३-९ चैत २०७५ | 17-23 March 2019

संकटमा ऐतिहासिक स्थाननाम

Share:
  
- वसन्त महर्जन
निश्चित भूभागलाई जनाउने संकेत शब्द स्थाननाम आधुनिकताको कोपभाजनमा पर्दा इतिहास मासिने जोखिम बढेको छ।

‘किपू’ बाट कीर्तिपुर।
भक्तपुरको दक्षिण भेगमा एउटा सानो र पुरानो बस्ती छ, चित्रपुर । सदियौंदेखि ‘चोपू’ नामले चिनिएको यो बस्तीको नयाँ नाम कसरी रहन पुग्यो भन्ने सन्दर्भ विस्मयकारी छ । बस्तीमा केही दशकअघि छिर्ने केही सरकारी अधिकृतलाई मौलिक नाम पाच्य भएनछ र चोपूलाई संक्षेपीकृत मान्दै हठात् नयाँ नाम ‘चोरपुर’ राखिदिएछन् । स्थानीयको भावना गाँसिएको पुख्र्याैली स्थाननाम एकाएक परिवर्तन गरिंदा सबैको मन दुख्छ  । त्यसमा पनि अपहेलित गर्ने नयाँ नाम राखिंदा ‘चोपू’ का बासिन्दा अप्ठ्यारोमा परे । गाउँलेको भेलाले बरु ‘चित्रपुर’ नाम राख्ने निधो गर्‍यो र त्यही नाम कायम भयो ।

इतिहास अध्ययनका लागि पुरातात्विक उत्खनन र विश्लेषण वैज्ञानिक पद्धति हो । त्यसरी नै विभिन्न स्थानविशेषका मौलिक नामको अध्ययन तथा विश्लेषणबाट इतिहासका विभिन्न पाटा खुल्छन् । तर, पुराना स्थाननाम (भौगोलिक नाम) मेट्ने र नयाँ नामकरण गर्दै जाने प्रवृत्तिले इतिहास मास्नुका साथै अध्ययनमा पनि असर पारिरहेको छ ।

काठमाडौं उपत्यकाभित्र रहेका धेरैजसो स्थानको नाम दोहोरो छ । उदाहरणका लागि ‘यें’ (काठमाडौंको प्राचीन र कोर एरिया), ‘यल’ (पाटन), ‘ख्वप’ (भक्तपुर), किपू (कीर्तिपुर), बुंग (बुङ्गमती), ख्वना (खोकना), धमाथू (धर्मस्थली), ल्हुति (बालाजु), थसि (हरिसिद्धि) जस्ता कैयौं नाम छन् । यी मौलिक नामको अध्ययन र विश्लेषण गरी प्राचीन इतिहास र सभ्यता पहिल्याउन सकिनेतर्फ ध्यान गएकै छैन ।

अर्थको अनर्थ हुने गरी स्थाननामको आधुनिकीकरण गर्ने प्रवृत्ति पनि छ । काठमाडौंको खिचापोखरी यसको उदाहरण हो । राणाकालसम्म त्यहाँ एउटा ठूलो पोखरी थियो, स्थानीयवासी बिहान त्यहाँ मुख धुन जान्थे । नेपाल भाषामा अनुहारलाई ‘खे’ र धुनेलाई ‘चा’ भनिने भएकाले मुख धुने पोखरीको अर्थमा ‘खेचा पुखू’ नाम पाएको थियो । तर, अहिले यसैलाई ‘खिचापोखरी’ बनाइदिंदा नेपाल भाषामा ‘खिचा’ को अर्थ कुकुर हुने भएकाले अनर्थ लागेको छ । कीर्तिपुरमा एउटा पुरानो बजार छ, ‘खाःसि’ । पोखरी किनारमा रहेकाले ‘खाःसि’ भनिएको यो बजारलाई अहिले ‘खासीबजार’ भनेर कुखुरा मर्ने ठाउँको रूपमा चिनाउने गरिन्छ । कतिपयले त यसलाई खसीबजार भनेर समेत बुझने गर्छन् ।

नेवार बस्तीमा चारैतिर घर बनेर बीचमा खाली रहेको ठाउँलाई चुक वा चोक भनिन्छ । तर, काठमाडौं वरिपरिका विभिन्न डाँडा वा थुम्कोको नाममा समेत चोक शब्द राखिएका छन्, जस्तोः दहचोक, कालिञ्चोक, पलाञ्चोक आदि । उपत्यकामा बोलिने नेपाल भाषामा मात्रै नभई तामाङ लगायत अन्य भाषामा पनि थुम्कोलाई ‘चो’ भनिने तथ्यले ती थुम्काको नाममा चोक जोडिनुलाई अर्थहीन साबित गर्छ । यसरी नै अन्य थुम्काहरू जामाचो (नागार्जुन पर्वत), धिनाचो (चम्पादेवी), सिपूचो (शिवपुरी), फूचो (फुल्चोकी) आदिले नयाँ नाम पाएका छन् ।

स्थाननामहरू के कति कारणले रहन पुगेको भन्नेबारे पनि अध्ययन आवश्यक छ । केही सय वर्षअघिदेखि प्रचलित ‘कीर्तिपुर’ को नाम त्यसअघि के थियो भन्ने सन्दर्भ रोचक छ । यसको अर्को नाम पद्मकाष्ठगिरि भन्ने उल्लेख पाइन्छ, तर यो पनि त्यति पुरानो लाग्दैन । कीर्तिपुरको स्थानीय नेवार समाजमा ‘किपू’ नाम अझै पनि प्रचलनमा छ । तर ‘किपू’ को अर्थ खुल्दैन । यदाकदा बोलीचालीमा ‘क्यपू’ शब्द पनि सुन्न पाइने भएकाले यो शब्द नै अपभ्रंश भएर किपू र यसको विकसित रूप कीर्तिपुर हो कि भन्ने अनुमान हुन्छ । ‘क्यपू’ शब्दले ‘कर’ को अर्थ दिने भएकाले प्राचीन कालमा कर तिर्ने ठाउँ अहिलेको कीर्तिपुर भएको र त्यही अर्थमा यो नाम रहन गएको हुन सक्छ । यी लगायत अन्य मौलिक तथा स्थानीय नामहरूको पनि गहन अध्ययन गरेर इतिहासको विलुप्त पाटो उजागर गरिनुपर्छ ।

पुरानो स्थाननाम चटक्क बिर्सेर नयाँ नाम पाइसकेको अवस्थामा पुनः ऐतिहासिक नाम नै कायम गरेको सन्दर्भमा लुम्बिनी राम्रो उदाहरण हो । ईसापूर्व छैटौं अर्थात् गौतम बुद्धको बेलासम्ममा ‘लुम्बिनी’ नाम रहे पनि ईसापूर्व तेस्रो शताब्दी अर्थात् मौर्य सम्राट अशोकको बेलासम्ममा ‘लुंमिनी’ भएको थियो । १०० वर्षअघि रुम्मिनीदेही नाम राखिएको स्थानलाई पूर्ववत् लुम्बिनी नामकरण गरिएको छ भने कपिलवस्तु पनि पुनः पुरानै नाममा फर्काइएको नाम हो । यसरी नै बाबियाचौर नामकरण गरिसकिएको ठाउँलाई पुरानै नाम सुर्खेतमा फर्काइएको छ । यस क्षेत्रलाई खस साम्राज्यकालमा ‘सुरक्षेत्र’ भनिन्थ्यो ।

इतिहास अध्ययनमा कतिपय नामहरू कुन ठाउँसँग सम्बन्धित भनेर निक्र्योल गर्न नसक्दा पनि समस्या हुन्छ । पुराना नाम बिर्संदै वा नयाँ नामले छोप्दै जाने हो भने समस्या थप झाङ्गिदै जान्छ । स्थाननामहरूको अध्ययन र विश्लेषण ‘भाषाविज्ञान’ क्षेत्रसँग सम्बन्धित भए पनि यसले इतिहास, पुरातत्व र संस्कृतिसँग पनि सम्बन्ध राख्छ । कतिपय सन्दर्भमा भूगोल विषय क्षेत्रसँग पनि समन्वय राखेर यसबारे संयुक्त अध्ययन गर्न आवश्यक छ ।

comments powered by Disqus

रमझम