१७-२३ चैत २०७५ | 31 March - 6 April 2019

सगरमाथा हेर्ने आँगन

Share:
  
- भरतबन्धु थापा

हिमशृंखला अवलोकनको नयाँ गन्तव्य बनेको छ, सोलुखुम्बुको पत्ताले डाँडा । सोलु दूधकुण्ड नगरपालिकामा पर्ने यो ठाउँबाट आँखै सामुन्ने सर्वोच्च शिखर सगरमाथा प्रष्ट हेर्न सकिन्छ । र, सँगै गौरीशंकर, मेरापिक, चो यू, ल्होत्से लगायत अन्य हिमालको पनि दृश्यावलोकन गर्न सकिन्छ ।

सगरमाथा हेरेर रमाउँदै पर्यटक । तस्वीरः भरतबन्धु थापा

हिमालको फेदीमा पत्ताले बजार ।

पत्ताले घुम्न आएका पर्यटकका लागि खाजा बनाउँदै होटल सञ्चालिका ।

पत्तालेबाट मोबाइलमा सगरमाथाको तस्वीर कैद गर्दै ।
झण्डै ३२०० मिटर उँचाइमा रहे पनि यहाँ धेरै चिसो हुँदैन । सल्लेरी जाने पिच सडकले छिचोलेर सहजै पुग्न सकिने भएकाले यो ठाउँ पिकनिक स्पट र सूटिङस्थल बनेको छ । डाँडामा सुविधासम्पन्न होटल त छैनन्, तर खाने–बस्ने सामान्य प्रबन्ध छ ।

आन्तरिक पर्यटकको आकर्षण बढेसँगै सोलु दूधकुण्ड नगरपालिकाले पत्तालेमा पर्यटकीय पूर्वाधार निर्माणको योजना बनाएको छ । नगर प्रमुख नाम्गेल जाङबु शेर्पाका अनुसार, आन्तरिकसँगै बाह्य पर्यटकलाई समेट्ने गरी पत्ताले डाँडाहँुदै दूधकुण्डसम्म पदमार्ग बनाउने तयारी छ । “पदयात्रा गर्न नसक्नेहरूलाई पत्तालेबाटै सगरमाथा हेर्न सकिन्छ भनेर प्रचार गर्दैछौं, पूर्वाधार निर्माण पनि गर्नेछौं”, शेर्पा भन्छन् ।

कसरी पुग्ने ?

काठमाडौंबाट करीब आठ घण्टाको मोटर यात्रामा पत्ताले पुग्न सकिन्छ । काठमाडौं चाबहिलबाट बीपी राजमार्ग हुँदै सोलु सल्लेरीसम्म दैनिक बस तथा सुमो जीप चल्छ ।

comments powered by Disqus

रमझम