२७ माघ - ४ फागुन २०७५ | 10-16 February 2019

पाटनको उत्कृष्ट कला भाइदेगः

Share:
  
- गौरीबहादुर कार्की
चौतारा भगीरथ भैयाको कृतिलाई नागरिक स्तरबाटै जीवन्त बनाएर उनलाई श्रद्घाञ्जली दिने काममा जुटेको छ, सांस्कृतिक सम्पदा संरक्षण समूह, पाटन।

मोनिका देउपाला
हाल पुनर्निर्माण भइरहेको भाइदेगःको मन्दिर
अहिले पाटन मंगलबजारस्थित ठूलो घण्टाबाट पश्चिमतर्फ हेर्दा एउटा संरचना पुनर्निर्माण भइरहेको देखिन्छ ।

तत्कालीन चौतारा अर्थात् प्रधानमन्त्री भगीरथ भैयाले बनाएको भाइदेगः मन्दिरको पुनर्निर्माण भइरहेको हो । पाटनका राजा सिद्धिनरसिंह मल्लको शेषपछि उनका छोरा श्रीनिवास मल्लले फर्पिङ निवासी सर्वसाधारण नागरिक भगीरथलाई चौतारा पदमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीलाई त्यतिबेला चौतारा भनिन्थ्यो । भगीरथको योग्यताको कदर गर्दै श्रीनिवास मल्लले आफू र भगीरथ बीच भिन्नता नरहेको उल्लेख गरेको अभिलेख मच्छिन्द्र बहाल टोलमा छ ।

भगीरथ भैयाले ने.सं. ७६४ मा पाटन दरबार परिसरमै उमामहेश्वर स्थापना गरेर लामो धर्मशाला (सत्तल) बनाए । अचेल त्यो धर्मशालालाई लामोपाटी भनिन्छ । विक्रम सम्वत् १७३५ मा दरबारको अगाडि पश्चिमतर्फ विश्वनाथको तीनतले छत्रे (प्यागोडा) शैलीमा मन्दिर बनाए । त्यो मन्दिर दरबार परिसरकै दोस्रो अग्लो मन्दिरमा गनिन्थ्यो । नेवारी भाषामा मन्दिरलाई ‘देगल वा देगः’ भनिन्छ । अचेल यो मन्दिरलाई उनै भगीरथ भैयाको नामबाट भाइदेगः, भैया देगल, भाइदेवल पनि भनिन्छ ।

मुगल शासक औरङ्गजेबले विक्रम सम्वत् १७२६ (सन् १६६९) मा नेपालीहरूको समेत पवित्र तीर्थ काशी (बनारस) को विश्वनाथ मन्दिर भत्काइदिएका थिए । विश्वनाथ मन्दिर भत्केको खबरले नेपालमा पनि चिन्ता फैलिएछ । त्यसको ९ वर्षपछि आजभन्दा ३४० वर्ष अगाडि श्रद्धालुले पाटनमै विश्वनाथको दर्शन पूजन गर्न सकुन् भनेर चौतारा भगीरथ भैयाले यो मन्दिर बनाइदिएका हुन् । भत्काइएको काशीको विश्वनाथको मन्दिरको विकल्पमा उपमहादेशमै अर्को मन्दिर बनाइएको यो पहिलो घटना मानिन्छ ।

मल्लकालमा मन्दिर बनाउने क्षमता अद्भुत र उत्कृष्ट थियो । १७औं शताब्दीमा बनेको सुन्दर कलाकृति २५५ वर्षपछि १९९० सालको महाभूकम्पमा ढल्यो । त्यसपछिको पुनर्निर्माणमा तीनतले छत्रे शैलीको सट्टा एकतले गुम्बज शैलीमा शिवलिङ्ग मात्र छोप्ने गरी बनाइयो । पाटन दरबार क्षेत्रको अति महङ्खवपूर्ण शान र सौन्दर्य लोप गराइयो ।

हाम्रा पुर्खाले छाडेर गएको त्यो अमूल्य सम्पत्तिको पुनर्निर्माण किन नगर्ने ? अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भनी पाटनका सम्पदापे्रमीहरू तातेछन् । र, सम्पदाविद् सत्यमोहन जोशीको संरक्षकत्वमा सांस्कृतिक सम्पदा संरक्षण समूह, पाटन खडा गरियो ।

भाइदेगः मन्दिरः १९८६ सालमा र १९९० सालको भूकम्पले भत्काएपछि गुम्बज आकारमा (तल) ।

मन्दिर शुरूकै स्वरुपमा निर्माण गर्नका लागि त्यसको चित्र खोजिरहेका सम्पदाप्रेमीले १९९० साल अगाडिको भाइदेगः मन्दिरको स्वरुप देखिने तस्वीर फेला पारेका छन् । छत्रेशैलीको मन्दिर, मन्दिरको भुइँतलाको कलाकारिता देखिने चित्र लगायतका तस्वीरहरूले मन्दिरको वास्तुशैली, गजुर, बुट्टे टुँडाल, थाम, झिगटीको छाना आदि कलात्मक स्वरुप देखाउँछन् । अहिले परम्परागत शैली र स्वरुपमा मात्र होइन, निर्माण सामग्री समेत काठ, दाची र मा अपा भनिने परम्परागत ईंटा, सुर्की, माटो प्रयोग गरेर भाइदेगःको पुनर्निर्माण गरिंदैछ ।

जङ्गबहादुरका पालामा बेलायती मिसनमा आएका सर्जन हेनरी एम्ब्रोस ओल्डफिल्डले बनाएको मन्दिरको चित्रकला पाइएपछि मौलिक स्वरुपमै पुनर्निर्माण गर्न सजिलो भएको छ । ओल्डफिल्ड आफैं कुशल चित्रकार र कलाका पारखी थिए । उनले नेपाली चित्रकार राजमान सिंह लगायतबाट विभिन्न मन्दिरका चित्र बनाउन लगाएका थिए । हेनरीको चित्रकलाले मन्दिरको भुईं तलाको थाम, निदाल, टुँडालको बुट्टा कस्तो थियो भन्ने प्रष्ट पारेको छ । यी ओल्डफिल्ड बेलायती शासनका बेला भारतको राजधानी कलकत्तामा चार वर्षको सेवापछि नेपाल सरुवा गरिएका थिए । १५ वर्ष बढी नेपाल बसेका यिनले दरबार, मन्दिर, सांस्कृतिक सम्पदा आदिका धेरै चित्र बनाए ।

त्यस्तै १९८६ सालतिर खिचिएको तस्वीर जर्मनीका फिलिक्स ब्राण्डिटको संकलनमा फेला परेकाले मन्दिरको पुरानो स्वरुप पत्ता लगाउन झन् सजिलो भएछ । त्यो तस्वीरले मन्दिरको शुरूको आकार र अवस्थिति पहिचान गरी डिजाइन गर्नलाई सहयोग पुर्‍यायो । यो तस्वीर धेरै सफा नभए पनि काठको थामको बुट्टा देखिने हुँदा ओल्डफिल्डको चित्रको पुष्ट्याईं गरेको छ ।

पुरानो मन्दिरको २० वटा टुँडाल पाटन संग्रहालयमा सुरक्षित पाइएपछि त्यही टुँडालको आधारमा मन्दिरको आकृति र नापो निर्धारण गर्न सजिलो भएको सम्पदाविद्हरू बताउँछन् ।

हेनरी एम्ब्रोस ओल्डफिल्डले १९१० सालमा कोरेको भाइदेगः मन्दिरको भुईंतलाको कलात्मक चित्र ।

१९१० सालमा हेनरी ओल्डफिल्डले हातले कोरेको बेलायती म्युजियमबाट प्राप्त चित्र भने बेजोड छ । विदेशीको आँखा र कलमले यो मन्दिरका टुँडाल, थाम, झ्याल आदिका बुट्टा तस्वीर खिचेझैं कोरेका छन् ।

हाम्रा अधिकांश मन्दिरका प्रत्येक टुँडालमा अलग–अलग देवी–देवताका अलग मुद्राको चित्र कुँदेको पाइन्छ । यो मन्दिरमा पनि अलग–अलग मुद्राका अलग–अलग चित्र रहेको ओल्डफिल्डको चित्रबाट देखिन्छ । ईंटाको गारोको बनावट, बुट्टा काटेको काठको तह–तह कार्नेस यो मन्दिरको अर्को महङ्खवपूर्ण कला हो । दुई थामको बीचमा बुट्टे तोरण समेत रहेको तस्वीरमा देखिन्छ । जमीनमाथि पेटीको तहको गारो ठाउँठाउँमा चर्केको समेत ओल्डफिल्डले चित्रमा उतारेका छन् । यो चित्र र पाटन दरबारको भण्डारखालमा फेला परेको १७ टुँडाल बीच तुलना गरे पनि चित्रकला कति जीवन्त रहेछ भन्ने थाहा भइहाल्छ ।

चौतारा भगीरथ भैया शूरवीर लडाका मात्र थिएनन्, कला, सम्पदा र विकासपे्रमी पनि थिए भन्ने कुरा यिनले बनाउन लगाएका मन्दिर लगायतका सम्पदाबाट पुष्टि हुन्छ । उनले फर्पिङ शेषनारायणमा पनि मन्दिर, सत्तल बनाएका थिए । यिनी १६ वर्षसम्म पाटनको चौतारा रहे ।

अब बन्ने भाइदेगः मन्दिरको नमूना चित्र ।
राजा श्रीनिवास मल्ललाई पदच्युत गरेर उनका छोरा योगनरेन्द्र मल्ल १७४१ पुसमा राजा भए । र, प्रधानमन्त्री भगीरथ भैया नेपाल दरबारको परम्परागत षड्यन्त्रको शिकार भए । नयाँ राजाले यिनको क्षमता चिन्न सकेनन् । अर्को वर्ष भदौमा यी महान लडाकू र सम्पदापे्रमी, राजभक्त चौताराको भीम मल्लको झैं दरबारमै निर्ममतापूर्वक हत्या भयो ।

यिनै चौतारा भगीरथ भैयाको १७औं शताब्दीको अमर कृतिलाई जीवन्त बनाएर उनलाई श्रद्धाञ्जली दिने काम सांस्कृतिक सम्पदा संरक्षण समूह, पाटन ले गरिरहेको छ । यो पुनीत कार्यमा यथोचित सहयोग पुर्‍याउने काम हुन सकेमा नेपाली कला र सम्पदाको संरक्षणमा टेवा पुग्नेछ ।

comments powered by Disqus

रमझम