हिमाल लाई प्राप्त दुर्घटनाग्रस्त विमानको ककपिट भ्वाइस रेकर्ड (सीभीआर) ले पाइलट सुल्तानको मानसिक अवस्था छानबिन आयोगको प्रतिवेदनमा उल्लेख गरिएभन्दा पनि खराब रहेको तथ्य उजागर गरेको छ । विगतमा सार्वजनिक एअर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग भएको पाइलटको कुराकानीको तुलनामा सीभीआरले उनको अझ् कमजोर अवस्था रहेको देखाएको छ । यो तथ्यले दुर्घटनामा ज्यान गुमाएका ५१ जनाको परिवार र आफन्तजनलाई सुरक्षा मापदण्ड र ‘स्टान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) पालना गरिएको भए उनीहरूको ज्यान जोगिन सक्थ्यो भनेर सोच्ने ठाउँ दिएको छ ।
चालकको चुक देखिने आधार
बाङ्लादेशको ढाका विमानस्थलबाट यूएस–बाङ्लाको बम्बार्डियर क्यू४०० विमान चालक दल सहित ७१ जना बोकेर काठमाडौंका लागि उडान भर्नु अघिदेखि नै पाइलट सुल्तानको बोली र व्यवहार असामान्य रहेको सीभीआरमा सुनिन्छ । सीभीआर अनुसार विमानमा प्रवेश गरेदेखि नै उनी यूएस–बाङ्लाको अपरेशन टीमसँग अश्लील शब्द प्रयोग गरेर बोलिरहेका छन् । टावर र ग्राउण्डसँग पाइलटले गरेको कुराकानीले उनी विमान उडाउन सक्ने मानसिक अवस्थामै नरहेको देखाउने एक पाइलट बताउँछन् । “उडान गर्नुअघि हतास र अस्थिर मनस्थिति देखिंदा देखिंदै ग्राउन्ड अपरेशनले उडान अनुमति दिनु गम्भीर गल्ती हो”, नाम नखुलाउने शर्तमा एक पाइलट भन्छन् ।
विमानको ककपिटमा सुल्तानसँगै रहेकी को–पाइलट पृथुला रसिद पहिलो पटक काठमाडौंको परीक्षण उडानमा थिइन् । उडान अवधिभर पाइलटले अश्लील शब्द प्रयोग गरे पनि पृथुला भने कम बोलेर धेरै सुनिरहेकी हुन्छिन् । अपरेशन टीमसँग र अन्य व्यक्तिको बारेमा अश्लील शब्द प्रयोग गरेका क्याप्टेन सुल्तानले को–पाइलटलाई भने नराम्रो वचन लगाएका छैनन् । बरु उडानका क्रममा सुल्तानले को–पाइलटसँग कुरा गर्दा रुँदै आफू पीडामा रहेको पटकपटक बताएका छन् । उनले कुराकानीमा दुर्घटनाको अघिल्लो रात (२७ फागुन २०७४) आफू नसुतेको, भविष्यबारे चिन्तित रहेको बताएका छन् । एक घण्टाको उडान अवधिमा क्याप्टेन सुल्तानले को–पाइलटलाई सिकाउन केही समय मात्र खर्चेका छन् ।
छानबिन आयोगले अनुसन्धान प्रतिवेदनमा क्याप्टेन सुल्तानले विमानको ककपिटमा अनावश्यक कुरा गरेको उल्लेख गरेको छ । हुन पनि सीभीआर अनुसार क्याप्टेन सुल्तान उडान शुरू भएदेखि विमान दुर्घटना नहुँदासम्म को–पाइलटसँग अनावश्यक कुराकानी गरिरहेको सुनिन्छ । कुराकानीका क्रममा सुल्तानले विगतमा आफूबाटै प्रशिक्षण लिएकी महिला को–पाइलट फरहात लामिया खालेदको विषयमा अश्लील गालीगलौज गरेका छन् । लामियाले आफूलाई राम्रो प्रशिक्षक पाइलट नभएको टिप्पणी गरेको भन्दै उनी तीव्र आक्रोश पोख्छन् । उनले को–पाइलट पृथुलासँग भनेका छन्, “मलाई विमानकै ककपिटमा लामियासँग यौन सम्बन्ध राखेको गलत आरोप लगाइएको छ । उनलाई मैले इमानदारीपूर्वक सिकाएको थिएँ, तर अहिलेसम्म सिकाएकामध्ये उनी एकदम कमजोर थिइन् ।”
यति मात्र होइन, पाइलट सुल्तानले लामियाको शारीरिक बनावट, चरित्र आदिबारे अति भद्दा टिप्पणी गरेका छन् । उडान अवधिभर लामियाको चरित्रमाथि सुल्तानले गम्भीर आक्षेप लगाएका छन् । उडानका क्रममा क्षणमै रिसाउने र क्षणमै नम्र हुने सुल्तान आफूबारे गरिएका टिप्पणीलाई लिएर निकै चिन्तित देखिन्छन् । लामियासँग जोडेर आफूमाथि निराधार आरोप लागेको भन्दै सुल्तानले कम्पनी छोड्ने निर्णयमा पुगेको को–पाइलट पृथुलालाई बताएका छन् ।
पाइलट विमान अवतरणको अवस्थासम्म अनौपचारिक कुरामा अल्झ्एिका छन् । जसका कारण धावनमार्ग भन्दा तीन किलोमिटर पूर्व विमान पुगेको उनलाई पत्तो हुँदैन । हिमालयन एअरलाइन्सका क्याप्टेन रिवाज प्रधान विमान उडान र अवतरण गर्दा पाइलटले गर्ने सानो कमजोरीले ठूलो मूल्य चुकाउनुपर्ने बताउँछन् । “पाइलटले विमानमा अनौपचारिक कुरा गर्नै हुन्न भन्ने हँुदैन । तर १० हजार फिट भन्दा मुनि पुगेर पनि अनौपचारिक कुरामा अल्झ्निु हवाई सुरक्षाका हिसाबले जोखिमपूर्ण हुन्छ ।”
छानबिन आयोगले प्रतिवेदनमा क्याप्टेन सुल्तान तनावमा हुनु र उडानमा ध्यान केन्द्रित नहुनु दुर्घटनाको मुख्य कारण भएको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, “यूएस–बाङ्लामा कार्यरत एक महिला सहकर्मी (लामिया) ले पाइलटको प्रशिक्षण क्षमतामाथि प्रश्न उठाएपछि क्याप्टेन सुल्तान तनावमा परेका छन् । चालक दलका सदस्यले स्टान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) विपरीत उडान अवधिभर अनावश्यक कुरा गर्नुका साथै उडान क्रममा क्याप्टेन सुल्तानले चुरोट खाएको देखिएको छ । जुन गम्भीर लापरबाही हो ।”
विमान काठमाडौं विमानस्थलमा अवतरण गर्ने क्रममा भने क्याप्टेन सुल्तान केही सजग भएर को–पाइलटलाई विमान अवतरणको तयारी गर्न निर्देशन दिन्छन् । विमान अवतरणको तयारी गर्दा सुल्तानले ल्यान्डिङ गियर तल झ्रिसकेको बताउँछन्, तर गियर माथि नै थियो । क्याप्टेन सुल्तानले पृथुलालाई अवतरणको तयारी गर्न केही मिनेटभित्रै पाँच पटक भनेका थिए, पृथुलाले हरेक पटक तयारीबारे सुनिश्चित गरेकी छन् । तर पनि ल्यान्डिङ गियर माथि नै रहेको अडियो चेतावनी पृष्ठभूमिमा सुनिन्छ । त्यसपछि क्याप्टेन सुल्तान र को–पाइलट पृथुलाको निकै बेचैन आवाज सुनिन्छ ।
त्रिभुवन विमानस्थलको राडरले विमान अवतरणका लागि ‘भीओआर–डीएमई’ (चारै दिशाको क्षेत्रफल र दूरी मापनको उपकरण) पहुँचको मान्यता अनुसार विमानस्थल टावरलाई हस्तान्तरण गरेको छ । तर, विमान अवतरणका लागि आउँदा धावनमार्गबाट तीन किलोमिटर पूर्वतर्फ थियो । त्यसबेला अमेरिकी शिक्षक मार्गी डोनाह्यु भक्तपुरको बालकोटमा थिइन्, उनले उक्त विमान आफ्नो निवासको ठीक माथिबाटै उडेको देखेकी थिइन् । “शुरूमा त विमान हाम्रै घरको छानामा ठोक्किन्छ जस्तो लागेको थियो । विमानको गति र अवस्था हेर्दा यो कतै न कतै दुर्घटना हुन्छ भन्नेमा निश्चित थिएँ”, उनी भन्छिन् ।
‘एटीसीको पनि कमजोरी’
पाइलट सम्पर्कमा आएपछि पुरुष कन्ट्रोलरले धावनमार्गमा विमान रहेकाले तत्काल अवतरण नगर्न निर्देशन दिए । तर विमान काठमाडौं उपत्यकाभित्र प्रवेश गर्दै धावनमार्गभन्दा तीन किलोमिटर पूर्व पुग्दा पनि पाइलटले विमान सही ट्र्याकमा आइरहेको भन्ने सोचेको सीभीआरले देखाएको छ । उनले कोटेश्वरतर्फको ०२ रनवेबाट अवतरण गर्न चाहेका छन् । विमान शिवपुरी डाँडा नजिकै पुगेपछि क्याप्टेन सुल्तान हतारमा विमानस्थलतर्फ घुमाउँछन् । एअर ट्राफिक कन्ट्रोलरमा दृढताको कमी, भाषाको समस्या, गलत व्याख्या लगायतका समस्या देखिएका छन् । कन्ट्रोलरले विमान धावनमार्ग भन्दा तीन किलोमिटर पर रहेको जानकारी तत्काल गराउन सकेका छैनन् ।
एअरबस ३३० विमान उडाउँदै आएका एक पाइलट भन्छन्, “यूएस–बाङ्लाको विमान दुर्घटना हुनुमा पाइलटको गल्ती त छँदैछ तर एटीसीले विवेकपूर्ण निर्णय गर्न सकेको भए दुर्घटनाबाट बचाउन सकिन्थ्यो । विमान रनवेबाट तीन किलोमिटर पूर्व हुँदै शिवपुरीतर्फ चक्कर लगाउँदा रनवेको दुवैतर्फमध्ये जतासुकैबाट अवतरण गर्न दिनुभन्दा मिस अप्रोच गर्न लगाउनुपथ्र्यो ।” विमान धावनमार्ग नजिकै पुगेर अवतरण नगरी उडान गर्नुलाई ‘मिस अप्रोच’ भनिन्छ ।
ककपिटमा जमीनको निकटताबारे चेतावनी दिन जडान गरिएको प्रणाली (ईजीपीडब्लूएस) ले विमान शिवपुरी पुगेको चेतावनी निरन्तर दिइरहेको थियो । पहाडसँग ठोक्किनबाट बचाउन क्याप्टेन सुल्तानले विमानलाई घुमाएका छन् । को–पाइलट पृथुला डराएको महसूस गरेपछि सुल्तानले आश्वस्त पार्न सुस्तरी भनेका छन्, “मबाट एउटा गल्ती भयो । यस्तो त कहिलेकाहीं भइहाल्छ नि !”
शिवपुरी डाँडाको फेदीमा रहेको गागलफेदी गाउँका बासिन्दा डरलाग्दो गरी निकै तलको उँचाइबाट उडिरहेको विमान हेर्न जम्मा भएका थिए । डाँडा नजिकै ठोक्किने अवस्थामा पुगेर, ल्यान्डिङ लाइट बालेर, मुख्य गियर तल झर्दै विमान धावनमार्गतर्फ गएको दृश्य स्थानीयले मोबाइलमा खिचेर यूट्यूबमा राखेका छन् । विमान शिवपुरी डाँडामा ठोक्किनै लागेको दृश्य पनि भिडियोमा छ ।
आन्तरिक उडान गरिरहेका दुई नेपाली पाइलटले आफ्नो विमानको ककपिटमा कुराकानीका क्रममा यूएस–बाङ्ला विमान हराउन लागेको भन्ने रेकर्ड एटीसीको टेपमा सुनिन्छ । उनीहरूले भनेका छन् “पाइलटको अवस्था ठीक छ जस्तो देखिंदैन । कता जाँदैछ भन्ने पनि थाहा छैन जस्तो छ ।” विमान ६ हजार ५०० फिट माथिबाट उत्तर पश्चिम हुँदै अवतरणको प्रयास गरिरहे पनि धावनमार्ग भन्दा बाहिर थियो ।
हतारिएका क्याप्टेन सुल्तानले शिवपुरी डाँडाबाट विमान जोगाएर ल्याई धावनमार्ग देख्नासाथ ह्यांगर भवनको केवल ४५ फिट माथिबाट खतरनाक तरिकाले विमान अवतरण गरेका थिए । विमान दुर्घटना हुँदा विमानस्थल नजिकै चक्रपथमा गाडी चलाइरहेका अरनिको पाण्डेले यूएस–बाङ्ला विमान विमानस्थलको ह्याङ्गरमा राखिएको एटीआर ७२ विमान र टावरसँग ठोक्कियो भन्ने सोचेका थिए । “केही क्षणमा धुवाँको कालो मुस्लो देखियो”, पाण्डे सम्झ्न्छन् ।
टावरमा रहेका एअर ट्राफिक कन्ट्रोलरहरू विमान सोझै आफूहरूको अगाडि आएको देखेपछि त्रस्त भएका थिए । सो विमान अन्तर्राष्ट्रिय एप्रोनमा राखिएको यात्रुले खचाखच भरिएर उड्ने तयारीमा रहेको ७७७ र कैयौं ७३७ र ३२० विमानहरूलाई नछोई दुर्घटनाग्रस्त भएको थियो । विमान १५ डिग्रीमा अवतरणका लागि धावनमार्गतर्फ आउँदा दायाँ ल्यान्डिङ गियर लाग्नु अघि नै दुर्घटना भयो । विमानको बायाँ भागमा रहेका अधिकांश यात्रुको जलेर मृत्यु भयो । अगाडि र दायाँतर्फ बसेका केही यात्रु मात्र बाँचे ।
अन्तिम केही सेकेण्ड एकैसाथ ककपिटमा आएका धेरै चेतावनी सीभीआरमा रेकर्ड भएका छन् । ‘पहाड, पहाड’, ‘सिङ्क रेट, पुल अप, पुल अप’, ‘ब्याङ्क एङ्गल, ब्याङ्क एङ्गल ।’ यस्तै, रेडियो अल्टिमिटरको चेतावनीमा सुनिन्छ ‘१०० मिनीमम्स’, फेरि ‘५०’ ।
अन्तिम शब्द को–पाइलट पृथुलाको छ, पाइलटलाई सजग पार्दै भनेकी छन्, “सर ! सर ! !”
साथमा शरद ओझा