१२-१८ फागुन २०७५ | 24 Feb - 2 March 2019

फैलिंदै पहुँच

Share:
  
- मस्त केसी
नयाँ कम्पनीको आगमन, बीमा समितिको सक्रियता र बढ्दो जनचेतनाका कारण जीवन बीमाको दायरा फराकिलो बन्दै गएको छ।

तस्वीरहरुः बिक्रम राई
नियामक निकाय बीमा समितिका अनुसार जीवन बीमा कम्पनीहरूले पुस २०७५ सम्म कुल ५२ लाखभन्दा बढी बीमालेख जारी गरिसकेका छन् । यो कुल जनसंख्याको करीब १७ प्रतिशत हो । करीब ५ प्रतिशत बीमालेख दोहोरिएको हुनसक्ने भएकाले उक्त संख्या घटाएर तथ्यांक निकालिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं बताउँछन् ।

समितिका अनुसार, बीमा गर्ने नेपालीको संख्या असार २०७३ सम्म ३० लाख ८७ हजार थियो, असार २०७५ मा आइपुग्दा उक्त संख्या ४३ लाख ४३ हजार पुगेको हो । समितिका अध्यक्ष चापागाईं बीमाको पहुँच यति तीव्र रूपमा फैलनुमा नागरिकले बीमाको महत्व, आवश्यकता र फाइदा बुझ्नुलाई कारण मान्छन् । “बीमा गर्नु आफ्नो लागि मात्र नभई भवितव्य पर्दा परिवारलाई पनि सुरक्षित राख्ने बलियो उपाय हो भन्ने बुझाइ बढेको छ” उनी भन्छन्, “बीमाको बारेमा चेतना फैलाउन समिति अगाडि बढेको प्रभाव हो यो ।”

बीमा समितिले आम नागरिकलाई बीमाको महत्व बुझाउन अहिले स्थानीय सरकारसँग मिलेर काम गरिरहेको छ । निर्वाचित जनप्रतिनिधि र स्थानीय बासिन्दाको समन्वयमा विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम चलिरहेका छन् । त्यस्तै, समितिले बजार विस्तार गर्न इजाजतपत्र खोल्दा जीवन बीमाका १० वटा नयाँ कम्पनी थपिए । यसले दुई वर्षअघि ६ प्रतिशतमा सीमित जीवन बीमाको पहुँच १७ प्रतिशत पुर्‍याउन मद्दत गर्‍यो । यस्तै, बीमाको विश्वसनीयता बढेकाले पनि पहुँच बढिरहेको अध्यक्ष चापागाईंको बुझाइ छ । समितिका अनुसार अहिले १९ वटा जीवन बीमा कम्पनीका देशभर २०८१ वटा शाखा छन् । जसमा ८ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने एक लाख ५० हजारभन्दा बढी अभिकर्ता कार्यरत छन् ।

बीमाको बजार विस्तारसँगै समितिको कार्यक्षमता विस्तारमा पनि उत्तिकै सचेत रहेको अध्यक्ष चापागाईं बताउँछन् । “स्वस्थ र व्यावसायिक बीमा बजारको विकास गर्नु समितिको उद्देश्य भएकाले जनचेतनासँगै अनुगमन र नियमन पनि तीव्र पारेका छौं”, उनी भन्छन् ।


‘जनचेतना अझै बढाउनुपर्छ’

आर्थिक जोखिम कम गर्ने बीमा बारेको बुझाइ विस्तार हुँदै जाँदा नेपालमा यसको बजार तीव्र रूपमा बढिरहेको छ। नयाँनयाँ कम्पनी थपिंदै जाँदा बजार विस्तारसँगै चुनौती पनि थपिएको छ। प्रतिस्पर्धा चुलिंदो छ। जीवन बीमाको वर्तमान अवस्था, यसको महत्व र नीतिगत समस्याबारे हिमाल ले विभिन्न जीवन बीमा कम्पनीका नेतृत्वकर्तासँग गरेको राउण्ड टेबलमा व्यत्ताm विचारको सारः

केही वर्ष अघिसम्म बीमा क्षेत्र छायाँमा थियो, अहिले गतिविधि र चासो दुवै बढ्नुको कारण के हो ?

श्रीचन्द्र भट्ट

प्रमुख कार्यकारी अधिकृत, आईएमई लाइफ इन्सुरेन्स

पछिल्लो समय केही नयाँ बीमा कम्पनीहरू आए । नयाँ कम्पनीहरू आफ्नो उपस्थिति देखाउन आक्रामक रुपमा अगाडि बढेका छन् । यसले बीमाको चर्चा बढेको छ । बीमा बजार सीमित दायराभित्र खेल्नुपर्ने भएकाले पनि बढी प्रचारमुखी हुनु स्वाभाविक हो । नयाँ कम्पनी आएसँगै पुरानो–नयाँ सबैको बजार बढेको छ ।

प्रविणरमण पराजुली

प्रमुख कार्यकारी अधिकृत, रिलायन्स लाइफ इन्सुरेन्स

बीचमा केही समय नयाँ कम्पनीले लाइसेन्स नपाएका कारण बजारमा बीमाको चर्चा उति नभएको होला । नयाँ कम्पनीहरू आएपछि पुरानो र नयाँ सबैले सेवा विस्तार गर्दै गएका छन् । एकैचोटि १० वटा नयाँ कम्पनी आउँदा प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पनि बजारमा बढी उपस्थिति देखिएको हो । बजारमा प्रतिस्पर्धी बढेसँगै सेवामा गुणस्तर पनि बढ्ने हो । यसको फाइदा सर्वसाधारणले नै पाउँछन् ।

मनोजकुमार भट्टराई

प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्सुरेन्स

ओझेलमा रहेको बीमा एकैपटक जल्दोबल्दो भएको पक्कै हो । पहिले ९ वटा कम्पनीले काम गरिरहेको अवस्थामा अहिले १० वटा थपिए । संख्या धेरै भए पनि बीमाको पहुँच बढाउन नियामक निकाय मात्रै होइन, हामीबाट पनि पर्याप्त गृहकार्य भइरहेको छैन । बीमाको बारेमा उचित शिक्षा र जनचेतना फैलाउन सकियो भने आम मानिसले यसको आवश्यकता महसूस गर्थे । २०४९ मा बनेको बीमा ऐनका कारण पनि खुलेर काम गर्न सकिएको छैन, यसमा समयसापेक्ष परिमार्जन आवश्यक छ । अर्को कुरा, नियामक निकाय थप बलियो भए हामीलाई अझै सहज हुनेथियो ।

पोषकराज पौड्याल

प्रमुख कार्यकारी अधिकृत, सिटिजन लाइफ इन्सुरेन्स

बीमा उपभोक्ता आफैंले किन्नेभन्दा पनि कम्पनीले बेच्ने उत्पादन भएकाले आवश्यकता महसूस गराउनुपर्छ । विकसित मुलुकमा समेत बीमा कम्पनीहरू उपभोक्ताको घरदैलोमै पुग्छन् । यो कम्पनीले विभिन्न एजेन्ट मार्फत बिक्री गर्ने हो । नयाँ कम्पनी आएर पहुँच बढाउन खोज्दा र बजारले पनि अपेक्षा गरेकोले चर्चा भइरहेको छ । उपभोक्ताले बीमाको महत्व बुझ्न थालेका छन् । आर्थिक सुरक्षाका लागि यो त चाहिने कुरा रहेछ भन्ने चासो बढेको छ । २०७२ सालको भूकम्पपछि जीवन मात्रै नभई समग्र बीमाको बजारको आवश्यकता महसूस हुन थालेको छ । राज्यले पनि बीमा योजनालाई प्राथमिकतामा राखेको छ ।

सन्तोष प्रसाईं

नायव प्रमुख कार्यकारी अधिकृत, नेपाल लाइफ इन्सुरेन्स

बीमा कम्पनीको संख्या बढेसँगै प्रतिस्पर्धा स्वतः बढेको छ । यसले शहरकेन्द्रित बजारलाई फैलाएर दूरदराजसम्म पुर्‍याउँदैछ । विकसित देशमा बीमा ८० प्रतिशतभन्दा बढी जनसंख्यामा पुगेको छ । हाम्रो जस्तो देशमा यसको झन् धेरै महत्व छ । बीमाले सानो–सानो रकम जम्मा गरेर देशका लागि पूँजी जम्मा गरिरहेको हुन्छ । एकल परिवारको संस्कार बढ्दै गएकोले पनि बीमाको आवश्यकता बढेको छ । समग्रमा बीमा बजारमा सकारात्मक संकेत देखिएको छ । बीमा क्षेत्रमा सरकारको सक्रियता बढ्नु आवश्यक छ ।

शिवराम तिमल्सिना

जनरल म्यानेजर, सानिमा लाइफ इन्सुरेन्स

बजार बढेसँगै गुणस्तरीय बजारमा ध्यान दिने बेला आएको छ । एउटा कम्पनीको बीमा अर्कोमा सार्ने खालको प्रतिस्पर्धाले समग्र बजारलाई असर गर्छ । यसमा हामी आफैं सचेत हुनुपर्छ । अर्कातिर, छोटो समयमा कर्मचारीहरू फेरिने क्रम पनि बाक्लो छ । केही समयपछि दक्ष जनशक्ति राम्रो पोजिशनमा अर्को कम्पनीमा जानु स्वाभाविक हो । तर, प्रतिस्पर्धाको नाममा अर्धदक्ष जनशक्तिलाई माथिल्लो पोजिशनमा तानेर लिनु उचित देखिंदैन । यसमा सचेत हुनैपर्छ ।

प्रकाशविक्रम खत्री

नायब प्रमुख कार्यकारी अधिकृत, ज्योति लाइफ इन्सुरेन्स

हिजो १० वटा कम्पनीका ८०० वटा शाखा हुँदा एउटा शाखाले ३५ हजारभन्दा बढी नागरिकलाई सेवा दिनुपर्ने अवस्था थियो । अहिले १९ वटा कम्पनी नै शाखा विस्तार र बजार बढाउन लागिपरेका छन् । हामी प्रतिस्पर्धीहरू मिलेर काम गरे सबैलाई फाइदा हुन्छ । हालै ‘जीवन बीमा एशोसिएसन’ गठन भएको छ । यसरी संगठन बनाएर अगाडि जाँदा समग्र उद्योगलाई राम्रो हुन्छ । कम्पनीको संख्या बढेसँगै कर्मचारीहरू एकबाट अर्कोमा दौडधुप गर्ने क्रम बढेको छ । कानूनले यसलाई रोक्न नसक्ने भएकाले नैतिक रुपमै विचार पुर्‍याउनुपर्छ । यस विषयमा कर्मचारी, कम्पनी र नियामक निकायले सोच्नुपर्ने बेला भएको छ ।

कमल पन्थी

नायब प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी लाइफ इन्सुरेन्स

संख्या बढेसँगै प्रतिस्पर्धाका कारण नयाँ–पुराना सबै कम्पनी शाखा विस्तारमा लागेका छन् । एकैपटक धेरै कम्पनी बजारमा आएपछि कर्मचारीहरूले छिटोछिटो कम्पनी फेर्ने प्रवृत्ति एकदमै बढी भयो । निश्चित समयपछि कुनै कर्मचारीको स्तर र आम्दानी सबै बढ्छ भने ऊ अर्को कम्पनीमा जानु प्राकृतिक प्रक्रिया नै हो । तर, छोटो समयमा फेरिरहने स्थिति नियन्त्रण गर्नुपर्छ ।

एकजना अभिकर्ताले धेरै कम्पनीमा काम गरिरहेको अवस्था पनि छ नि !

मनोजकुमार भट्टराई

धेरै कम्पनी खुलेसँगै एक व्यक्तिले एकभन्दा बढी कम्पनीमा अभिकर्ताको रुपमा काम गरिरहेका छन् । अभिकर्ताले आफ्नो फाइदा मात्र हेर्छन् । जनताले सही सूचना पाउने सम्भावना कम हुन्छ । यसमा नियामक निकायले चासो राखेको भए पनि ऐनको समस्याले समाधान हुन सकेन ।

पोषकराज पौड्याल

एक एजेन्ट एक कम्पनी हुँदा स्वाभाविक रूपमा कम्पनीलाई बढी फाइदा हुन्छ । उसलाई आवश्यक पर्ने तालिम, सूचना कम्पनीले सहजै प्रवाह गर्न सक्छ । तर, उपभोक्ताको तर्फबाट सोच्दा एउटा कम्पनीले धेरै प्रकारका योजना दिनसक्ने क्षमता नराख्न सक्छ । यसले ग्राहकलाई रोजाइको विकल्प वा फाइदा थोरै दिन्छ । तर, विश्वव्यापी अभ्यास चाहिं एक एजेन्ट, एक कम्पनी नै हो । कम्पनीले एजेन्टले आफूसँग मात्रै काम गरोस् भन्ने चाहना राखे पनि कानूनी रुपमा भने त्यो सम्भव हुँदैन ।

सन्तोष प्रसाईं

हुनुपर्ने एउटा कम्पनीको एउटा एजेन्ट नै हो । यसले अस्वस्थ प्रतिस्पर्धा रोक्छ र बजार व्यवस्थित गर्न पनि सघाउँछ । यसलाई नीतिगत रुपमै सम्बोधन गर्न जरुरी छ ।

प्रकाशविक्रम खत्री

एउटा एजेन्टले एउटा मात्रै कम्पनीसँग काम गर्दा कम्पनी र एजेन्ट दुवैको विश्वसनीयता बढ्छ । फरक–फरक कम्पनीमा काम गर्दा एजेन्टले एउटै सेवाग्राहीसँग फरक ‘डिल’ गर्नुपर्ने बाध्यता सृजना हुनसक्छ । यसले सेवाग्राहीमा बीमाबारे नकारात्मक सन्देश जान सक्छ ।

कमल पन्थी

बीमित भन्दा आफ्नो फाइदा हेर्ने भएको कारण एजेन्टहरू एकभन्दा बढी कम्पनीमा आबद्ध भइरहेका छन् । विभिन्न कम्पनीमा हुँदा एजेन्टलाई जुन कम्पनीबाट बढी कमिसन आउँछ, त्यसैको निम्ति काम गर्छन् । यसले बीमितका साथै कम्पनीलाई पनि राम्रो गर्दैन । यति थाहा हुँदाहुँदै पनि एजेन्टलाई आफूसँग बाँधेर राख्न सक्ने आधार कम्पनीसँग छैन ।

आम मानिसलाई बीमाको महत्वबारे कति जानकारी छ ? यस विषयमा थप जनचेतना फैलाउने काम कसको हो ?

श्रीचन्द्र भट्ट

हामीले गर्ने चेतनामूलक कार्यक्रम एजेन्टले सुन्छ र आफ्नो तरिकाले नागरिकलाई बुझाउँछ । अनावश्यक आश्वासन त्यसैको परिणाम हो । एजेन्टलाई व्यक्तिले आफैं महत्व बुझेर, आवश्यकता महसूस गरेर बीमा गरोस् भन्ने कुराको मतलब छैन । उसले जसरी हुन्छ, बीमाको पोलिसी बिक्री गरिरहेको छ । तर, यति भनिरहँदा संसारमा कतै पनि बीमा पोलिसी नागरिक आफैं अघि सरेर किन्दैनन् । एजेन्टले यो पोलिसीले यस्तो फाइदा गर्छ, यसरी भविष्य सुरक्षित हुन्छ भन्दैन, यो पोलिसी लिंदा पैसा यति पाउनुहुन्छ मात्र भन्छ । बीमा साक्षरताका लागि निजी कम्पनीले केही लगानी गरिरहे पनि यसमा नियामक निकाय नै अगाडि बढ्नुपर्छ ।

मनोजकुमार भट्टराई

जनचेतना, बीमा साक्षरता जे नाम दिए पनि निजी कम्पनीले गर्ने विज्ञापन हो । चेतना बढाउने जुनसुकै कार्यक्रममा पनि कम्पनीले आफ्नो पोलिसीबारे बोलेकै हुन्छ । त्यसैले कम्पनीले गर्ने कार्यक्रम चेतना फैलाउन त्यति प्रभावकारी नहुन सक्छ । ‘एक्सक्लुसिभ एजेन्सी’ (एउटा अभिकर्ताले एउटा कम्पनीसँग मात्रै काम गर्ने) भयो भने बढी प्रभावकारी हुन्छ । अहिले एउटा कम्पनीले कुनै एजेन्टलाई बीमा साक्षरताको तालिम दिएर सक्षम बनाए पनि अर्को कम्पनीले केही बढी तलब प्रस्ताव गर्नासाथ छाडेर जाने प्रवृत्ति छ, यसैले पनि जनचेतनामूलक कार्यक्रम वा तालिममा पर्याप्त लगानी गर्न कम्पनीहरू हच्किरहेका छन् ।

कमल पन्थी

चेतना फैलाउने काम हामी सबैको भए पनि यसको मूल दायित्व नियामक निकाय बीमा समितिकै हो । समितिले जनचेतना विस्तारमा थप लगानी गर्‍यो भने आम नागरिकसम्म पुग्छ ।

बीमा क्षेत्रमा जनशक्तिको अवस्था चाहिं कस्तो छ ?

पोषकराज पौड्याल

बीमा पूर्णरूपमा प्राविधिक विषय भएकाले कर्मचारीहरूमा यसबारे जानकारी हुनुपर्छ । तर, कम्पनीले जनशक्तिमा पर्याप्त लगानी गर्न सकिरहेका छैनन् । बीमाको अर्को आधार अभिकर्ता हुन् । नागरिकसँग उनीहरूको प्रत्यक्ष सम्पर्क हुन्छ । पोलिसीबारे अभिकर्तालाई राम्रो जानकारी हुन सकेन भने बीमाको बारेमा नकारात्मक सन्देश प्रवाह हुन सक्छ । हामीकहाँ अहिलेसम्म अभिकर्ताले आफन्त र साथीभाइलाई पोलिसी बेचिरहेका छन् । उनीहरूले काम गर्दै सिक्ने गर्छन् । व्यावसायिक रुपमा अभिकर्ता भएर हिंड्ने संख्या निकै सानो छ ।

मनोजकुमार भट्टराई

दक्ष जनशक्तिको अभाव नै छ भन्न नमिले पनि पर्याप्त मात्रामा नभएको साँचो हो । कम्पनीले एजेन्सी म्यानेजरलाई मातहतका अभिकर्तालाई तालिम दिन निश्चित रकम दिएको हुन्छ । तर, म्यानेजरले त्यो रकम आफूले राख्छ कि तालिम दिनमा खर्च गर्छ भन्ने थाहै हुँदैन ।

प्रविणरमण पराजुली

नेपालका लागि बीमा बजार नयाँ नभए पनि व्यावसायिक रुपमा अगाडि बढेको धेरै समय भएको छैन । त्यसैले ब्याङ्किङ लगायत अन्य क्षेत्रबाट कर्मचारीहरू आपूर्ति भइरहेको छ ।

नियामक निकाय बीमा समितिको कार्यक्षमता कस्तो देख्नुहुन्छ ?

कमल पन्थी

बीमा समितिको क्षमतामाथि प्रश्न उठाउने ठाउँ छैन । बीमा कम्पनीको संख्या र बजार बढेसँगै नियामक निकायको दायरा र क्षमता बढाउन भने आवश्यक छ ।

प्रकाशविक्रम खत्री

प्राविधिक क्षमता कम भए जस्तो लाग्दैन । तर, ऐन–नियमको पालना कति भइरहेको छ, त्यो पाटो हेर्न जरुरी छ । समितिले सञ्चालन गरेको तालिम केन्द्रले निजी कम्पनीहरूलाई ठूलो फाइदा भएको छ ।

शिवराम तिमल्सिना

नियामक निकायले चित्तबुझ्दो रुपमै काम गरिरहेको छ । जनचेतना बढाउन अझै धेरै लगानी गरिदिए हुन्थ्यो भन्ने चाहिं लाग्छ ।

सन्तोष प्रसाईं

नियामक निकाय कति स्वायत्त छ भन्ने प्रश्न महत्वपूर्ण हो । समितिमा लोकसेवाबाट जनशक्ति आउने भएकोले पनि दक्ष छ भन्ने लाग्छ ।

पोषकराज पौड्याल

बजार फराकिलो भएसँगै बीमा समितिले आफूलाई पनि विस्तार गर्न जरुरी छ । अहिलेसम्म नियामक निकाय सहज रूपमै अगाडि बढिरहेको छ ।

मनोजकुमार भट्टराई

अन्य क्षेत्रमा जस्तै बीमामा पनि केही समस्या होलान् । तर, राम्रो जति हामी कम्पनीले गर्यौं र समस्या सबै नियामक निकायले ल्यायो भन्ने पक्षमा म छैन । मुख्य कुरा त हामीले सही र स्वस्थ अभ्यास गर्नुपर्छ । बीमा समितिको क्षमता प्रशस्त छ ।

प्रविणरमण पराजुली

बजार अनुसार बीमा समितिले आफूलाई अगाडि बढाइरहेकै जस्तो लाग्छ । कम्पनी र नियामक निकायले सहकार्य गरेर अगाडि बढ्दा सबैलाई फाइदा हुन्छ । हामी पारदर्शी र जवाफदेही भएर चल्नुपर्छ ।

श्रीचन्द्र भट्ट

नियामक निकायले अहिले जसरी काम गरिरहेको छ, त्यो एकदमै बलियो छ जस्तो लाग्छ ।

दाबी भुक्तानीमा बेलाबेला बीमित र कम्पनीबीच समस्या आइरहेको सुनिन्छ नि !

सन्तोष प्रसाईं

जीवन बीमामा ह्रासकट्टी नहुने भएकाले निर्जीवनमा देखिने समस्या यहाँ हुँदैन । प्रतिस्पर्धाको नाममा जस्तो पनि पोलिसी बेच्दा भविष्यमा समस्या देखिन सक्छ । एउटा कम्पनीले गरेको बदमासीको फल अन्य कम्पनीले पनि भोग्नुपर्ने हुन्छ । त्यसैले सबै कम्पनी सचेत भएर अगाडि बढ्न जरुरी छ । पोलिसी बेच्दा ध्यान पुर्‍याउने हो भने दाबी भुक्तानीमा समस्या आउँदैन ।

प्रकाशविक्रम खत्री

देशमा जीवन बीमाभन्दा निर्जीवन बीमाका सेवाग्राही धेरै छन् । संसारभरि निर्जीवनमा ह्रासकट्टी गरेर भुक्तानी दिइन्छ । तर, जीवन बीमामा ह्रासकट्टीको कुरै आउँदैन । जीवन बीमामा पोलिसी अनुसार जति रकमको बीमा गरिन्छ, प्रमाणित भएलगत्तै त्यति दिइन्छ ।

शिवराम तिमल्सिना

पोलिसी अनुसार बीमाको दाबी भुक्तानी हुने हो । निर्जीवनमा अलि बढी समस्या देखिने गरे पनि जीवन बीमामा त्यस्तो छैन । कहिलेकाहीं अनावश्यक माग भएर आउँदा समस्या देखिन सक्छ । तर, उपयुक्त मागदाबी गरेको बीमितले भुक्तानी नपाउने कुरै आउँदैन ।

पोषकराज पौड्याल

जीवन बीमा कम्पनीहरूले दीर्घकालीन रुपमा जोखिम बहन गर्न सक्ने क्षमता राख्छन् । आज रकम लिएर १५ वर्षपछि दिनुपर्ने हुन्छ । दिनुपर्ने रकम र बीमितका लागि तोकिएको प्रमाण निश्चित हुने भएकोले दाबी भुक्तानीमा समस्या छ भन्ने लाग्दैन । जीवन बीमामा आएका ९९ प्रतिशत दाबी समयमै भुक्तानी भएका छन् ।

मनोजकुमार भट्टराई

जीवन होस् वा निर्जीवन बीमा, कम्पनीले दाबी भुक्तानी गर्दैनन् भन्ने पटक्कै लाग्दैन । बीमा कम्पनी चल्ने भनेकै दाबी भुक्तानीले हो । निर्जीवन बीमाको बजार जीवनको भन्दा बढी छ । बजार ठूलो भएकाले समस्या पनि त्यहीं बढी छ । बीमा गरेपछि नियमित रुपमा प्रिमियम तिर्नुपर्छ भनेर थाहा नहुनेहरू एकैचोटि दाबी भुक्तानी गर्न आएका उदाहरण पनि छन् । यसमा जनचेतना फैलाउन नसक्नु समस्या हो ।

प्रविणरमण पराजुली

जीवन बीमामा दाबी भुक्तानीमा कुनै समस्या आउँदैन । के कारणले दाबी भुक्तानी पाइँदैन भनेर बीमितहरूले जानकारी राखे समस्या हुँदैन ।

श्रीचन्द्र भट्ट

जीवन बीमा थोरै मापदण्डमा चलेको हुनाले भुक्तानी दिन समस्या हुँदैन । किनभने यसमा निश्चित अवधि र रकम स्पष्ट तोकिएकै हुन्छ ।

बीमा कम्पनीहरूको संख्या बढेसँगै बीमा समितिले पनि पूँजी रु.२ अर्ब पुर्‍याउनुपर्ने बाध्यकारी नियम ल्याएको छ । मर्जरको सम्भावना के छ ?

प्रकाशविक्रम खत्री

भर्खरै नयाँ कम्पनीहरू खुलेका छन् । पुरानाले पनि राम्रो व्यवसाय गरिरहेका छन् । भविष्यबारे भन्न नसकिए पनि अहिले भने मर्जरको कुरा सोचिएकै छैन ।

सन्तोष प्रसाईं

मर्जरको कुरा अहिले नै गर्नु अलि हतार हुन्छ । सबैको व्यवसाय सन्तोषजनक रुपमा अगाडि बढिरहेको छ । तर, कुनै दुई कम्पनीको आवश्यकता र मन मिल्यो भने मर्ज हुन पनि सक्छ ।

मनोजकुमार भट्टराई

पुस मसान्तसम्मको तथ्यांक अनुसार सबै जीवन बीमा कम्पनीको पूँजी जोड्दा रु.२६ अर्ब पुगेको छ । यसमध्ये कति कम्पनीको धेरै छ, कतिको थोरै । आउँदो असार मसान्तसम्म सबैले पूँजी दुई अर्ब माथि पुर्‍याए भने ४२ अर्बभन्दा बढी हुन्छ । लगानीका हिसाबले हेर्दा अहिले नै मर्जरमा जानुपर्ने अवस्था छैन ।

प्रविणरमण पराजुली

मर्जरको कुरा गर्ने बेला भएकै छैन । केही समयको अभ्यासमा बजार कस्तो हुन्छ, कसरी अगाडि बढ्छ भन्ने हेरेर मर्जरको आवश्यकता हुनसक्छ ।

अहिले ब्याङ्कास्युरेन्सको चर्चा धेरै भए पनि नेपालमा यस सम्बन्धी ऐन छैन । खासमा यो संस्थागत अभिकर्ता हो कि, के हो ?

कमल पन्थी

यो संस्थागत अभिकर्ता हो । ब्याङ्कास्युरेन्स जस्तै अभ्यास भए पनि पूर्णरूपमा ब्याङ्कास्युरेन्समा जान ऐनको समस्या छ । ब्याङ्कास्युरेन्समा पोलिसी पनि फरक हुन्छ । तर, अहिले हामी जुन पोलिसी बेच्छौं, ब्याङ्कहरूले पनि त्यही गरिरहेका छन् ।

प्रकाशविक्रम खत्री

इन्सुरेन्स कम्पनीले अहिले ब्याङ्कका ग्राहक हेरेर सम्झौता गरिरहेका छन् । ग्राहक पोलिसी किन्न इन्सुरेन्स कम्पनीसम्म आउँदैनन्, तर आर्थिक कारोबारका लागि ब्याङ्क पुग्छन् । त्यसैले त्यहाँ पुगेका ग्राहक बीमामा पनि आबद्ध होउन् भन्ने उद्देश्यले काम भइरहेको छ । यसले बजार विस्तारमा सघाउ पुर्‍याएको छ । तर, ऐनको रुपमा स्पष्टता हुन जरुरी छ ।

शिवराम तिमल्सिना

सबै बीमा कम्पनीले सबै ब्याङ्कसँग सम्झौता गर्दा भोलि कुनै समस्या देखिन सक्छ । यसले सेवाग्राहीलाई पनि दोधारमा पार्छ । भारतमा जस्तै एउटा बीमा कम्पनी, एउटा ब्याङ्कको अभ्यासमा अगाडि बढ्दा राम्रो होला ।

सन्तोष प्रसाईं

नाम जे दिए पनि ब्याङ्कले बीमा कम्पनीकै पोलिसीहरू बेचिरहेका छन् । यसले निक्षेप संकलनमा केही सहजता ल्याएको छ । यो अल्पकालीन रुपमा भइरहेको सामान्य व्यावसायिक सम्झौता मात्रै हो । तर, एउटै ब्याङ्कले सबै कम्पनीको पोलिसी बेच्नु ग्राहकका लागि फाइदाजनक होइन ।

पोषकराज पौड्याल

हामीकहाँ यो नयाँ अभ्यास भए पनि यूरोपका धेरै देशमा ब्याङ्कास्युरेन्स मार्फत ठूलो संख्यामा बीमाका सेवाग्राही आउँछन् । ब्याङ्कलाई एजेन्सीको रुपमा अगाडि सारेर बाँकी सम्पूर्ण अधिकार बीमा कम्पनीसँग रहेकाले यो संस्थागत अभिकर्ता मात्रै हो ।

comments powered by Disqus

रमझम