२६ फागुन- २ चैत २०७५ | 10-16 March 2019

आँगनमा छाता

Share:
  

हिउँद निख्रिनै लागेको छ, धेरैलाई फुर्सदका बेला दिउँसो आँगनमा बसेर बाहिरी रमाइलो अनुभव गर्न मन लागेको हुनसक्छ । तर, चर्कंदो घाम समस्या भइदिन्छ । यस्तो बेला घामबाट जोगाउने उपाय हो, बगैंचे छाता अर्थात् गार्डेन अम्ब्रेला । आवश्यकता अनुसार ढल्काउन, तल–माथि सार्न मिल्ने यो छाता घरको छतमा समेत राख्न मिल्छ ।

आँगन वा बगैंचामा बसेर चिया–कफी पिउन, अखबार पढ्न, गफिन वा टाढा हेर्दै सोचमग्न हुन चाहनेहरूका लागि पनि यो छाता उपयोगी हुन्छ । त्यस्तै दिउँसो घाम लागेको वा पानी परेका बेला केही बेर बाहिरै सुस्ताउन चाहनेका लागि पनि यो छाताले सजिलो पारिदिन्छ ।

अचेल बजारमा पाइने जस्तै नभए पनि घरबाहिर उपयोग गरिने छाताको प्रयोग इजिप्ट, ग्रिक, चीन र भारतमा प्राचीनकालदेखि नै हुँदै आएको त्यसबेलाका कलाकृतिहरूबाट पुष्टि हुन्छ । आधुनिक छाताको पहिलो व्यवस्थित पसल भने सन् १८३० मा लन्डनमा स्थापित जेम्स स्मिथ एण्ड सन्सलाई मानिन्छ । स्टिलका करङ भएको छाताको आविष्कार सन् १८५२ मा स्यामुएल फक्सले गरेको मानिन्छ । यसअघिका छातामा काठ वा ह्वेल माछाको हड्डी प्रयोग गरिन्थ्यो । स्टिलको स्ट्यान्ड सहितको बगैंचे छाता भने अफ्रिकी अमेरिकी उद्योगी विलियम सीले सन् १८८५ मा बनाए । त्यसपछि विभिन्न डिजाइन र सुविधा भएका गार्डेन अम्ब्रेलाको विकास हुनपुग्यो । र, बेलायतका कफी शपहरूमा यो अनिवार्य जस्तै भयो । एक तथ्यांक अनुसार सन् २००८ सम्म अमेरिकाको पेटेन्ट कार्यालयमा छाता सम्बन्धी तीन हजार आविष्कार दर्ता भइसकेका छन् ।

गार्डेन अम्ब्रेलाले घरमा हुने सानोतिनो जमघटलाई समेत व्यवस्थित गर्न मद्दत पुग्छ । यस्तो छाता होटल, रेस्टूराँदेखि विभिन्न कार्यालयका आँगनहरूमा समेत देखिन्छन् । नटबोल्ट कसेर जोड्न मिल्ने यो छाता हुरीबतास चलेका बेला उखेलेर घरभित्र सुरक्षित राख्न मिल्छ । आँगन वा छतमा यसलाई अड्याएर राख्न यसको फेदमा फलाम, सिमेन्ट वा मार्बलको वजनदार स्ट्याण्ड राखिएको हुन्छ । होटल रोस्टूराँहरूमा भने टेबलको बीचमा रहेको प्वालमा डण्डी छिराएर यस्तो छाता अड्याइएको हुन्छ ।

गार्डेन अम्ब्रेलाको रंग भने वर्षामा ओढिने छाता जस्तो कालो रंगको उपयुक्त हुँदैन– तापक्रम बढी सोस्ने भएकोले । सेतो वा अन्य हल्का रंगको छाता बढी शीतल हुन्छ । उसो त बजारमा रुचि अनुसारको रंग छनोट गर्ने सुविधा छ । नेपाली बजारमा रु.३ हजारदेखि रु.१२ हजारसम्मका गार्डेन अम्ब्रेला पाइन्छन् । काठमाडौंमा गार्डेन अम्ब्रेलाको एक बिक्रेता बागबजारस्थित पीबी फर्निसिङका सञ्चालक दीपकभक्त श्रेष्ठ हिजोआजका ग्राहकहरुले घरको रंगसँग मिल्ने वा आँगनमा हरियो दूबो भए त्यहीसँग मिल्ने रंग छनोट गरिरहेको बताउँछन् । चलनचल्तीका गार्डेन अम्ब्रेलामा बीचमा डण्डी हुने भए पनि अचेल एकछेउमा डण्डी भएका आकर्षक डिजाइनका पनि पाइन्छन् । घर बाहिर जमघट गर्नुपर्दा, पिकनिक गर्दा समेत यस्ता छाता लगेर चाहिएको ठाउँमा अड्याउन मिल्छ ।

comments powered by Disqus

रमझम