९–१५ चैत २०७६ | 22-28 Mar 2020

हेलिकप्टरमा मर्दी हिमाल

Share:
  
- विष्णुकान्त घिमिरे
सके पैदल, नसके माउन्टेन फ्लाइटबाटै भए पनि मर्दी हिमाल अवलोकन गर्न सके जीवनकै एउटा आनन्दमयी क्षणसँग साक्षात्कार हुने पक्का छ।

दायाँबाट क्रमशः अन्नपूर्ण साउथ, हिमचुली, मर्दी र माछापुच्छ्रे हिमालको दृश्य । तस्वीरहरुः विष्णुकान्त घिमिरे
पछिल्लो समय मर्दी हिमाल आधारशिविरसम्मको पैदल यात्रा प्रिय बनिरहेको छ । अप्ठ्यारो बाटो, त्यसमाथि पनि हिउँले ढपक्कै ढाक्ने मौसममा अधिकांश पदयात्रीको गन्तव्य आधारशिविर (४५०० मिटर) नभई भ्यू–पोइन्ट (४२०० मि.) वा हाईक्याम्प (३५५० मि.) सम्ममै सीमित हुनेगर्छ ।

सूर्योदय हेर्न मर्दी हिमाल ‘भ्यू–पोइन्ट’ जाँदै पर्यटक ।
तर, अब माउन्टेन फ्लाइटबाट पनि मर्दी हिमालस्थित हाईक्याम्पसम्मको यात्रा तय गर्न सकिने भएको छ । माउन्टेन फ्लाइटका कारण व्यस्त, ज्येष्ठ नागरिक र बालबालिका समेतले मर्दी हिमालका साथै त्यो उँचाइबाट देखिने अद्भुत प्राकृतिक दृश्यावलोकनको अवसर पाएका छन् ।

मर्दी हिमाल हाईक्याम्पबाट देखिएको माछापुच्छ्रे र मर्दी हिमाल (दायाँ) ।
पोखरा विमानस्थलबाट फेवाताल, बौद्ध शान्ति स्तूप अवलोकन गर्दै १२ मिनेटको हेलिकप्टर यात्रामा मर्दी हिमालस्थित हाईक्याम्प पुगिन्छ । त्यहाँबाट देखिने ढकमक्क फुलेका लालीगुराँसका जङ्गल, नाकैमा ठोक्किएलान् जस्तो हिमाल, दक्षिणमा सुन्दर पोखरा उपत्यकाको बस्ती; नलोभिने शायदै होलान् ।

हाईक्याम्पबाट मर्दीसँगै माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, गङ्गापूर्ण लगायतका हिमाल मज्जाले देखिन्छन् ।

अन्नपूर्ण साउथ बायाँ र हिमचुली ।
टुर अपरेटरले एकदिने र दुईदिने गरी हाईक्याम्पसम्मको यात्रा तय गरेका छन् । एक दिनमै फर्किनेका लागि ४० मिनेटको दृश्यावलोकन समय र दुईदिने यात्राका लागि आसपास ट्रेकिङको समय समेत छुट्याइएको हुन्छ । पोखरास्थित प्रभु हेलिकप्टरका शाखा प्रबन्धक सुजन जोशी पछिल्लो समय माउन्टेन फ्लाइटमा जाने नेपालीको संख्या पनि बढेको बताउँछन् ।

खर्च र प्याकेज

पोखरादेखि मर्दी हिमाल हाईक्याम्पसम्मको एकदिने हेलिकप्टर यात्राका लागि नेपाली नागरिकलाई रु.१८ हजार लाग्छ । विदेशीलाई भने २०० अमेरिकी डलर । दुईदिने यात्रामा विशेष प्याकेजको प्रबन्ध गरिएको छ, जसमा पहिलो दिनको ब्रेकफास्ट, लञ्च, डिनरसहित होटल र भोलिपल्टको ब्रेकफास्ट समेत उपलब्ध गराइन्छ ।

भ्यू–पोइन्ट पुगेर फर्केका आन्तरिक पर्यटक ।
यो प्याकेजमा जानेले हेलिकप्टरबाटै हाईक्याम्प भन्दा ६५० मिटर उँचाइको भ्यू–पोइन्ट पुग्ने मौका पनि पाउँछन् । यो प्याकेजका लागि नेपालीले रु.३९ हजार र विदेशीले ६०० अमेरिकी डलर तिर्नुपर्छ ।

ख्याल गर्ने

एकदिने यात्रामा जाँदै हुनुहुन्छ भने न्यानो कपडा, नचिप्लिने जुत्ता, टोपी र पञ्जा, सनग्लास साथै लैजानुपर्छ । दुईदिने यात्राका लागि भने यसका अतिरिक्त ट्रेकिङ लट्ठी, प्राथमिक उपचारका सामग्री, केही फलफूल र चकलेट बोके राम्रो मानिन्छ ।

comments powered by Disqus

रमझम