९–१५ चैत २०७६ | 22-28 Mar 2020

महामारी विरुद्घ सुरक्षाकर्मीको तयारी

Share:
  
- दीपक खरेल
सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अत्यावश्यक बाहेकका सबै गतिविधि रोकेर कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको तयारी गरेका छन्।

सैनिक मुख्यालय परिसरमा कोभिड–१९ रोकथामको पूर्वाभ्यासका लागि बनाइएका टेन्ट ।
नेपाल सेनाको स्वयम्भूस्थित बारुदखानाबाट अहिले स्यानिटाइजर उत्पादन भइरहेको छ । लघु उद्योगहरूमा भने मास्क बनिरहेको छ । स्वास्थ्यकर्मीले शरीर ढाक्न लगाउने पोशाक ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ पनि बनाउन सेनाले अध्ययन गरिरहेको छ ।

सेनासहित देशका तीनवटै सुरक्षा निकाय सशस्त्र प्रहरी र नेपाल प्रहरी कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणको तयारीमा छन् । ती निकायले अत्यावश्यक बाहेकका गतिविधि रोकेर कोरोना भाइरस विरुद्ध जुध्ने तयारी गरेका हुन् । सुरक्षा निकायले तयार पारेका संरचनामा एकै पटक ३२०० देखि ३५०० सम्मलाई ‘क्वारेन्टाइन’ मा राख्न सकिन्छ । यस्तै करीब २०० जनालाई ‘आइसोलेसन’ र १०० जनालाई सघन उपचार कक्षमा राख्न सकिन्छ ।

सेनाले काठमाडौं र बाहिर गरी चारवटा अस्पतालमा सघन उपचार कक्ष तयार गरेको छ । काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा १० सघन उपचार कक्ष तयारी अवस्थामा छन् । त्यस्तै पोखरा, इटहरी र धनगढीका सैनिक अस्पतालका १५० श®यामध्ये २५ प्रतिशतलाई आइसोलेसन र सघन उपचार कक्ष बनाइने सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे बताउँछन् । काठमाडौं उपत्यकामा बनाएको २०० क्वारेन्टाइन वार्डमा ४०० र बाहिर रहेका सात पृतना र २२ बाहिनी मार्फत बनाएका १५०० क्वारेन्टाइन वार्डमा ३ हजार जनालाई राख्न सकिन्छ ।

आफ्ना २ हजार ३५८ स्वास्थ्य जनशक्तिलाई चारवटै अस्पताल र आपत्कालीन उद्धारमा खटाउने सेनाको तयारी छ । यस बाहेक सेना बाहिरका करीब २०० स्वास्थ्यकर्मीलाई पनि उपयोग गरिने प्रवक्ता पाण्डे बताउँछन् । ती स्वास्थ्यकर्मीको सहयोगीका रूपमा खटाउन २०० सैनिकलाई स्वास्थ्य सम्बन्धी तालिम दिइनेछ । बिरामी बोक्न उपत्यकासहित देशभर रहेका सेनाका १६ फिल्ड एम्बुलेन्स प्रयोग हुनेछन् ।

सेनाले सैनिक स्वास्थ्य महानिर्देशक सुनिलकुमार सिंहको कमाण्डमा कोरोना संक्रमण रोकथाम र उपचारको आन्तरिक तयारी र उपरथी प्रभुराम शर्माको कमाण्डमा अन्य सरकारी संयन्त्रसँग समन्वय गरिरहेको छ । यसको सुपरीवेक्षण प्रधानसेनापति पूर्णचन्द्र थापा आफैंले गरिरहेका छन् । कोरोना भाइरस संक्रमण विरुद्ध सैनिकहरूलाई खटाउन कार्यविधि नै बनाइएको छ । विदेशबाट फर्किएका सैनिकले १४ दिन घरमै अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

सशस्त्र प्रहरीले पनि काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा २० श®याको सघन उपचार कक्ष स्थापनाका लागि आवश्यक उपकरण खरीद गरिसकेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सघन कक्ष जतिसक्दो चाँडो तयार गर्न महानिरीक्षक शैलेन्द्र खनालको सचिवालय सक्रिय छ ।

सशस्त्रले उपत्यकासहित सातै प्रदेशमा १२०० देखि १५०० श®या क्षमताका क्वारेन्टाइन स्थापनाको तयारी गरिरहेको छ । भारत र चीनसँगका १३९ सीमा नाकामा स्वास्थ्य ‘हेल्प डेस्क’ स्थापना भएका छन् । तीमध्ये १२९ स्थानमा ज्वरो नाप्ने यन्त्र राखिएको छ भने अन्य १० ठाउँमा पनि लगिंदैछ । शङ्का लागेका विदेशीलाई सीमाबाटै फिर्ता पठाउने र नेपालीलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाने गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठ बताउँछन् ।

नेपाल एपीएफ अस्पतालका मेडिकल डाइरेक्टर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रूपक महर्जनको नेतृत्वमा कोरोना भाइरस रोकथाम र उपचारका लागि ‘कोर ग्रुप’ बनाइएको छ । सरकारका निर्णयहरू लागू गर्न/गराउन तथा अन्य निकायसँग समन्वय तथा सहकार्यका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको संयोजकत्वमा ‘क्राइसिस रेस्पोन्स’ मूल समिति गठन गरिएको छ ।

उता नेपाल प्रहरीले प्रधान कार्यालयदेखि देशभरका चौकीमा कार्यरत करीब १२ हजारलाई आवश्यक तालिम दिएर कोरोना संक्रमण रोकथामका लागि तयारी अवस्थामा राखेको छ । नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गर्ने, आवश्यक निगरानी र अनुगमन गर्ने तथा पहिलो उद्धारकर्ताका रूपमा काम गर्नेछ । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार प्रहरी अस्पताल, महाराजगञ्ज र २ नं. गण महाराजगञ्ज नजिक चारवटा उपचार कक्षसहित ५० श®या क्षमताको आइसोलेसन कक्ष बनिरहेको छ ।

प्रहरीले पोखरा, सुर्खेत र सिरहाका आफ्ना अस्पताललाई पनि तयारी अवस्थामा राखेको छ । प्रवक्ता क्षेत्री भन्छन्, “हामीसँग स्वास्थ्य सेवामा ८०० जनशक्ति कार्यरत छन् । आवश्यकता अनुसार धेरैभन्दा धेरैलाई फिल्डमा खटाउँछौं ।”

यो पनि पढ्नुस् जनविश्वास जगाउने वेला रामु सापकोटा र राजु बास्कोटा

‘लाहुरको कमाइ’ मा कालो बादल रमेश कुमार

comments powered by Disqus

रमझम