विभागले चीनको छन्तुस्थित साउथ वेस्ट मेटालर्जिकल सेन्टरमा धौबादीबाट संकलित एक हजार किलो चट्टान नमूना परीक्षणका लागि पठाएको थियो । “त्यसमध्ये, ५०० किलो चट्टानको परीक्षणबाट स्पञ्ज आइरन राम्रो भएको नतिजा आएको छ, बाँकी ५०० किलोको नतिजा एक महीनाभित्र आउँछ”, विभागका महानिर्देशक सोमनाथ सापकोटा भन्छन् ।
बाँकी परीक्षणको नतिजा आएपछि यसको विस्तृत अध्ययन, परीक्षण उत्पादन र उत्खननको काम अघि बढाउने विभागको तयारी छ । अहिले विभागको एक टोलीले धौबादीमा इलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी (ईआरटी) प्रविधि मार्फत जमीनमुनिको चट्टानमा फलामको मात्रा अध्ययन गरिरहेको छ । प्रारम्भिक अनुमान अनुसार, यो क्षेत्रमा १० करोड टनभन्दा धेरै फलाम छ जसले नेपालको फलामको मागलाई वर्षौंसम्म थेग्न सक्छ ।
ठूलो भण्डार
करीब एक दशकअघि कोइला र अन्य खनिजको अध्ययन गर्न धौबादी पुगेको विभागको टोलीले एकै ठाउँमा ठूलो फलाम भण्डार फेला पारेको थियो । प्रारम्भिक अध्ययनमा करीब १० किलोमिटर लम्बाइ र २० मिटर चौडाइ क्षेत्रफलमा फलाम मिश्रित चट्टान रहेको देखिएपछि विभागले आफ्नै प्रयोगशालामा रासायनिक परीक्षण गर्दा त्यहाँको चट्टानमा फलामको मात्रा करीब ४० प्रतिशत रहेको पाइएको थियो । गुणस्तरका हिसाबले चट्टानमा भेटिएको फलाम सामान्य खालको भए पनि परिमाणका हिसाबले ठूलो भएको विभागका एक अधिकारी बताउँछन् ।
फलामको मात्रा ६० प्रतिशतभन्दा बढी भएका चट्टानबाट फलाम निकाल्न आर्थिक सम्भाव्यताको हिसाबले राम्रो मानिन्छ । फलामको मात्रा थोरै भएका चट्टानबाट फलाम निकाल्न सकिने भए पनि त्यस्ता चट्टानबाट नचाहिने वस्तु फालेर फलाम छुट्याउँदा लागत केही बढी लाग्ने विभागका अधिकारी बताउँछन् ।
छन्तुमा पठाइएका ४२ प्रतिशत फलामको मात्रा भएको चट्टानको पहिलो चरणमा गरिएको ‘बेनिफिकेसन र स्पञ्ज आइरन परीक्षण’ बाट ‘स्पञ्ज आइरन’ को मात्रा ९५ प्रतिशत पाइएको थियो । स्पञ्ज आइरन नै फलाम तथा स्टिलका लागि कच्चा पदार्थ हो । त्यस्तै त्यहाँ पठाइएको ३६ प्रतिशत फलामको मात्रा भएको चट्टानको परीक्षण जारी छ । धेरै र थोरै फलामको मात्रा भएको चट्टानको परीक्षणबाट औसतमा ९० प्रतिशतभन्दा धेरै स्पञ्ज आइरन पाइएमा खानी खोतल्न आर्थिक हिसाबले सम्भव हुने विभागको प्रारम्भिक अनुमान छ ।
अहिलेसम्म धौबादीमा फलामको ठूलो भण्डार देखिए पनि त्यो आर्थिक रूपमा सम्भव छ कि छैन भन्ने थाहा लागिसकेको छैन । विस्तृत अध्ययन तथा परीक्षण उत्खननबाट लागतको हिसाब आएपछि आर्थिक दृष्टिले यो खानी कत्तिको लाभदायक छ भन्ने यकिन हुनेछ ।
धौबादीमा फलामको भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएपछि निजी कम्पनीहरू पनि उक्त खानीको उत्खनन र अन्वेषणमा इच्छुक देखिएका छन् । नेपालमा ठूलो परिमाणमा फलामे छड उत्पादन गरिरहेको जगदम्बा स्टिल्सले यहाँको फलाम खानीको अन्वेषण र उत्खननमा आफू इच्छुक रहेको भन्दै विभागलाई पत्र लेखेको छ । यसअघि जगदम्बाले फुल्चोकीको फलाम खानी उत्खननको जिम्मा लिएको थियो । तर, स्थानीय बासिन्दाले खानीले वातावरण विनाश गराउने भन्दै अवरोध गरेपछि उसले फुल्चोकी खानी उत्खननको काम गर्न नसकिने विभागलाई जानकारी गराइसकेको छ ।
अन्यत्र पनि छन्
अहिलेसम्म देशका विभिन्न जिल्लाका ६५ स्थानमा फलाम खानीको संकेत देखिएको छ तर ती खानीमा कति परिमाण र कुन गुणस्तरको फलाम छ भन्ने अध्ययन र परीक्षण भने गरिएको छैन । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् १९६० को दशकमा मध्य हिमाली क्षेत्रको ३९ हजार वर्ग किमीमा गरेको प्रारम्भिक भू–रासायनिक अध्ययनले फलाम र अन्य धातुका दर्जनौं खानीको सम्भावना देखाए पनि तिनको विस्तृत अध्ययन हुनसकेको छैन ।
फलामलाई विकास र औद्योगिक विस्तारको आधार मानिन्छ । पूर्वाधार निर्माण र औद्योगिकदेखि घरायसी सरसामानसम्म बनाउन यसको प्रयोग हुन्छ । कमसल धाउ (पगालेको कच्चा फलाम) सिमेन्ट उत्पादन तथा भाँडाकुँडा बनाउन किटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधित फलामबाट स्पात, स्टिल, छड इत्यादि बनाइन्छ ।
नेपालमा फलाम खानीको परम्परागत उपयोग सयौं वर्षदेखि भए पनि व्यवस्थित उत्खनन हुनसकेको छैन । राणाकालमा दैनिक ९ नाल बन्दूक बन्ने गरेको ठोसेको फलाम तिब्बत निर्यात हुने गरेको इतिहास छ । रामेछाप र रोल्पा लगायत विभिन्न जिल्लामा रहेका परम्परागत फलाम खानीले सन् १९७० को दशकसम्म स्थानीय घरेलु माग धान्ने गरेको ‘मिनरल रिसोर्सेज अफ नेपाल’ पुस्तकमा उल्लेख छ ।
तर, अहिले मुलुकमा फलाम उत्पादन नहुँदा यसको अधिकांश हिस्सा भारतबाटै आयात भइरहेको छ । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महीनामा मात्र नेपालले रु.६७ अर्बभन्दा बढीको फलाम (स्टिल) र फलामजन्य वस्तु आयात गरेको छ । पूर्वाधार तथा भवन निर्माणमा आएको तीव्रताका कारण गएको केही वर्षदेखि फलाम (स्टिल) र यसका उत्पादन नेपालमा पेट्रोलियम पदार्थपछि धेरै आयात हुने वस्तु बन्न पुगेका छन् ।