३-९ चैत २०७५ | 17-23 March 2019

विखण्डनको सन्त्रास

Share:
  
- शेखर खरेल
पृथकतावादी अभियानमा लागेका सिके राउतले मूलधारको राजनीतिमा प्रवेश गर्ने भन्दै सरकारसँग सम्झौता गरे पनि उनले छोडेको विखण्डनको ‘खिल’ ले भने सताइरहने डर छ।

बिक्रम राई
प्रधानमन्त्री केपी शर्मा ओली शायद अरूलाई अचम्भित पार्नुमा आनन्द मान्छन् । पछिल्लो आम निर्वाचनको सँघारमा उनी स्वयंले नै त्यसअघि सर्वाधिक विरोध र कटाक्ष गर्दै आएको दल नेकपा (माओवादी केन्द्र) सँग नेकपा (एमाले) को चुनावी गठबन्धनको घोषणा गर्दै आम मतदातालाई चकित पारे । आफ्नो सत्तारोहणले वर्ष दिन पार गर्दै गर्दा प्रम ओलीले एउटा यस्तो ‘डिल’ बारे खुलासा गरे, जसबाट आम मतदाता मात्र नभई उनकै दल नेकपाका पार्टी सचिवालयका अधिकांश सदस्य नै अचम्भित भए । स्वतन्त्र मधेशको मुद्दा उचाल्दै पृथकतावादी राजनीति गर्दै आएका सिके राउतसँग गएको २४ फागुनमा ११ बुँदे सम्झैता गर्नुको केही घन्टा अघि मात्र बसेको सचिवालय बैठकमा उक्त ‘डिल’ बारे उनले खुलाएका थिए ।

राउतसँगको सम्झैता देश हितको पक्षमा थियो वा थिएन भन्ने कुरामा सामान्यजन त पर छाडौं, राजनीतिक दलका नेताहरूसम्मको मथिङ्गल सम्झैताको पर्सिपल्टसम्म घुमिरह्यो, जतिबेला जनकपुर पुगेका राउतलाई उनका कार्यकर्ताले स्वतन्त्र मधेशको झण्डा र नाराले स्वागत गरेका थिए । सम्झैताको दोस्रो बुँदामा उल्लिखित ‘जनअभिमत’ शब्दलाई राउत पक्षले जनमतसंग्रहको रूपमा बुझेर अथ्र्याएपछि विभिन्न शंका उब्जिरहँदा कार्यकर्ताले लगाएको स्वतन्त्र मधेशको नाराले सम्झैताप्रति अझ् आशंका बढायो । उनले विखण्डनको मुद्दा बिसाएरै मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् भन्नेमा विश्वस्त हुने आधार तयार भइसकेको छैन ।

मधेशमा विखण्डनको मुद्दा उठाउने सिके राउत पहिलो व्यक्ति होइनन् । राणाशाहीको अन्त्यसँगै वेदानन्द झाले यो कुरा झिनो स्वरमा उठाएका थिए । तर, समयक्रममा उनी काठमाडौंका शासकसँगको सम्झैता मार्फत सत्ताको खुट्किला चढे । पहिलेका झा हुन् वा अहिलेका राउत, विखण्डनको मुद्दाले तराई–मधेशको ठूलो जनमानसलाई कहिल्यै आकर्षित गरेन । बरू, मधेशमाथिको केन्द्रीय सरकारको विभेद वा तिरस्कारले मधेश र केन्द्रबीच तनाव सिर्जना गर्दै आएको छ । रामराजाप्रसाद सिंह, गजेन्द्रनारायण सिंह, उपेन्द्र यादव र राजेन्द्र महतो आदिले उठाएको मुद्दाको केन्द्रमा यही विभेद वा तिरस्कार रहने गरेको छ । उनीहरूका गुनासा काठमाडौंसँगको सम्झैताबाटै मत्थर पनि हुँदै आएका छन् । यसैको पछिल्लो कडी बनेका सिके राउतमाथि भने संशय बाँकी नै छ ।

अमेरिकामा वैज्ञानिकका रूपमा काम गरेर २०६३ सालमा नेपाल फर्किएका राउत ८ जेठ २०६९ मा काठमाडौंमा पत्रकार सम्मेलन मार्फत स्वतन्त्र मधेश आन्दोलनको उद्घोष गर्नुअघिसम्म गुमनाम थिए । त्यस घोषणापछि पटकपटकको पक्राउ र उनले उठाएका मुद्दामाथि युरोपेली मुलुकहरूको चासोका कारण राउत शंकाको घेराभित्र पर्दै आए । उनीमाथि संशयका निश्चित कारण छन् । पहिलो कारण, उनले उठाएको स्वतन्त्र मधेश विखण्डनकारी मुद्दा हो । दोस्रो, उनको प्रादुर्भाव यस्तो समयतिर भयो, जुनबेला मधेशकेन्द्रित दलहरू काठमाडौंसँग अधिकारका लागि लडिरहेका थिए ।

दोस्रो जनआन्दोलनपछि पूरै मधेश उम्लिरहेकै वेला सिके अधिकार मात्र नभएर एउटा उग्र मुद्दाका साथ एकाएक दृश्यमा आए, जसले राज्य विखण्डन नै हुने त होइन भन्ने संशय पैदा गर्‍यो । अर्कातिर, राउतको विखण्डनकारी मुद्दाले मधेशकेन्द्रित दलहरूलाई सम्हालिएर हिंड्न बाध्य पार्‍यो । आफ्ना मुद्दा मधेशी जनताको बृहत्तर हित र अधिकारसँग सम्बन्धित र आफूहरू अखण्ड नेपालकै पक्षधर रहेको कुरा प्रमाणित गर्न पनि मधेशकेन्द्रित दलहरूले मध्यममार्ग रोज्नुपर्‍यो ।

२४ फागुनको ११ बुँदे सम्झैता मार्फत मूलधारको राजनीतिमा प्रवेश गरेका भनिएका राउत मुद्दा भन्दा पनि उद्देश्यमा सफल देखिएका छन् । तर, सम्झैताको बुँदा २ मा रहेको ‘जनअभिमत’ शब्द ‘ग्रे एरिया’ (अपरिभाषित पदावली) का रूपमा देखा परेको छ । यसलाई सरकार र राउत पक्षका साथै अन्यले आ–आफ्नो आग्रह र पूर्वाग्रह, विवेक र सुविधा अनुरूप व्याख्या गरिरहेका छन् । सम्झैतामा ‘ग्रे एरिया’ छाडिदिनु सरकारका तर्फबाट भएको गम्भीर भूल हो । सम्झैताप्रति राउत कति प्रतिबद्ध छन् भन्ने कुरा उनका आगामी गतिविधिबाटै निरुपण हुनेछ । तर, आगामी दिनका निम्ति समेत रहिरहने अल्झे उनको भाष्य हो । उनी राजनीतिको मूलधारमा समाहित होलान् नहोलान्, त्यो बेग्लै विषय हो । तर, उनले जुन विखण्डनको ‘खिल’ गाडिदिएका छन्, त्यसले धेरै वर्षसम्म देशलाई बिझाउनेछ ।

comments powered by Disqus

रमझम