यो दृश्य हो, प्रदेश–५ को बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको । संक्रामक फोहोर खुला रूपमा विसर्जन गरेर जलाइँदा वायु प्रदूषणले अस्पताल क्षेत्रलाई दैनिक पिरोल्ने गरेको छ । फोहोर व्यवस्थापन गर्ने अत्याधुनिक प्रविधि नहुँदा स्वास्थ्यकर्मीहरू धुवाँ रङमङाएको उपचार कक्षमा बिरामीको रेखदेख गरिरहेका हुन्छन् ।
फोहोर जलाउने ठाउँ नजिकैको प्रसूति कक्षमा दैनिक ५० जना महिला सुत्केरी हुन्छन् । पोषण गृहमा दैनिक १० जना बालबालिकाको उपचार हुने गरेको छ । अञ्चल अस्पतालबाट केही समय अघि मात्र सेवा निवृत्त सूचना अधिकारी लक्ष्मीराज रेग्मी अस्पताल परिसरमै फोहोर जलाउँदा उपचारसँगै वरपरको बस्तीमा समेत बाधा पुगिरहेको बताउँछन् । उनी भन्छन्, “फोहोर व्यवस्थापनका लागि पटकपटक बहस भए, तर नयाँ प्रविधि भित्रिन नसक्दा समस्या कायम छ ।”
अस्पतालमा अहिले पनि २०५० सालमा भित्र्याइएको इन्सिनेरेटरबाट फोहोर जलाउने गरिन्छ, जुन उपकरणलाई विश्व स्वास्थ्य संगठनले प्रतिबन्धित गरिसकेको छ । यो उपकरण अस्पतालबाट उत्पादित फोहोर जलाउने पूर्ण क्षमताको छैन ।
अस्पतालमा दैनिक दुई क्विन्टल फोहोर निस्किए पनि मेसिनमा दैनिक २० किलो मात्र जलाउन मिल्ने अस्पताल स्रोत बताउँछ । अस्पतालजन्य फोहोरलाई कुहिने, प्लास्टिक र सिसाजन्य पदार्थ गरी तीन वर्गमा छुट्याएर व्यवस्थापन गर्नुपर्ने भए पनि यहाँ वर्गीकरण पनि हुँदैन । एक कर्मचारी भन्छन्, “त्यसरी व्यवस्थापन गर्ने प्रविधि र ठाउँ नै छैन ।”
अस्पतालको तथ्यांक अनुसार यहाँ लुम्बिनी अञ्चलका ६ सहित १३ जिल्लाबाट दैनिक १५०० बिरामी उपचारका लागि आउँछन् । यति ठूलो संख्यामा बिरामी आउने अस्पतालमा फोहोर व्यवस्थापनमा हेलचेक्र्याइँ गरिनु स्वास्थ्य क्षेत्रकै लागि विडम्बना भएको उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीका अध्यक्ष नर्बु लामा बताउँछन् ।
प्रायः अस्पतालमा उस्तै
लुम्बिनी अञ्चल अस्पताल मात्र नभई बुटवलका प्रायः सबै अस्पतालमा फोहोर व्यवस्थापनको समस्या छ । सरकारले अस्पतालको प्लास्टिकजन्य फोहोर खुला रूपमा जलाउन नपाइने नीति ल्याए पनि उनीहरूले नयाँ प्रविधि भित्र्याउन नसक्दा त्यसको पालना गरेका छैनन् ।
बुटवल अस्पतालका निर्देशक मुक्ति पौडेलका अनुसार अस्पतालको फोहोर व्यवस्थापन गर्न उपयुक्त मानिएको अटो क्लेभ नामक प्रविधिको मेसिन लुम्बिनी अञ्चलमै छैन । बुटवलमा सरकारी र निजी गरी १२ वटा ठूला अस्पताल छन् । करीब रु.७० लाख पर्ने यो मेसिनले फोहोर काट्ने, टुक्र्याउने र ब्याक्टेरिया नष्ट गरेर व्यवस्थापन गरिन्छ । गएको वर्ष यहाँका सबै अस्पताल मिलेर उक्त मेसिन ल्याउने सल्लाह गरे पनि अहिलेसम्म भित्र्याउन सकेका छैनन् । “फोहोर व्यवस्थापनमा नयाँ प्रविधि आवश्यक भएकाले सबै मिलेर ल्याउने जोड गरेका हौं । नगरपालिकासँग पनि कुरा गर्दैछौं”, पौडेल भन्छन् ।
चिकित्सकहरूका अनुसार अस्पतालजन्य फोहोर अन्य फोहोरभन्दा बढी विषाक्त हुन्छन् । स्वास्थ्य संस्थाबाट निस्किने प्लास्टिकयुक्त फोहोर खुला ठाउँमा जलाउँदा उत्पन्न हुने डायोक्सिन नामक ग्यास हावामा फैलिएर क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने चिकित्सकहरू बताउँछन् । यस्तो ग्यासले महिला र बालबालिकामा अझ् बढी स्वास्थ्य समस्या निम्त्याउने सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का निर्देशक तथा बालरोग विशेषज्ञ डा.विनोद पराजुली बताउँछन् । उनको भनाइमा त्यस्तो ग्यास र धुवाँले गर्भवती महिलालाई विभिन्न संक्रमण गर्छ र बच्चाको वृद्धि विकासमा असर पुर्याउँछ । कुपोषित बालबालिकालाई झन समस्यामा पार्ने उनी बताउँछन् ।
रगत, खकार, सालनाल लगायतका संक्रामक फोहोर खुला ठाउँमा छाडेर तत्काल नष्ट नगरिए त्यसबाट स्वस्थ मानिसमा पनि विभिन्न संक्रमण फैलन सक्ने चिकित्सकहरू औंल्याउँछन् । उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीका अध्यक्ष लामा प्रश्न गर्छन्, “बिरामी निको पार्ने ठाउँमै फोहोर व्यवस्थापन अस्तव्यस्त पारेर झन बिरामी बनाउन पाइन्छ ?”
गुरुयोजना बन्दै
प्रदेशभरका अस्पतालमा फोहोर व्यवस्थापनमा समस्या देखिएपछि प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । सामाजिक विकासमन्त्री सुदर्शन बराल भन्छन्, “अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि गुरुयोजना नै बनाएर अघि बढ्दैछौं ।”
मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.उमाशंकरप्रसाद चौधरीका अनुसार फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधिका औजार–उपकरण खरीद, आवश्यक सहयोग र प्रोत्साहन जस्ता कार्यक्रम सञ्चालन हुनेछन् । अटो क्लेभ प्रविधि अनुसार फोहोरको वर्गीकरण, निर्मलीकरण र रिसाइक्लिङ गर्ने योजना छ ।
शुरूमा अञ्चल अस्पतालहरूमा यस्तो कार्यक्रम लागू हुने र क्रमशः अन्य अस्पतालमा पनि विस्तार गर्ने कार्यक्रम छ । प्रदेश–५ मा लुम्बिनी, राप्ती र भेरी गरी तीन वटा अञ्चल अस्पताल छन् । यी कुनै पनि अस्पतालमा फोहोर व्यवस्थापन गर्ने आधुनिक उपकरण छैन ।