यो हो सुनसरीको धरान उपमहानगरपालिका–४ वसन्तटारका युवा कृष्ण राईको तरकारी बारी । माटो विना खेतीको कल्पना हत्तपत्त गरिन्न, तर राईले घरको कौसी र रेलिङमै ‘हाइड्रोपोनिक्स’ विधिबाट गरिरहेको तरकारी खेती यो क्षेत्रमै उदाहरणीय बनेको छ । प्लास्टिकका गिलास, बोतल र पाइप आदिमा तरकारी फलाएर उनले राम्रो कमाइ गरिरहेका छन् ।
यो खेती विधिमा उनले बिरुवाका जरालाई पोषण दिन विशेष प्रकारको घोल वितरण प्रणाली नै बनाएका छन् । त्यसका लागि उनी गाईवस्तुका साथै मानव मूत्र संकलन गर्छन् । एक लिटर पिसाबलाई चार लिटर पानीमा मिसाएर मसिनो पाइपबाट बिरुवाका जरा अडिएको फोमसम्म पुर्याएका छन् । यस्तो पोषण पाएका बिरुवा सजिलै हुर्किन्छन् । राई भन्छन्, “शुरूमा स्ट्याण्ड बनाउन केही खर्चिलो परे पनि लामो समय टिक्ने भएकाले यो विधि फाइदाजनक छ ।”
१० धुर क्षेत्रफलमा दुई वटा स्ट्याण्ड र टनेल बनाउन उनले साढे पाँच लाख रुपैयाँ लगानी गरेका छन्, जुन कम्तीमा १५ वर्ष प्रयोगमा आउने उनको अपेक्षा छ । स्ट्याण्ड राखिएको क्षेत्रलाई खेती गरिएको ठाउँ मान्दा जमीनमा रोपिनेभन्दा ११ गुणा बढी बिरुवा पाइपमा अटाएका छन् । योसहित दुई बिघा क्षेत्रफलमा गरेको तरकारी खेतीबाट वार्षिक रु.४५ लाख आम्दानी भइरहेको उनको भनाइ छ । उनी भन्छन्, “सबै खर्च कटाएर वार्षिक करीब २० लाख रुपैयाँ खुद मुनाफा हुन्छ ।” सलादको रूपमा खपत हुने लेटस साग बिक्रीबाट मात्रै उनले वार्षिक रु.१ लाख ५० हजार कमाउँछन् । यो साग धरान र वरपरका महँगा होटलहरूले प्रतिकिलो रु.८०० मा खरीद गर्दै आएका छन् ।
६÷७ वर्षयता अर्गानिक खेतीमा लागिरहँदा यी युवा सबैको आँखामा परेका छन् । अर्गानिक खेतीमा उनको ध्याउन्न र सफलता कतिसम्म उदाहरणीय छ भने, उनको सोताङ अर्गानिक फार्म हेर्न विभिन्न ठाउँबाट मानिसहरू आइरहेका हुन्छन् । कृषि प्राविधिक र जिल्ला कृषि विकास कार्यालयका हाकिमहरू उनलाई ‘अर्गानिक भाइ’ भनेर सम्बोधन गर्छन् ।
पिसाब र पानीको घोलको काइदा
रासायनिक मल र विषादीको विकल्पमा राईले मानव मूत्र र गाईवस्तुको मलमूत्र उपयोग गर्दै आएका छन् । आधुनिक खेती प्रणाली र बालीमा लाग्ने रोग–कीरा नियन्त्रणका उपाय जान्न उनी इन्टरनेट चहारिरहेका हुन्छन् । तरकारी खेतीमा पानी र मलको किफायती प्रयोगको काइदा त्यहींबाट निस्किएको हो ।
मानिसको दिसा–पिसाब बेग्लाबेग्लै सञ्चित गर्न सकिने ‘इकोसान’ शौचालय केही वर्षअघि इन्टरनेटमा देखेपछि उनले त्यो प्रणाली बनाएका हुन् । तरकारी खरीद गर्न आउने र आफ्नो कृषि फर्मका कामदारलाई उनी सकेसम्म दिसा–पिसाब गर्न अन्यत्र नजान आग्रह नै गर्छन् । उनको शौचालयमा दैनिक २५ लिटर पिसाब संकलन हुन्छ, जसबाट कम्तीमा एक सय लिटर पानीलाई बिरुवाको लागि पोषणयुक्त घोल बनाउन सकिन्छ ।
खोज्ने क्रममै रातो खपटे कीराले रातो रङ मन पराउँदैन भन्ने पनि बुझ्े । फर्सी जोगाउन उनले चुकन्दर रोपे । “धेरै खालको बाली यसरी मिलाएर लगाउँदा खर्च नै नगरी रोग–कीराबाट जोगाउन सकिंदोरहेछ”, कृष्ण भन्छन् । खेतीको यो काइदालाई तिरिमिरी खेती भनिने उनी बताउँछन् । बालीलाई कीराबाट जोगाउन पहेंलो कपडा पनि केही प्रभावकारी हुने उनले पहिल्याएका छन् । धेरैजसो कीरा–फट्याङ्ग्राले पहेंलो रङ मन पराउने भएकोले खेतबारीमा पहेंलो कपडा राख्दा कीरा त्यसमै अल्मलिन्छन् । असुरो, धुस्रे, कालीझर, बोझे, सुर्ती, नीमको पत्ता जस्ता वनस्पतिको झेलले पनि कम खर्चमा रोग–कीराको प्रकोप हटाउन सकिने उनको अनुभव छ ।
अधियाँदारबाट जमीनको मालिक
कृष्णले थाहा पाउँदा उनका बाबुको धरानस्थित वसन्तटारमा ६ कट्ठा पाखोबारी थियो । अधियाँमा गरेको खेतीबाट परिवार जेनतेन पालिएको थियो । सानैदेखि फूल र बोटबिरुवाका सौखिन उनले १३ वर्षको उमेरमा रु.१० मा किनेको काँक्राको बियाँबाट चार महीनामा रु.५५०० आम्दानी भएपछि परिवारको खेती गर्ने तरिका नै बदलियो । अरू बाली छोडेर तरकारी खेती शुरू भयो ।
तरकारी फलाएर दुई दशकयता उनले धरानको वसन्तटारमा एक बिघा १९ कट्ठा जग्गा खरीद गरेका छन् । उनले धरानमा हरेक शनिबार अर्गानिक तरकारी बजार समेत शुरू गरेका छन् । उनी कुनै बेला एकै महीनामा दुई/तीन लाख रुपैयाँको तरकारी बेच्ने गर्छन् ।
तरकारीसँगै उनले पशुपक्षी पालन समेत गरेका छन् । उनको अर्गानिक फर्ममा हाल १३ वटा गाई, २५ माउ बंगुर, १५० वटा लोकल कुखुरा छन् । दैनिक १५० लिटर दूध बजार पठाउने गर्छन् । माछा हाल्न तीन वटा पोखरी तयार पारेका छन् । स्नातक पढेका उनी उत्साहित हुँदै भन्छन्, “म त सबैलाई खेती–किसानीमा लाग्न आग्रह गर्छु । जति फलाए पनि खाइदिने उपभोक्ता यहीं रहेछन् ।”