२४-३० चैत २०७५ | 7-13 April 2019

विकृतिमाथि प्रहार

Share:
  
समाजका विसंगतिलाई मिथिला चित्रकला मार्फत उजागर गर्ने कलाकार रञ्जु यादवले यसबाट जागरण फैलाउने उद्देश्य राखेकी छन्।

विक्रम राई
कक्षा ९ मा पढ्दै गर्दा राजविराज, सप्तरीकी रञ्जु यादवले आफ्नो गाउँकी एक महिलालाई परिवारकै सदस्यहरूले कुटपिट गरेर मारेको थाहा पाइन् । उक्त घटना दाइजो नल्याएको निहुँमा भएको थियो । त्यसपछि पनि समाजमा दाइजोकै कारण यस्ता थप घटना भएको सुनिरहँदा उनको बालमन पिरोलिन्थ्यो । तर, यस्ता कुरीति विरुद्ध त्यसबेला उनी केही गर्न सक्ने अवस्थामा थिइनन् । विकृति विरुद्ध बोल्नुपर्छ भन्ने हुटहुटी र बेचैनीले भने मनमा घोचिरहन्थ्यो ।

जब उनले उच्च शिक्षा अध्ययनसँगै मिथिला चित्रकलामा हात हालिन््, मनमा बिझाइरहेका सामाजिक कुरीतिहरूलाई क्यानभासमा उतार्न थालिन् । रञ्जु भन्छिन्, “सामाजिक कुसंस्कार विरुद्धको आवाज म चित्रकला मार्फत उजागर गर्छु ।” उनै रञ्जुले १६–२२ चैतमा काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘कलर्स अफ चेन्ज’ थिममा एकल चित्रकला प्रदर्शनी आयोजना गरिन् ।

प्रदर्शनीमा सामाजिक विसंगति, विभेददेखि महिला सशक्तीकरण र सचेतनाको थिममा आधारित २९ वटा चित्रकला प्रदर्शनीमा राखिएका थिए । “सामान्यतया मिथिला पेन्टिङमा तराई तथा मिथिला क्षेत्रको संस्कृति र जीवनशैलीलाई प्रस्तुत गरिन्छ” उनी भन्छिन्, “मैले त्योभन्दा माथि उठेर सामाजिक विसंगतिलाई प्रहार गर्ने प्रयास गरें ।”

मिथिला चित्रकला तराईको मात्रै नभएर मुलुककै ऐतिहासिक, सांस्कृतिक एवं मौलिक लोककला भएको रञ्जु बताउँछिन् । प्रदर्शनीमा राखिएको चित्रकला विशेषगरी तराई र मुलुकभर व्याप्त दाइजो प्रथा, भ्रूण हत्या, बालविवाह विरुद्धका साथै वैदेशिक रोजगारीका समस्या, छोरीको शिक्षा लगायतका विषयमा केन्द्रित थिए । “चित्रकला मार्फत समाजमा जागरण फैलाउनु मेरो उद्देश्य हो”, उनी भन्छिन् । उनका चित्रकलाले सामाजिक विसंगतिसँगै नेपाली संस्कृति, विवाह, चाडबाड, उत्सव लगायत विषय पनि समेटेका छन् ।

६ वर्षदेखि मिथिला चित्रकलामा सक्रिय रञ्जु चित्रकला मार्फत मानवीय संवेदनासँगै सामाजिक सचेतनाको स्वर मुखरित हुने अनुभव सुनाउँछिन् । भन्छिन्, “कलाले विसंगति उजागर गर्दै सकारात्मक सन्देश प्रवाह गर्छ ।”

मस्त केसी

comments powered by Disqus

रमझम