९–१५ चैत २०७६ | 22-28 Mar 2020

धाईले हुर्काउँथे

Share:
  
- रुपा जोशी
मेरी बूढीसासू (सासूको सासू) चन्द्रकुमारी जोशीको उमेरले १०६ वर्ष टेकिसकेको छ। विस्मृतिले च्याप्दै गए पनि, हामीले कोट्याउँदा अड्की–अड्की पुराना कुरा गर्नुहुन्छ। यसपालि खानपिन, स्याहारसुसार बारेका सम्झना उहाँकै शब्दमा–

हनलुलुमा नातिनी बुहारीसँग खाना पकाउँदै ।
उवेला हैजा, झाडापखाला खूब लाग्थ्यो । त्यस्तो वेला बाहिरको खान बन्द गरिन्थ्यो । डाक्टरहरू थुप्रै थिए, कोही नेपाली, कोही इन्डियन । केशवबाबु इन्डियन थिए भने जीतसिंह र सिद्धिमणि चाहिं नेपाली । सिद्धिमणि एकदम असल, उनले गरेको औषधिले रोग कम भइहाल्थ्यो । बुवा र मुवालाई हेर्ने डाक्टरहरू बग्गीमा आउँथे । मुवाको स्वास्थ्य त्यत्ति राम्रो थिएन । वर्षेनि बच्चा पाउँदा जीउ कमजोर थियो । मोटो पनि होइसिन्थ्यो । वैद्यहरू पनि आउँथे, बडामुवाको बाथको उपचारका लागि ।

ढोकाटोलमा धेरै जनालाई टीबी भएको थियो । खास गरेर नोकरचाकरलाई बढी हुन्थ्यो । टीबी देखिए बाहिर भिन्दै घरमा राखिन्थ्यो । उनीहरूलाई औषधि दिएर, ‘मन लागे घर जाऊ, अनि निको भएपछि आऊ’ भन्थे । मेरो दिदी टीबी लागेरै बितिन् ।

इन्जेक्शन दिनुपर्‍यो, दाँत निकाल्नुपर्‍यो भने कम्पाउण्डर आउँथे । त्यो वेला वैद्यको औषधिबाहेक अरू सबै इन्डियाबाट आउँथ्यो । बच्चा जन्माउने बेला घरमै डाक्टरनी, सुँडिनीहरू आउँथे । मैले छोरा पाउँदा पनि एउटी काली–काली डाक्टरनी आएकी थिइन् । साथमा सुँडिनी पनि थिए, त्यसैले सजिलो भयो । बच्चा जन्माउन घरै जानु परेकोथ्यो, डिल्लीबजार । न्वारान गरेर माइत ढोकाटोल फर्केकी थिएँ ।

बच्चालाई धाईको दूध

ढोकाटोलमा काम गर्नेहरू थुप्रै थिए । डोले, सुसारेहरू थिए । भान्छामा काम गर्ने नै ५–६ जना बाहुन–बाहुनी थिए । धेरैजसो बाहुन गोरखाका हुन्थे । मेरो बडामुवा, मुवा सबै गोरखाका नि ! त्यसैले हामीलाई पश्चिमा भनेपछि एकदम मन पर्ने ।

हामी सबै बच्चाहरूको आ–आफ्ना धाई थिए, जातजातका । लुगा लगाइदिने, तेल लगाइदिने, खाना पकाउने, खुवाउने, हुर्काउने धाईहरूले गर्थे । बिहान सबेरै धाईहरूले जाउलो पकाएर आ–आफ्ना नानीहरूलाई खुवाउँथे । मलाई त रोज तेल लगाइदिन्थी मेरो धाईले । साइँलीमैया (बैनी) को धाई अलिकति पनि नानीले खाइनन् भने रुन थाल्थिन् ।

राणाजीहरूको जस्तै ढोकाटोलमा पनि बच्चा जन्मनुअघि नै धाईको छनोट हुन्थ्यो । जसको दूध आउँदैनथ्यो, उसको बच्चालाई धाईको दूध ख्वाउँथे । मेरो धाई (बुबू) ज्यापुनी थिई, उनको छोरीको नाम पुनचा थियो । मेरो धाई ढोकाटोलमै र पुनचा उसको आफ्नै घरमा बस्थे । मैले बुबूकै दूध खाएँ, पुनचालाई गाईको दूध दिन्थे ।

चन्द्रकुमारी जोशीको बुवा, मुवा र बडामुवा (बायाँ) ।
राणाजीहरूले त झन् आफ्नो दूध नै नखुवाउने । सुत्केरीहरूले दरबारमा ‘एप्लाइ’ गर्थे । अनि डाक्टर आएर उनीहरूको दूध निचोर्न लगाई पानीमा हालेर ‘टेस्ट’ गर्थे । डाक्टरले नै दूध असल, ‘ए–क्लास’ को छ भनेपछि ती धाईहरू दरबारमै बस्थे । उनीहरूको बच्चा चाहिं बाहिर आफ्नै घरमा राख्नुपथ्र्यो । ती बच्चालाई दूध ख्वाउन पैसा दिन्थे ।

ढोकाटोलको खान्की

ढोकाटोलमा हाम्रो बारी ठूलो थियो, हरियोपरियो खासै किन्नु पर्दैनथ्यो । पछाडि ‘ठूलोबारी’ मा सबै तरकारी हुन्थ्यो, ज्यापूहरूले हुर्काउँथे । फलफूलका बोट पनि टन्न थिए । नासपाती, अम्बा, आरुबखडा, हलुवाबेत थियो । हामी बच्चाहरू फलफूल चोरेर खूब खान्थ्यौं । राखेको ठाउँबाट पनि, रूखमा चढेर पनि । मेरो फुपूको नातिनी, नानीमैयाँ आएको वेला बोटबाटै चोथ्र्यौं । आफूबुवा र हाम्रो बारी बीचमा पर्खाल थियो । त्यहाँ हाम्रोभन्दा धेरै फलफूल थिए । पर्खालमाथिको फलफूल चोर्न रूख चढ्थ्यौं । दुई–तीन चोटि त लडें पनि । घुँडातिर घाउ लाग्थ्यो । राम्ररी नहेरेको भनेर धाईले गाली पाउँथे । अनि मेरो धाईले नानीमैयाँलाई गाली गर्थिन्, “यो काँठी आयो कि मेरो नानीलाई बिगार्छ”, भन्थिन् ।

हाम्रो भान्छामा आलुको रस र मासु पाक्थ्यो । कृष्ण भन्ने भँडारे थिई, भान्छाभन्दा अलग्गै बसेर बच्चाहरूको लागि मासु र आलु पकाउँथिन् । उनले त ढोकाटोलभरिका कुकुरलाई पनि पकाएर खुवाउँथिन् ।

ढोकाटोलमा चिया खाने चलन थिएन । गाई थुप्रै पालेका थियो । दूध प्रशस्त हुन्थ्यो । दूध घोटेर खुवा बनाई मिठाईहरू पनि बनाउँथ्यौं । हामी बिस्कुट पनि खान्थ्यौं, सबै कलकत्ताबाट झिकाइन्थ्यो । हामीले झिकाउन पाउँथ्यौं, सबैले पाउँदैनथे । बारीको फलफूल बाहेक स्याउहरू रक्सौलबाट आउँथ्यो ।

ससुराहरूको रामेछाप चिसापानीमा थुप्रै जग्गा थियो । मेरो ससुराको पुर्खा वैद्य रैछन् । वैद्यले बिरामी महारानीलाई हातले छुनु नहुने हुनाले नाडीमा धागो बाँधेर रोग पत्ता लगाएछन् । महारानी निको भैछन् । पछि ‘डाँडाबाट जति जग्गा देख्छौ तिम्रो भयो’ भनेको रे ! त्यहाँ म कैल्यै गइनँ, तर चामल दाल, तेल, घ्यू, गेडागुडी आउँथ्यो । मेरा सासूहरूले आफैं कुटेर खान्थे, धेरै भएको बेच्थे ।

डा. सिद्धिमणिलाई मुवाले आफ्नी नातिनी ज्योति र बडामुवाको ओखतीको सल्लाह माग्दै लेख्नुभएको पत्र (पहिलो) र जसमा डा. साबले आफ्नो सुझाव लेखेर फर्काउनुभएको थियो ।
मुवाहरू राणाजीको दरबार जाने बेलामा दिदी र म पालैपिलो जान्थ्यौं । दरबार कत्रो ठूलो ! कोठा त कत्ति कत्ति ! चोक नै कत्रो हुन्थ्यो ! उनीहरूले हामीलाई खेलौना, घाँगर, लुगा र पैसा दिन्थे । सबैभन्दा त मीठो पिपी दिन्थे । खाना धुमधामको हुन्थ्यो । गुरुमाहरूलाई भनेर लसुन प्याज नहालेको चोखो खाना पकाइएको हुन्थ्यो । कति थरी परिकार ! मिठाई पनि अचम्म अचम्म किसिमका । मीठो कति हुने, बयान गरेर साध्य छैन ! भुईंमा चट्ट कपडा बिछ्याइएको हुन्थ्यो । अनि त्यसमाथि चाँदीको भाँडामा गुरुमाहरूको ज्युनार ल्याउँथे । महारानीहरू चाहिं त्यत्ति आउँदा पनि उलिनकाठ चढेर आउनुपर्ने ! गज्जब थियो ।

यात्राको खान्की

भीमफेदीको बाटोमा जाँदा, घरबाटै खानेकुरा पकाएर लैजान्थ्यौं । बाटोमा खान पाइन्थ्यो । रक्सौलबाट रेल चढेर काशी जान्थ्यौं । त्यहाँ ठाउँठाउँमा अनेक खाना पाइन्थ्यो, सफा हुन्थ्यो । भात चाहिं स्टेशनमा ओर्लेर सँगै गएका काकाबाजे, बाहुनीहरूले पकाएर खान दिन्थे ।

बनारसमा एकाबिहानै गज्जबको रोटी, कचौडी बनाउँथे । त्यही किनेर ल्याएर खान्थ्यौं । काशीको खानेकुरा त एकदम मीठो । मिठाई त फेरि कत्ति थरीका ! कस्तो सफासित राखेको हुन्थ्यो ।

बद्री–केदार जाँदा हामी डफ्फा नै हुन्थ्यौं । त्यहाँ चन्द्रशमशेर महारानीले बनाएको धर्मशालामा बस्थ्यौं । उनले सबतिर त्यस्तै धर्मशाला बनाएकी थिइन् । सबै बस्ने, सुत्ने, खाने, सबै बन्दोबस्त हुन्थ्यो । दाल–भात–तरकारी नै दिने । तर, बद्री–केदारमा एकदम चिसो थियो, भात पकाउँदा पकाउँदै पनि चिसो भइहाल्ने ।

हामी बम्बै गएको बेलामा बैनीहरू र म बुन्न र खाना पकाउन सिक्न जान्थ्यौं, ठूलो क्लासमा । कलेजहरू समुद्रको किनारमा लाइनै हुन्थे । मैले अनेक अनेक पकाउन त्यहीं सिकेको हो ।

किरणराज जोशी र रूपा जोशीसितको कुराकानीमा आधारित

comments powered by Disqus

रमझम