१७-२३ चैत २०७५ | 31 March - 6 April 2019

हतारले दुःख देला

Share:
  

हिमाल रिपोर्ट ‘गलत परामर्शको शिकार’ (१०–१६ चैत २०७५) ले नेपाली विद्यार्थी/अभिभावकको मनोविज्ञान उजागर गरेर सजग तुल्याएको छ । ठगिनुमा स्कूल तह पार गर्नासाथ विदेश उड्न हतारिने विद्यार्थी र केही बुझदै नबुझी पठाउने अभिभावकको दोष पनि उत्तिकै छ । पढ्नमा भन्दा कमाइमा प्राथमिकता दिएका कारण समस्या निम्तिने कुरा रिपोर्टले उठाएको छ, जुन साँचो हो । अभिभावकले पनि सन्तानले स्कूल तह पार गर्नासाथ विदेश पठाउन हतार गर्नुभन्दा स्नातक तह वा विश्वविद्यालय तह पूरा गरेपछि थप शिक्षाका लागि पठाउँदा समस्या स्वतः कम हुन्छ । गलत परामर्श दिने केन्द्र र विद्यार्थीलाई भ्रममा पारेर उडाउने परामर्शदातालाई सम्बन्धित निकायले कारबाही गरोस् । अनुगमन र नियमन चुस्त बनाओस् ।

सारा भण्डारी, अनलाइनबाट

स्वार्थको खेल बन्द होस्

हिमाल रिपोर्ट ‘एफएनसीसीआईः अस्वस्थ खेलले फुटको संकेत’ (१०–१६ चैत २०७५) ले निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघभित्र भइरहेको स्वार्थसमूहको नियत खुलाइदिएको छ । महासंघभित्र मतभेद र गुप्त खेल हुनु निजी क्षेत्रको विकासको लागि पक्कै पनि राम्रो होइन । यसले प्रत्यक्ष/परोक्ष रूपमा देशको व्यावसायिक वातावरणमा समेत असर पार्छ । अझ् जाति/समुदाय विशेषलाई पन्छाउने नियत महासंघभित्रको स्वार्थसमूहमा देखिनु घातक छ । यसअघि महासंघमा मत बाझ्एिपछि २०५१ सालमा विनोद चौधरी सहितको एउटा समूह नै अलग्गिएर छुट्टै संगठन बनेको इतिहास छँदैछ । त्यसबाट पाठ सिक्दै स्वार्थलाई ठाउँ दिएर फेरि फुट निम्तिने ठाउँ दिनुहुँदैन ।

शकुन्तला राणा, अनलाइनबाट

सिर्जनशीलतालाई बेवास्ता

‘सामुदायिक विद्यालयः खै पुस्तकालय ?’ (१०–१६ चैत २०७५) रिपोर्टमा पुस्तकालयविहीन सामुदायिक विद्यालयको दयनीय पाटोबारे जान्दा दुःख लाग्यो । धेरैजसो विद्यालयमा पुस्तकालय नै नभएको र भएका ठाउँमा पनि विद्यार्थीका उमेर र रुचि अनुसारका पुस्तकको अभाव र बसेर पढ्न असुविधा हुँदा नाम मात्रका रहेछन् । हाम्रो विद्यालयको यो दयनीयता शिक्षा भनेको पाठ्यपुस्तक घोटाउनु र शिक्षकले एकोहोरो व्याख्यान सुनाउनु मात्र हो भन्ने मानसिकताको उपज हो । पर्याप्त स्रोत सामग्री सहितको पुस्तकालयको व्यवस्था गरे विविध विषय–क्षेत्रका पुस्तक पढेर विद्यार्थीको ज्ञानको दायरा फराकिलो हुन्छ र सिर्जनशीलता बढ्छ भनेर विद्यालयहरूले कहिले बुझलान् ? स्रोत–साधन भएर पनि योजना नहुनु कठै भन्नुपर्ने अवस्था हो, अर्कातिर पुस्तकालय र प्रयोगशाला तथा सिकाइ थप पार्ने संरचनाको व्यवस्था गर्न कतिपय विद्यालयलाई बजेट अभावले पनि पिरोलेको होला । यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्छ ।

अक्कल लामा, अनलाइनबाट

फ्रस्ट्रेसनको अपरेशन

हिमाल रिपोर्ट ‘किन बढ्यो अपराध’ (१०–१६ चैत २०७५) ले समाजमा आपराधिक मनोवृत्ति बढिरहेको देखाउने ग्राफ सहित डरलाग्दो तथ्य प्रस्तुत गरेर सबैलाई सोच्न बाध्य बनाएको छ । सानै निहुँमा हत्या जस्तो जघन्य अपराध, यस्तो कार्यमा आफन्तकै संलग्नता, नाबालिकामाथि बढ्दो बलात्कार आदि तथ्यले आपराधिक मनोवृत्तिको कारक तत्व केलाएर त्यसको अपरेशन गर्न सुरक्षा संयन्त्र र सबै सरोकारवाला नै केन्द्रित हुनुपर्छ । व्यक्तिभित्रको फ्रस्ट्रेसन पनि अपराध कार्यमा पोखिने गरेको अपराधशास्त्रीको विश्लेषणले यसको कारकमध्येको बेरोजगारी, आर्थिक असमानता आदिलाई चिर्ने नीतिको खाँचो छ । अर्कातिर, मानसिक स्वास्थ्यको क्षेत्रलाई हामीले हदै उपेक्षा गरेको हो कि भनेर पनि समीक्षा गर्नु जरूरी छ ।

पूरण शाही ठकुरी, अनलाइनबाट

धेरै धन्यवाद !

हिमाल रिपोर्ट ‘गिजुभाईको विद्यालय’ (२६ फागुन–२ चैत २०७५) मा हाम्रो विद्यालय माछापुच्छ्रे माविको शिक्षण विधिबारे समाचार सम्प्रेषण गरेकोमा धेरै धन्यवाद ! माछापुच्छ्रे गाउँपालिका–२, भुजुङ खोलामा रहेको यस विद्यालयले सामुदायिक विद्यालयहरूमा असल अभ्यास र विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सम्भव छ भन्ने प्रयासको सानो थालनी गरेको हो । यस विद्यालयले विद्यार्थीका लागि परियोजनामा आधारित सिकाइलाई जोड दिएको छ । आधारभूत तथा माध्यमिक तहका विद्यार्थीलाई पानीघट्ट भ्रमण, वृक्षरोपण कार्यक्रम, स्थलगत भ्रमण, आउटडोर शिक्षा (ट्रेकिङ, क्यानोइङ, जिपलाइन), छतमा बोटल गार्डेनिङ, जन्मदिन कोष तथा चार बजेपछिको क्रियाकलाप विज्ञान, संस्कृति (नृत्य र गायन) साहित्य, खेलकुद, बाल क्लब, लैङ्गिक सशक्तीकरण क्लब, पूजा क्लब आदिको प्रयास गरिएको छ ।

त्यस्तै, विभिन्न दिवस, चाडपर्वहरूमा खेल, प्रतियोगिता, पर्व अनुसारका कार्यक्रम तथा विद्यालय तथा समुदायमा सरसफाइ कार्यक्रम गर्दै आएको छ । विद्यालयमा व्यावहारिक शिक्षा सञ्चालन गर्न सहभागी हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई धेरै धन्यवाद ।

माछापुच्छ्रे माध्यमिक विद्यालय

परिवार, कास्की

comments powered by Disqus

रमझम