५-११ फागुन २०७५ | 17-23 February7 2019

ब्याजदरले बढाएको आक्रोश

Share:
  
- नरबहादुर थापा
पर्याप्त नीतिगत सुविधा पाउँदा पनि ब्याजदर घटाएर व्यावसायिक वातावरण सुधार्नुको साटो ब्याङ्कहरूले आफ्नो नाफा मात्रै बढाउने उद्देश्य लिंदा उद्योगी–व्यवसायी रुष्ट छन्।

ब्याङ्कको ब्याजदर बढी भएको भन्दै अहिले उद्योगी–व्यवसायीहरू आन्दोलनरत छन् । नेपाल उद्योग वाणिज्य महासंघले सरकार र केन्द्रीय ब्याङ्कलाई १५ दिनभित्र ब्याजदर नघटे थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका खबरहरू आएका छन् । पछिल्लो दुई वर्षमा कर्जाको ब्याजदर ५० प्रतिशत बढ्दा व्यवसायीहरू आत्तिएका हुन् ।

२०७३ असारमा वाणिज्य ब्याङ्कहरूले निक्षेपकर्तालाई दिने भारित औसत ब्याजदर ३.२८ प्रतिशत र कर्जाको ब्याजदर ८.८६ प्रतिशत हुँदा ठूलो कारोबार गर्ने व्यवसायीले ८ प्रतिशतको हाराहारीमा ऋण पाइरहेका थिए । दुई वर्षयता त्यो स्थितिमा परिवर्तन आएको छ । २०७५ असारसम्म आउँदा वाणिज्य ब्याङ्कहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर ६.४९ प्रतिशत र कर्जाको ब्याजदर १२.४७ प्रतिशत पुग्यो । नौ/दश वर्षअघि पनि ब्याजदर अहिले जस्तै साढे १२ प्रतिशतको हाराहारीमा थियो । तर त्यतिबेला उद्योगी–व्यवसायीहरू विरोधमा उत्रेका थिएनन् । अहिले विरोध हुनुका केही कारण छन् ।

नेपाल राष्ट्र ब्याङ्कले लगानीयोग्य साधन बढोस् र बजारको ब्याजदर घटोस् भनेर आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति मार्फत अनिवार्य नगद अनुपात ६ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा र वैधानिक तरलता अनुपात १२ बाट १० प्रतिशतमा झर्‍यो । यसले ब्याङ्कहरूलाई झ्ण्डै रु.५० अर्ब थप कर्जा प्रवाह गर्न बाटो खुलेको थियो । तर, ब्याङ्कहरूले ब्याजदर घटाएर मौद्रिक नीतिलाई समर्थन गरेनन् । ब्याङ्करहरूले दशैंअघि ब्याजदर नघट्ने बताए, तर त्यसपछि पनि घटेन । यसबाट व्यवसायीहरूले धोका पाएको महसूस गर्दा ब्याङ्कप्रति आक्रोश निम्त्यायो ।

नीतिगत सहजीकरणले मात्रै काम नगरेपछि सरकारले पूँजी बजार र ब्याजदर सम्बन्धी समस्या सम्बोधन गर्न उच्चस्तरीय कार्यदल बनायो । कार्यदलको सुझव बमोजिम आधार ब्याजदरमा गणना गर्दै आएको सम्पत्तिमा प्रतिफलबापतको ०.७५ प्रतिशत योग हटाउने व्यवस्था लागू भयो । ब्याङ्कहरूले आधार ब्याजदर बमोजिम कर्जा दर घटाउनुपर्नेमा फेरि पनि त्यसो गरेनन् । उल्टै जोखिम प्रिमियममा थपेर व्यवसायीमाथि भार पारिरहे । नियामक निकायले समग्र अर्थतन्त्रको सुधारका लागि चालेका नीतिगत कदमबाट ब्याङ्कहरूलाई थप नाफा कमाउने बाटो मात्रै खोल्यो, त्यसको लाभ उद्योगी–व्यवसायीले लिन पाएनन् ।

ब्याङ्क तथा वित्तीय संस्थाको मुनाफा लगातार ठूलो आकारमा बढिरहेको छ । तरलता, कर्जा र ब्याजदरमा यति धेरै दबाब परिरहेको असहज परिस्थितिमा समेत ब्याजदरको अन्तर बढी राखेर नाफा बढाउन ब्याङ्कहरू उद्यत रहे । यसले उच्च ब्याजदर सम्बन्धी भइरहेको बहसलाई ब्याङ्कहरूले कम आँकेको देखेर व्यवसायीहरू रुष्ट भए । त्यसो त, ब्याङ्कहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर ५ प्रतिशतमा कायम राख्न र आगामी असारसम्म साढे ४ प्रतिशतमा झर्न राष्ट्र ब्याङ्कले निर्देशन दिइसकेको छ । तर गएको मंसीरमा पनि ब्याजदर अन्तर ५.७ प्रतिशत कायम छ । यसलाई क्रमशः घटाउनुपर्नेमा उल्टै ब्याङ्क तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर (स्प्रेड) को गणना विधि हेरफेर गर्न समय खर्चिन थालेपछि व्यवसायीहरू आक्रोशित भएका हुन् ।

लगानीयोग्य साधन बढाउने उपायस्वरूप स्थानीय तहले खर्च गर्न नसकेको रकममध्ये ५० प्रतिशतसम्म सोही स्थानीय तहमा ब्याङ्किङ कार्य गर्ने वाणिज्य ब्याङ्कले राख्न पाउने व्यवस्था गरिएको छ । यो सुविधाबाट वाणिज्य ब्याङ्कहरूले सरकारी ढुकुटीको रु.५० अर्ब विना ब्याज चलाउन पाएका छन् । यसबाट एकातिर स्रोतको आपूर्ति बढ्ने र अर्कातिर औसत ब्याज लागत घट्ने भएकाले कर्जाको ब्याजदर घट्छ भन्ने अपेक्षा थियो । तर, ब्याङ्कहरूले ब्याजदर घटाएनन् । बरु त्यो ५० अर्ब राष्ट्र ब्याङ्कको पुनर्कर्जा कोषमा राखेर ४ प्रतिशत ब्याजमा ब्याङ्कलाई दिने र साढे ४ प्रतिशत ब्याजदर अन्तर जोडेर ८.५ प्रतिशत ब्याजमा प्राथमिकताका परियोजनामा लगानी गर्न दिने व्यवस्था गरेको भए उत्पादनशील क्षेत्रमा सस्तो कर्जा पुग्थ्यो भन्ने मान्यता बढेको छ । अहिले धेरै व्यवसायीको बुझइ के छ भने, ब्याङ्कहरू नीतिनिर्मातासँग नजिक भएर त्यस्तो व्यवस्था हुन नसकेको र राष्ट्रिय प्राथमिकताका आयोजनामा कर्जा पाउन समस्या परिरहेको हो ।

नेपाली ब्याङ्किङ क्षेत्र, उद्यम–व्यवसायमा सक्रिय केही उद्यमीको प्रभावमा रहेकाले ब्याङ्कहरू तिनै सीमित व्यावसायिक घरानाले उपयोग गरेको कर्जाप्रति लचिलो छन् । अन्य आम व्यवसायीहरूले भने ब्याङ्कमा आफ्ना प्रतिनिधि नभएकाले कर्जा दिन र नवीकरण गर्न अवरोध पुर्‍याउने, उच्च सेवा शुल्क लिने जस्ता कार्य हुँदै आएको गुनासो गरिरहेका छन् । यस्तो अव्यावसायिक प्रवृत्तिले वित्तीय स्रोतमाथि समान पहुँचको मान्यतालाई उपहास मात्र गरेको छैन, नयाँ उद्यमी विकास गर्न र सृजनशीलता प्रवद्र्धनमा समेत अवरोध गरेको छ ।

नेपालको ब्याजदर तुलनात्मक रूपमा महँगो नभए पनि ब्याजदर सस्तो बनाउन सरकार र नीतिनिर्माताले चालेका कदमबाट लाभ पाउन नसक्दा उद्यमी–व्यवसायीहरू आक्रोशित हुनु अस्वाभाविक होइन । अहिलेको समस्या हटाउन ब्याजदर घटाउने र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा कर्जा प्रवाह खुकुलो बनाउने सरकारी प्रयास आवश्यक छ, जसबाट निजी क्षेत्रले लाभ पाउन सकोस् । हामीले अपेक्षा गरेको उच्च आर्थिक वृद्धि र रोजगारी सृजनाका लागि त्यसो गर्नुको विकल्प छैन ।

(थापा नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक हुन् ।)

comments powered by Disqus

रमझम