९–१५ चैत २०७६ | 22-28 Mar 2020

कार्यालयको काम घरबाटै

Share:
  
- लक्ष्मी बस्नेत
कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाइएका विभिन्न पूर्व तयारीमध्ये कार्यालयको काम घरबाटै गर्ने अभ्यास सुरक्षाका दृष्टिले उपयुक्त मानिएको छ।

बिजु कँडेल, वरिष्ठ कार्यक्रम अधिकृत, स्टोरी किचन ललितपुर ।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सजिलै एक व्यक्तिबाट अर्कोमा फैलिने भएकाले सावधानी आवश्यक हुन्छ । संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिने, मास्क लगाउने, हात नमिलाउने, बढी भीडभाडयुक्त ठाउँमा नजाने, सामाजिक दूरी कम गर्ने लगायत उपाय अपनाउनुपर्ने सुझाव चिकित्सकहरूले दिइरहेका छन् । यस हिसाबले बाक्लो जमघट हुने ठाउँका साथै रोजगारी स्थल तथा कार्यालयहरूमा पनि संक्रमणको जोखिम उच्च हुन्छ । बन्द गर्न नमिल्ने कार्यालयमा कामलाई निरन्तरता दिने र संक्रमणबाट बच्ने उपाय के हुन्छ त ?

कोभिड–१९ संक्रमणको जोखिमबाट बच्ने पूर्वतयारी स्वरूप अहिले विभिन्न देशका प्रतिष्ठान र कार्यालयहरूले घरबाटै काम गर्ने अभ्यास शुरु गरेका छन् । स्विट्जरल्याण्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ले ४ चैतदेखि आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन दिएको छ । यसअघि २० फागुनमै सामाजिक सञ्जाल ट्वीटर ले आफ्नो जनशक्तिको स्वास्थ्य र सुरक्षाप्रति सचेत रहेको भन्दै कोरोना प्रकोपबाट बढी प्रभावित देशमा रहेका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको थियो ।

भाइरस भित्रिने जोखिम बढेसँगै नेपालमा पनि विभिन्न संस्था र कार्यालयहरूले घरबाटै काम गर्ने सुरक्षाको उपाय अवलम्बन गरेका छन् । महिलाको विषयमा कार्यरत गैरसरकारी संस्था स्टोरी किचन ले ५ चैतदेखि कर्मचारीहरूले घरबाटै काम गर्र्ने व्यवस्था मिलाएको छ । जस अनुसार भाइबर गु्रप बनाएर कार्यालय समय शुरु हुने वेला ‘चेक इन’ गर्ने र दिनभरि गर्ने कामको जानकारी दिएर साँझ ५ बजे ‘चेक आउट’ गर्ने अभ्यास थालिएको संस्थाकी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जया लुईंटेल बताउँछिन् ।

अन्नपूर्ण ह्याण्डिक्राफ्ट की प्रोप्राइटर दिव्यतारा तुलाधरले पनि आफ्नो उद्योगमा काम गर्नेहरूलाई एक सातादेखि घरमै बसेर काम गर्न भनिसकेको बताइन् । “मेशिनबाट गर्ने बाहेक सामानहरू प्रोसेसिङ, लेबलिङ, फिनिसिङ गर्ने लगायतका काम घरमै गर्न मिल्ने भएकाले सामान दिएर घरघरमै गर्न पठायौं”, उनी भन्छिन् ।

नेपालस्थित अमेरिकी दूतावासले पनि आन्तरिक बैठकहरू कम गर्ने र ४ चैतदेखि आधा कर्मचारीले घरमै बसेर काम गर्ने व्यवस्था मिलाएको एक कर्मचारीले बताए । नेपालस्थित राष्ट्रसंघीय निकाय तथा कतिपय गैरसरकारी संस्थाहरूले घरबाटै काम गर्न र कार्यालयमै काम गर्दा पनि भेटघाट, बैठक कम गर्ने गरी सुरक्षाका उपाय अपनाएका छन् ।

भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि ५ चैतमा सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र हिंडडुल नगर्न सार्वजनिक आह्वान गरेको छ । साथै, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ होटल र ठूला उद्योग बाहेक घरमा बसेर गर्न मिल्ने काम घरबाटै गर्न लगाउनुपर्ने बताउँछन् । “भाइरसको प्रकोपबाट सुरक्षित रहने पूर्वतयारीका सबै उपाय अवलम्बन गर्न र संवेदनशील भएर श्रमिकको स्वास्थ्यमा ध्यान दिन उद्योग/प्रतिष्ठानहरूलाई आग्रह गरिसकेका छौं”, उनी भन्छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोभिड–१९ विरुद्ध लड्न कार्यस्थल तयार हुनुपर्ने भन्दै ३ मार्चमा ‘विद्यालय तथा कार्यस्थलका लागि मार्गनिर्देशन’ नै जारी गरेको छ । मार्गनिर्देशनमा भीडभाड हुने कार्यालयहरूमा चहलपहल कम हुने उपाय अवलम्बन गर्न, सरसफाइमा ध्यान दिन, बैठक र भेटघाट कम गर्न, कुराकानी र छलफल सञ्चारको माध्यमबाट गर्न आदि सुझाव दिएको छ ।

comments powered by Disqus

रमझम