२७ माघ - ४ फागुन २०७५ | 10-16 February 2019

उत्साहको तस्वीर

Share:
  
- रामेश्वर बोहरा
युएई विरुद्घको वानडे र टी–२० अन्तर्राष्ट्रिय शृंखला जितले नेपाली क्रिकेटले लामो समयदेखि प्रतीक्षा गरिरहेको ‘बेन्च स्ट्रेन्थ’ बढ्ने सम्भावना देखाएको छ।

१० ओभरमा सीमित गरिएको खेलमा १०५ रनको लक्ष्य पछ्याएको युनाइटेड अरब इमिरेट्स (यूएई) ले ४ ओभरमा एक विकेट नोक्सानीमा ५१ रन जोडेको थियो । २४ बलमा ५१ रन बनाइसकेको युएईलाई बाँकी ३६ बलमा ५४ रन मात्र आवश्यक थियो । हातमा पूरै ९ विकेट थिए । युएई जिततर्फ अग्रसर थियो भने नेपाल दबाबमा । त्यो हारबाट नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रिय शृंखला नै गुमाउँथ्यो । क्रिजमा ११ बलमा १९ रन बनाएका गुलाम शब्बर र ९ बलमा १८ रन बनाएका शाइमन अनवर थिए । कप्तान पारस खड्काले बलिङको जिम्मा अविनाश बोहरालाई थमाए ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका अविनाशको पहिलो बलमै शब्बरले दुई रन लिए, दोस्रो बलमा चौका हाने । तेस्रो बल डट भएपछि आत्मविश्वास केही बढ्यो, लगत्तै उनले ‘फूल लेन्थ’ बलमा खतरनाक देखिएका बायाँहाते ब्याट्सम्यान शब्बरलाई बोल्ड गरे । ७ रन मात्र दिएको उनको त्यही ओभरले युएई दबाबमा पर्‍यो । शुरुआती ओभरमा २० रन खर्चेका सन्दीप लामिछानेले लगत्तैको ओभरमा विकेट निकाले । विकेटविहीन रहेका करण केसीले पनि त्यसपछि लगातार दुई विकेट झारे । नवौं ओभरमा बलिङ गर्न आएका अविनाशले ९ रन खर्चेर क्रिजमा सेट भइसकेका मोहम्मद बुटालाई उपकप्तान ज्ञानेन्द्र मल्लबाट क्याचआउट गराए । युएईले १० ओभरमा ९० रन मात्र बनाउन सक्यो । १४ रनले यो खेल जितेको नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि जित्यो । निर्णायक यो खेलमा २ ओभरमा २ विकेट लिने क्रममा १६ रन खर्चेका अविनाश तीन खेलको शृंखलामा सर्वाधिक ६ विकेट लिएसँगै ‘प्लेयर अफ द सिरिज’ चुनिए ।

युएई विरुद्ध वानडे र टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको नेपाली क्रिकेट टोली ।

भारतको सिमलामा जन्मे–हुर्केका सल्यान, चाख्लीघाटका अविनाश (२१) यो शृंखलाअघि नेपाली क्रिकेटमा परिचित नाम थिएनन् । बुबाआमा सिमलाको स्याउ फार्ममा काम गर्थे, दुई दिदी र दुई बहिनीसँगै हुर्कने क्रममा उनले क्रिकेट त्यहीं सिके । उनी भारतीय सेनामा भर्ती हुन चाहन्थे, तर प्रयास सफल भएन । चार वर्षअघि दिदीको विवाहमा नेपालगञ्ज आउँदा क्रिकेटको माहोल देखेर उनको मन फेरियो । उनी नेपालगञ्जमा सानिमाको घरमा बसेर क्रिकेट खेल्न थाले । छोटो समयमै उनले नेपालगञ्जको क्षेत्रीय टीमबाट अन्डर–१९ प्रतियोगिता खेले, नेपालगञ्जकै टीमबाट सिनियर प्रतियोगिता पनि खेले । “उसको बलिङ श्रीलंकाका लसिथ मलिङ्गाको जस्तो थियो, त्यो शैली बिगार्न हुँदैन भनेर मैले उसको फिटनेसमा मात्र जोड दिएँ” अविनाशलाई शुरुदेखि प्रशिक्षण दिएका क्रिकेट प्रशिक्षक दीपेन्द्रप्रताप सिंह भन्छन्, “एक ओभरमा चार बल पर्फेक्ट योर्कर हाल्न सक्ने उसको खूबी छ । त्यही खूबीले तत्कालै अण्डर–१९ क्याम्पमा पर्‍यो, तर राष्ट्रिय टीममा पर्न किन यति समय लाग्यो, मैले बुझेको छैन ।”

अन्तर्राष्ट्रिय ‘डेब्यू’ प्रतियोगितामै शानदार प्रदर्शन गरेपछि अविनाशको चर्चा ह्वात्तै चुलिएको छ । भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सात विकेट लिएसँगै उनले राष्ट्रिय टीममा प्रवेश पाएका थिए । युएई विरुद्धको वानडे शृंखला खेल्न नपाए पनि पहिलो पटक अवसर पाएको टी–२० शृंखलामा त्यस्तो छाप छाडे, जसबाट राष्ट्रिय टीममा उनको स्थान सुरक्षित झैं बनेको छ । औसत १३० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्ने उनको बेजोड शैलीले नेपाली टीममा तीव्र गतिका बलरको ‘स्ट्रेन्थ’ बढाएको छ । “अन्तिम खेल १० ओभरमा झारिएको भए पनि हामीले राम्रो स्कोर बनाएका थियौं, युएईलाई प्रति ओभर १०.५ को रनरेट आवश्यक भएकाले डट बल मात्र फाल्ने प्रयास गर्दा पनि विकेट आउँछ भन्नेमा हामी ढुक्क थियौं” अविनाश भन्छन्, “मुख्य प्रशिक्षक सहित सबैले आफूलाई जस्तो सहज लाग्छ, त्यस्तै बल फ्याँक भनेर हौसला दिनुभयो, दबाबरहित भएर बलिङ गर्दा लय पनि मिल्दोरहेछ ।”

टी–२० शृंखलाका सर्वोत्कृष्ट खेलाडी अविनाश बोहरा ।

‘बेन्च स्ट्रेन्थ’ मा आशा

पहिलो पटक आईसीसीको औपचारिक वानडे र टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको नेपालले युएईमा दुवै शृंखला आफ्नो पक्षमा पार्‍यो । तीन–तीन खेलका दुवै प्रतियोगितामा पहिलो खेल हारेर पनि नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो । वानडे शृंखला जिताउन फेरि एक पटक कप्तान पारस खड्काको नेतृत्वदायी भूमिका रह्यो । निर्णायक तेस्रो वानडेमा २५५ रनको कठिन लक्ष्य पार गर्ने क्रममा पारसले १०९ बलमा बनाएको ११५ रन अविस्मरणीय रह्यो । दोस्रो वानडेमा ५ विकेट लिएका सोमपाल कामी वानडे अन्तर्राष्ट्रियमा पाँच विकेटको कीर्तिमान रच्ने पहिलो नेपाली खेलाडी बने । अन्तिम टी–२० मा उपकप्तान ज्ञानेन्द्र मल्लले लिएका तीन वटा शानदार क्याचबारे अझैसम्म क्रिकेटप्रेमीमाझ चर्चा भइरहेको छ ।

तर, नेपाली क्रिकेट टोलीको युएई भ्रमणका क्रममा देखापरेको सबभन्दा आशलाग्दो पक्ष हो– नयाँ अनुहारहरूको शानदार प्रदर्शन । डेब्यू प्रतियोगिता खेलिरहेका अविनाश, सन्दीप जोरा र पवन सर्राफ हुन् या राष्ट्रिय टीममा यसअघि नै ठाउँ बनाइसकेका रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी लगायतका खेलाडी, नेपाली क्रिकेट टीमले फैलिने पर्याप्त सम्भावना भेटेको छ । दोस्रो वानडेमा ५८ बलमा ५५ रन बनाएका १७ वर्षीय रोहितकुमार पौडेलले वानडे अन्तर्राष्ट्रियमा सबभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाए ।

टी–२० अन्तर्राष्ट्रियमा सबभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाएका सन्दीप जोरा ।
दोस्रो टी–२० मा नेपालले १०८ रनको लक्ष्य पछ्याइरहँदा फेरि एकपल्ट ब्याटिङ धर्मरायो । लगातार विकेट गुमिरहेका बेला दीपेन्द्रसिंह ऐरीले पारी सम्हाल्ने र ४१ बलमा नटआउट ४७ रन बनाएर नेपाललाई जितसम्म डोर्‍याए । उनलाई पवन सर्राफले २५ बलमा १८ रन बनाएर बलियो साथ दिए । यो खेलमा नेपाललाई सहज लक्ष्य दिलाउन अविनाशले चार ओभरमा २० रन खर्चेर युएईका तीन विकेट झारेका थिए । एक हिसाबले यो खेलको नतिजा पूर्ण रूपमा नयाँ अनुहारको प्रदर्शनमा निर्भर रह्यो । पहिलो टी–२० मा नेपाल २१ रनले पराजित भयो, तर डेब्यू अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका १७ वर्षीय सन्दीप जोराले ४६ बलमा नटआउट ५३ रन बनाए । कञ्चनपुरका जोराको यो प्रदर्शनले उनलाई टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडीको कीर्तिमान दिलायो । तेस्रो तथा अन्तिम टी–२० मा पनि उनले ११ बलमा महत्वपूर्ण २८ रनको योगदान गरे ।

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा उमेर समूहमा र घरेलु प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा तीन/चार जना नयाँ अनुहारलाई टोलीमा समावेश गरिएको र उनीहरूले राम्रो प्रदर्शन गरेको बताउँछन् । यद्यपि नयाँ खेलाडीहरू ल्याउन चुनौती रहेको उनको भनाइ छ । “निजीस्तरबाट टी–२० का तीन वटा घरेलु प्रतियोगिता सञ्चालन हुँदै आए पनि वानडेको एउटा पनि प्रतियोगिता भइरहेको छैन, यो अवस्थामा कहाँबाट नयाँ खेलाडी ल्याउने ?” टमटा भन्छन्, “केही महीनामै हामी टी–२० विश्वकप छनोटको दोस्रो चरण खेल्दैछौं, तर हामीसँग क्रिकेट संघ छैन, क्रिकेटको कुनै संरचना र पूर्वाधार छैन ।”

comments powered by Disqus

रमझम