा गर्दा हट्छ । सिसा वा ऐनाको फ्रेमको चार कुना सफा गर्न टुथब्रस वा कटन स्वाब उपयुक्त हुन्छ ।

सिसा सफा गर्न घरमा बनाइएको घोल वा बजारमा उपलब्ध झोल सिसामा लगाइसकेपछि तुरुन्तै सुक्खा टालोले पुछ्नुपर्छ, नभए दाग बस्ने सम्भावना हुन्छ । त्यस्तै, झ्यालको सिसा पुछ्दा एकातर्फ ठाडो तरिकाले पुछिएको छ भने अर्कोतर्फ तेर्सो पुछ्नुपर्छ । यसो गर्दा दाग बाहिर लागेको हो वा भित्र स्पष्ट हुन्छ ।

comments powered by Disqus

रमझम