१२-१८ फागुन २०७५ | 24 Feb - 2 March 2019

मुस्ताङ नाकामा फौज

Share:
  
- ज्ञानमणि नेपाल
भोटमा आक्रमण गर्ने योजना साकार पार्न प्रधानमन्त्री जंगबहादुर राणाले विभिन्न नाकामा बन्दोबस्त मिलाउने क्रममा मुस्ताङ नाकामा फौज तैनाथ गर्न अह्राए।

श्री ३ जंगबहादुर राणाले वि.सं. १९११ भदौभरिमा विभिन्न गौंडाको बन्दोबस्त मिलाएर भोटका सीमा नाकाहरूमा फौज तैनाथ गरी गोलीगट्ठा, रसदपानी आदिको बन्दोबस्त मिलाइरहेका थिए । शुरूमा राजधानीको नजिक पर्ने कुती खासाका सुब्बा अधिकारी मार्फत गोदामघरमा वर्ष दिन पुग्ने रसदपानी व्यवस्था गर्न लगाए । त्यसपछि सुदूरपश्चिमको सिलगढी गौंडामा रहेका पल्टनका अधिकारी मार्फत सैनिक जवानहरूलाई हातहतियारले सुसज्जित गराई हुम्लामा तैनाथ गराए । त्यहाँबाट यारी सीमा नाका हुँदै भोट पसेर आक्रमण गर्ने योजना थियो ।

जंगबहादुरले योजनालाई नतिजामा पुर्‍याउन मध्य पहाडको पाल्पा गौंडामा तैनाथ जर्नेल बद्रीनरसिंह कुँवर राणालाई चिठी लेखेर अह्राए । सहयोगका लागि सरदार जुद्धवीर अधिकारीको २०० पल्टन आउने र गोरखाको गोरखदल कम्पनी मुस्ताङमै पुग्ने चिठीमा लेखिएको थियो । यस्तै, चिठीमा तोप चलाउने ६ जना गोलन्दाज काठमाडौंबाट पठाउने, बडा कप्तान जंगध्वज राणा कुँवरलाई थमौती गराइदिन, अंग्रेजसँग र गौंडा–मुहुडाको काम पर्दा असुल–तहसिल होशियारीपूर्वक गर्न, कुनै तलमाथि नपरोस् भन्ने अह्राएर बडा कप्तानलाई पाल्पामै राख्न, परिवारको खानपिनको व्यवस्था बडा कप्तानको जिम्मामा छाडेर ९६३ नाल कम्पनी पल्टन र गोलन्दाज साथमा लिएर सरदार जुद्धवीर सहित भोट जाने बाटोको मुस्ताङ र केरुङको बीचमा सुविस्ता हुने ठाउँमा छाउनी बनाएर बस्न भनिएको थियो । सिपाही भर्ना गरेर तारो हान्न सिपालु बनाउन पनि अह्राइएको थियो ।

यस्तै, ४÷५ पन्नीका दुई वटा तोप लैजान, तोप र बन्दूकलाई चाहिने खरखजाना अपुग भए प्यूठानबाट झ्किाउँदा पनि हुने, विशेष कम्पनी पल्टन भरिया समेतलाई वर्ष दिनसम्म पुग्ने रसदपानी जोहो गरिराख्न चिठी मार्फत निर्देशन दिइएको थियो । हतियारको खजाना तयार पार्न र रसदपानी खरीद गर्न नगद पठाइएको र सरसामग्री अपुग भएमा लेखेर पठाउन भनिएको थियो । यहाँबाट लडाइँमा जाने ताकिता प्राप्त हुनासाथै युद्ध मैदानमा जान ध्यानाकर्षण गराइएको थियो ।

जंगबहादुरले बडा कप्तान जंगध्वज कुँवर राणालाई लेखेको चिठीमा पाल्पा गौंडाको तैनाथी कर्णेल केदारनरसिंह कुँवर राणाको हातमा रहेकाले उनैबाट आफ्नो जागिर थमौती गराएर अह्राए अनुसार काम गर्न आदेश दिइएको थियो । लडाइँको विशेष अवस्था भएका कारण रणसिंहदल कम्पनी केदारनरसिंहलाई जिम्मा लगाउन भनिएको थियो । आफूले गर्दै आएको कामसँगै पाल्पा, नुवाकोट, सल्यान समेतको कामकाज हेर्न, मधेशको काम जनरल रणदीपसिंह कुँवर राणासँग सोधेर गर्न र पहाडको काम कर्णेल केदारनरसिंहको निर्देशन अनुसार गर्न, काम गर्दा अत्यन्तै होशियारी अपनाउन चिठीमा अह्राइएको थियो ।

बडा कप्तानलाई आफूसँग रहेको पल्टनलाई तालिम दिएर तम्तयार अवस्थामा राख्न सजग गराउँदै तिनलाई आवश्यक पर्ने बन्दूक, संगीन, गोलीगट्ठा लगायतका वस्तु जुटाइराख्न निर्देश गरिएको थियो । लडाइँमा आवश्यक परेमा उक्त पल्टनले सहयोग गर्नुपर्ने भनिएको थियो ।


श्री प्राईम्मिनिष्टरबाट श्रीजनरल वद्रिनरसिंह कुँवर राणा जीलाई लेखिगयाको

उप्रान्त तेरा मद्दतलाइ तारादल पल्टनका नाल २०० ली सरदार जुद्धवीर अधिकारी भदौ महिनामा ताहाँ आइपुग्छन्. गोरखाको गोरखदल कम्पनीका काजि त्रिविक्रम सिंह थापा मुस्ताङ्मा भेट्न्यागरि आउन्याछन्. गोलन्दाज ६ यताबाट आउनेछन्. वडा कप्तान जङ्गध्वज राणाजीलाई तैंले थमौती गराइदिनु. पाल्पा, नुवाकोट र सल्यान समेतमा ठाउँ ठाउँको तहसिल र ठाउँ ठाउँको गौंडा सम्सेरजङ्ग पल्टनले कुह्रनु. अंग्रेजसँगको काम र गौंडा मुहुडाको काम पर्दा मुलुकको वरवन्दोवस्त असुल तहसिलको काममा होसियारसँग गर्नु. गौंडा थाम्नु. केही कुरामा गाफिल नपरोस् भनि अह्राई वडा कप्तानलाई पाल्पामा राखि मुलुकको बन्दोबस्त आफुले गन्र्या काम सबै सकि तेरा परिवारहरू पाल्पामा वडा कप्तानको जिम्मामा छोडी खानापिनाको बन्दोबस्त वाधि इनै पल्टन कम्पनी नाल ९६३ भै गोलन्दाजसमेत र सर्दार जुद्धवीर अधिकारीलाई साथमा लिई भोटतिरका बाटोको नजिक पारि फौजलाई बस्न्याको सुविस्ताहेरि भदौ महिनामा मुस्ताङ् जाई रसदज्मा हुन्या र केरुङ्ग नजिक पन्र्या ठाउँ हेरि छाउनी गरि बस लड्न सकन्या सिपाही तयार गरि तारा हान्न लगाई फौजलाई तालिम गरि राख्नु. तेसतरफका तोप मध्ये साबुत तोप २ तयार गरि आफ्ना साथमा राख तोप धेरै लगि काम छैन. १ तोपलाई २ सय गोला ४ सय गिराफ चाहिन्छ यसतजविजले पल्टनको अरू खजाना रसद सबै ताकीत गरि जति उठाउन सक्छस् उती तोप लैजा. ६ पंनिको तोपभारि हुन्छ ४ पंनि ५ पंनिको तोप लैजानु. तोपलाई चाहिन्या गोला गिराफ खरखजाना बन्दूकलाई जनहि गोलि समेतको गठ्ठा १५ का दरले गठ्ठा र जनही ९/९ का दरले पत्थर अरू खजाना जो चाहिन्छ त्याहाँ जाँचदा बनाउँदा बनीनसकन्या भै नपुग्याको बन्दूक बारुद गोली प्युठानबाट झ्किाउन्या काम गर्नु. कदाचित नयाँ मानिस भर्ना गर्नु पर्‍यो भन्या जगेरालाई तसितकार प्युठानबाट गरि २ हजार नाल संगीन तोस्दान उसैमाफिक खजाना झ्किाई तयार गरि राखनु. सिसा जो चाहिन्छ खरिद गरि बन्दूकका मोहरीमा मिलन्या गरि गोलि ढालन लाउनु. लडाई पर्दा गोलि साना ठूला भै नविग्रोस्. २ तोपका गोला गिराफ पन्नी तयार गर्नु इ पल्टन कम्पनीका लाजिमा भरिया समेतले वर्षदिन खानालाई रसद खरिद गरि राख्नु, जङ्गी खजाना तयार गर्नु रसद खरिदलाई रुपैयाँको दस्खत गरि पठायाको छ । दस्खत बमोजिमको रुपैयालिई सबै काम कुराको गाफिल नपारि तयार गर्नु. ताहा नपुगन्याको कुरा ञाहालेखि पठाउनु र ञाहाबाट ताकित भै आउला जुन दिन लड्न जा भनि हामीले भनि पठाउँला उस दिन लड्न जालास्. ११ साल भाद्रवदी १३ रोज २ शुभम् ।

श्री प्राईम्मिनिस्टरबाट श्री वडा कप्तान जङ्गध्वज कुँवरराणाजीलाई लेखिगयाको

उप्रान्त पाल्पाको गौंडा केदारनरसिंहको तैनाथ छ. पाल्पाको काम उसले लाया अह्राया बमोजिम नै तैले गर्नुपर्‍यो. तेरो थमौती केदारनरसिंह सँगै गर्‍यास्. सल्यानको कम्पनी जुम्ला गयो पाल्पाको गोरख पल्टन मोस्ताङ् जान्या छ. यसपाला लडाईको काम पर्‍यो तसंगका रणसिंह कम्पनी केदारनरसिंहको जिम्मा गरिदे. तैले गर्‍याको बुटवल गैह्रको काम र पाल्पा नुवाकोट सल्यान समेतको काम काज तैले गर्नुपर्‍यो. अंग्रेज नवाफसँग दोसाधको जग्गा छ. मधेशको कामकाज जनरल रणदीपसिंह कुँवर राणाजीसंग सोधी गर्नु. पहाडको काम कर्णेल केदारनरसिंह कुँवर राणाजीले अह्रायाबमोजिम गर्नु. कामकाज गर्दा बहुत होसियार राखि कुनै कुराको गाफिल नपारि गर्नु. यसै बखतमा केही कुराको उजुर गरिस् भन्या तक्सीर बन्दहोला. मुलुकीकामको तरताकिति गरि आफुसँगको पल्टनलाई तालिम गरि तयारी राखि तिनलाई चाहिन्या खरखजाना पत्थर गठ्ठा बन्दूक संगीन तोस्दान गैह्र तयार गरि राखन्या काम गर. काम पर्‍यो भन्या येस पल्टनले मद्दत दिनु पन्र्याछ. मधेशको मुलुकी काममा ११ सालका बन्दोवस्त बमोजिम बन्दोबस्त असुलतहसिलमा केहि फरक नपरोस. ११ साल भाद्रवदी १३ रोज २ शुभम् ।

comments powered by Disqus

रमझम