९–१५ चैत २०७६ | 22-28 Mar 2020

सिर्जनशील अराजक

Share:
  
- अरुण गुप्तो
मलाई लाग्छ, उन्मुक्त हुने वा रुढिवादी परम्परालाई तोड्ने प्रयत्नको रूपमा डीपी भण्डारी सर पटक–पटक सिर्जनशील अराजकको अर्थमा प्रस्तुत हुनुभयो।

“भण्डारी सर के गर्नुहुन्छ ?”

डीपी भण्डारी, (१ कात्तिाक १९९२–१ चैत २०७६)
एक वर्षअघि डीपी (दुर्गाप्रसाद) भण्डारी सरको घर पुग्दा उहाँका सहयोगी डम्बर धानुकलाई मैले सोधेको थिएँ । “जहिले पनि किताब च्यापिरहेको वा छातीमा किताब राखेको देख्छु”, उनले भनेका थिए । उहाँ शिथिल हुँदै जानुभएको थियो । पढ्न सक्नुहुन्नथ्यो । विस्मृतिले च्यापेको थियो ।

“किताबलाई असाध्य माया गरे झैं हेरिरहनुहुन्छ । त्यसो गर्दागर्दै निदाउनुहुन्छ”, धानुकले सुनाएका थिए । उहाँ प्रायः फ्रेडरिक नित्सेका किताब मन पराउनुहुन्थ्यो ।

सन् ८० को दशकको अन्त्यतिर म अंग्रेजीमा स्नातकोत्तर गरिरहेको थिएँ । भण्डारी सर हाम्रा गुरु । त्यही वेला त्रिभुवन विश्वविद्यालयमा पढाउने सबै प्राध्यापकलाई दौरा–सुरुवाल लगाएर मात्र कक्षामा जान दरबारबाट उर्दी आयो । भण्डारी सरलाई त्यस्तो उर्दी मन परेन । तर, दरबारको आदेश नाइँनास्ति गर्न मिल्दैनथ्यो ।

एक दिन दौरा–सुरुवालमा ठाँटिएर कक्षामा पढाउन थाल्नुभयो । त्यही वेला इँजार फुस्किएर सुरुवाल घुँडामुनि पुग्यो । एकजना विद्यार्थी अगाडि गएर लगाइदिन थाले । तर, उहाँले अलिकति पनि असहज नमानी पढाइरहनुभयो । शायद उहाँले दरबारको उर्दीप्रति सांकेतिक विरोध जनाउन इँजार खुकुलो गरी बाँध्नुभएको थियो ।

“शिक्षक भनेको छाता बोकेको, पुरानो कोट लगाएको हुन्छ” भन्ने छविलाई उहाँले नै परिवर्तन गर्नुभएको हो । उहाँको ‘ड्रेस सेन्स’ राम्रो थियो । प्रायः क्रिम रङको पाइन्ट लगाउनुहुन्थ्यो । टोपी उहाँको पहिचान नै बनेको थियो ।

भण्डारी सर ‘ग्रीक ट्र्याजेडी’ विज्ञ हुनुहुन्थ्यो । नित्से, शोपेनहावर जस्ता दार्शनिकहरू मन पराउनुहुन्थ्यो । एक दिन सोफोक्लिसको दुःखान्त नाटक ‘ओडिपस रेक्स’ पढाइरहनुभएको थियो । पढाउँदा पढाउँदै रुन थाल्नुभयो । “म अब पढाउन सक्दिनँ, यो पाठ श्रीधरले पढाउँछ”, भनेर निस्कनुभयो । हाँसो–ठट्टा गर्ने मानिसको त्यो रुप हाम्रा लागि अनौठो थियो ।

सन् ८० कै दशकको अन्त्यमा म, सञ्जीव उप्रेती, सजग राणा त्रिविमा भर्खरै पढाउन थालेका थियौं । त्यसवेला उहाँ मोटरसाइकल चलाउनुहुन्थ्यो । एक दिन भन्नुभयो, “मेरो मोटरसाइकल पन्चर भयो, घिसार्न सक्दिनँ । तिमीहरूले टीयू गेटसम्म लगिदेओ ।” मैले मोटरसाइकल घिसार्न थालें । त्यही क्रममा सरले नित्सेलाई मन पराउनुको कारण सोधें । उहाँले कुनै पनि आस्था स्वयम्मा गलत नहुने तर, त्यसलाई आफ्नो इच्छा अनुसार परिभाषित गर्नु चाहिं गलत हुने बताउनुभयो ।

सन् १९९६ मा रुसी सांस्कृतिक केन्द्रमा नाटक ‘चेन्जिङ ड्रिम्स’ मञ्चन गरिएको थियो । त्यसमा सुकरात बन्ने पात्र भेटिएको थिएन । अभि सर र मैले भण्डारी सरलाई आग्रह गर्‍यौं । कहिल्यै नाटक नखेलेको उहाँले प्रस्ताव स्वीकार गर्नुभयो । त्यो तत्परता गज्जबको थियो ।

केन्द्रीय अंग्रेजी विभाग अंग्रेजी साहित्यको मात्र नभएर कला, दर्शनका साथै नेपाली, बङ्गाली, स्कटिस साहित्यको पनि सङ्गम थियो । यो सबै उहाँको अध्ययनशील व्यक्तित्वका कारण सम्भव भएको हो । पश्चिमा यौन मनोविज्ञानबाट प्रभावित हुँदै लेखिएका उहाँका आलेख विवादमा पनि परे । यौनका कुरालाई कलड्ढका रुपमा लिनुहुँदैन, यो समाजको अभिन्न पक्ष हो । धर्म, कला, संस्कृति आदिले स्वीकार गरेका छन् भन्ने उहाँको मान्यता थियो । उहाँसँग दिनभरि गफिंदा पनि उच्छृङ्खल लाग्दैनथ्यो । सञ्चारमाध्यममा भने उहाँको अर्कै छवि प्रस्तुत भइरहेको हुन्थ्यो । मलाई लाग्छ, उन्मुक्त हुने वा रुढिवादी परम्परालाई तोड्ने प्रयत्नको रुपमा डीपी भण्डारी सर पटक–पटक सिर्जनशील अराजकको अर्थमा त्यसरी प्रस्तुत हुनुभएको हो ।

श्रीधर लोहनी, रामेश्वर अधिकारी, योगेश्वर बर्मा र अभि सुवेदी प्रायः भण्डारी सरसँगै हुने । चारजना भएपछि काम विनै मोटरसाइकलमा रिङरोडको चक्कर मार्ने । एक दिन कसैको घरमा पार्टी आयोजना गरिएको थियो । भण्डारी सर आइपुग्नु भएन । अभि सरले मलाई एकजना साथीसँग मोटरसाइकलमा उहाँको घर पठाउनुभयो । उहाँ त घरमा धर्मेन्द्रको ‘आँखे’ फिल्म हेरिरहनुभएको रहेछ । हामीलाई आधाघन्टा पर्खाएर फिल्म सकिएपछि मात्र निस्कनुभयो । त्यो दिन हामीले नित्से, टैगोरका फ्यान गम्भीर भएर धर्मेन्द्रको फिल्म हेरिरहेको देख्यौं ।

उहाँले दार्शनिक लेखहरू धेरै लेख्नुभएको छ । व्यङ्ग्य पनि त्यत्तिकै छन् । आफ्नै साथीलाई पनि व्यङ्ग्य गरेर लेख्नुहुन्थ्यो । ‘रामेश्वर अधिकारीले हलुवा खान पाएन’ यस्तै एउटा आलेखको शीर्षक हो । उहाँ धेरै जनाको उपनाम राखिदिनुहुन्थ्यो । ती उपनाम उहाँका निबन्धमा पनि छन् । डोटी पुख्र्यौली घर भएका उहाँका मृगस्थली, निरो बाँसुरी बजाइरहेछ, रोटी र फूल, यो धरती त्यो आकाश पुस्तक प्रकाशित छन् ।

(टी एन घिमिरेसँग कुराकानीमा आधारित)

comments powered by Disqus

रमझम