९–१५ चैत २०७६ | 22-28 Mar 2020

बालविवाहविरुद्घ विद्रोह

Share:
  
- लक्ष्मी बस्नेत
१७ वर्षकै उमेरमा परिवारले जबर्जस्ती बिहे गरिदिन खोजेपछि रिङ्कु ठाकुर घरै छाडेर हिंडिन्, बाबु–आमाले चार वर्षसम्म खोजखबरसम्म गरेनन्।

२३ चैत २०७२ वीरगञ्ज, छपकैयाँकी रिङ्कु ठाकुर आफ्नै घरमा बन्धक बनिन् । बन्धक बनाउनेमा थिए– आफ्नै आमा र ठूलोबुवा । १२ कक्षामा पढिरहेकी १७ वर्षीया रिङ्कु रेडियो तराई मा समाचार वाचन पनि गर्थिन् । त्यो दिन पनि उनी कलेज सकेर रेडियो जाने तयारीमा थिइन् ।

त्यसो त कक्षा ८ मा पढिरहेदेखि नै आमा र ठूलोबुवाले रिङ्कुलाई बिहेको कुरा ल्याउँथे । उनी अझै पढ्नु छ भन्दै अस्वीकार गर्थिन् । बाबुको समर्थनले उनलाई ठूलो हिम्मत दिन्थ्यो । त्यस दिन उनलाई माग्न भारतीय युवा आएका थिए । रिङ्कुको अपेक्षा विपरीत बाबु समेत निरीह देखिए ।

रिङ्कुलाई आमा र ठूलोबुवाले जबर्जस्ती विवाह गर्देलान् भन्ने चिसो पहिल्यै थियो । त्यसैले उनले रेडियोका स्टेशन मेनेजर राजेन्द्र सिंह, पत्रकार माधुरी महतो र पर्साका तत्कालीन प्रहरी प्रमुख एसपी डा.राजबाबु श्रेष्ठलाई यसबारे जानकारी गराइसकेकी थिइन् ।

त्यो दिन समाचार वाचनका लागि समयमै रिङ्कु नआइपुगेपछि स्टेशन मेनेजर सिंहले घरमा फोन गरे । रिङ्कुकी आमाले उठाइन् ‘बिरामी भएकीले अस्पताल गएकी छ’ भनिन् । शङ्का लागेपछि सिंहले एसपी श्रेष्ठलाई तुरुन्त जानकारी गराए ।

रिङ्कुको खोजीमा एसपी श्रेष्ठ आफैं खटिए । अस्पतालमा नभेट्टाएपछि घरै पुगेको प्रहरीले रिङ्कुको उद्धार गर्‍यो । स्थानीयसँगको सल्लाहमा उनलाई वीरगञ्जमै रहेको माइती नेपाल को सुरक्षित आवास गृह पठाइयो ।

‘उमेर नपुगी बिहे नगरिदिने’ भन्दै घर लैजालिन् भन्दै रिङ्कुले एक महीनासम्म आमाबुवाको बाटो हेरिन् । तर कोही आएनन्, न सोधखोज नै गरे । परिवार बिरानो भयो । त्यही वेला कक्षा १२ को नतिजा आयो । उनी उत्तीर्ण भइन् । तर, उनले यो खुशी परिवारसँग बाँड्न पाइनन् । मन अमिलो भयो । अब स्नातक पढ्नुपर्ने थियो । अधिकारकर्मीहरूको सल्लाहमा उनी काठमाडौं आइन् । बिहान कलेज र दिउँसो माइती नेपाल मै काम गर्न थालिन् । घर छाडेको चार वर्ष बितिसकेको थियो । तर, घरले उनलाई कहिल्यै सोधेन । उनलाई अब आफूले यत्तिकै चूप बस्नुहुन्न भन्ने लाग्यो । किनभने गल्ती उनको थिएन ।

गएको दशैंमा आफैं घर गइन् । “१५ दिन बसें । बिहे गर भन्ने आँट कसैले गरेन । बरु काठमाडौंमा पढ्दै जागिर खाएको भनेर छिमेकीले प्रशंसा गरे”, उनी भन्छिन् । यी चार वर्षमा समाज परिवर्तन हुँदै गएको उनलाई आभास भयो ।

दशैंपछि फर्किएपछि रिङ्कुसँग बुवा मात्र होइन, आमासँग पनि कुरा हुन थालेको छ । अचेल आमाले बिहेको कुरा गर्दिनन् । घरमा दुई बहिनी र एक भाइ छन् । ठूली बहिनी पनि १७ वर्षकी भइन् । जागिर खान थालिन् तर नागरिकता छैन । उनलाई अहिले बहिनीको नागरिकता बनाइदिने चटारो छ । रिङ्कु अहिले माइती नेपाल का पीडित महिलाहरूलाई मनोवैज्ञानिक परामर्श दिन्छिन् । अरू महिलाका पीडा भुलाउने काम गर्दागर्दै उनलाई पनि विगत बिर्सनुपर्छ भन्ने लागेको छ । रेडियोमा काम गर्ने रहर मरेको छैन ।

अब त विवाह गर्ने कानूनी उमेर पनि पुगिसकेको छ । तर, रिङ्कुलाई विवाहको हतारो छैन । “कम्तीमा स्नातकोत्तरसम्मको पढाइ सक्छु, त्यसपछि आफ्नै खुट्टामा उभिएर मात्र बिहे गर्छु”, २१ वर्षीया उनी भन्छिन् ।

comments powered by Disqus

रमझम