भदौ २०७८ | 17/08/2021

बब्लु

Share:
  
- बिना थिङ

बब्लु धीत मर्ने गरी हाँस्यो । अस्पतालको क्यान्टिनमा । हाँस्दा उसका उछिट्टिएका दुवै कुकुर दाँत देखिए । उसको हाँसोले भने मलाई हर्नामाडी पुर्‍याइदियो । सत्र वर्षअघि ।


“आहा ! कस्तो राम्रो ऊँट ।”

सँघार नाघ्न नपाउँदै मेरा आँखा ऊँटमा टाँसिए ।

फुपूको पछि लागेर उहाँको घर पुगेकी थिएँ । फुपू भान्सामा अलमलिन थाल्नुभयो । म उहाँको छोराको कोठामा पसें । पस्नासाथ आँखा ऊँटमा टाँसिए । त्यसको रङ र बुनोटले मेरो मन हरेको थियो । प्लास्टिकको पाइपले बुनेको । नीलो र सेतो रङको । छिर्केमिर्के । आकर्षक थियो त्यो ऊँट ।

मेरा हात स्वचालित रूपमा ऊँटमा पुगे ।

“यो मेरो हो,” एकाएक हात र आवाज ऊँट खोस्न आइपुगे ।

“फुपू...”

म चिच्याएँ । उसको सातो उड्यो । यद्यपि ऊँट उसकै थियो । उसलाई लागेको हुनुपर्छ, अहिल्यै फुपू आउनुहुन्छ र गालामा झापड लाउनुहुन्छ । फेरि उँट पनि फुपूले नै बुन्नुभएको थियो । उसकी आमा, मेरी फुपू । फुपूले कुकुर, घोडा, पूmलदानी, ह्यान्डक्यारी ब्याग पनि बुन्नुभएको थियो । त्यसरी प्लास्टिकको पाइपबाट थरीथरीका सामग्री बनाउन जान्ने हर्नामाडीभरीमा अरू कोही थिएन ।

देहरादूनबाट आउँदा फुपूले आफूसँगै प्लास्टिकको पाइप बुन्ने सीप पनि ल्याउनुभएको थियो । पेन्सन ननिस्कँदासम्म फुपू फुपाजुसँगै देहरादूनमा बस्नुहुुन्थ्यो । पेन्सनपछि उहाँहरूको परिवार हर्नामाडीमा बस्न आयो, हाम्रो छिमेकी भएर । एकतले घर थियो बब्लुको । सिमेन्टी ढलान गरिएको । पिच सडकसँगै टाँसिएको । त्यस्तो घर त्यस अघि हर्नामाडीमा कसैले बनाउन सकेका थिएनन् । गाउँलेहरू भन्थे, “लाहुरे हो, पेन्सनको पैसाले घर बनायो ।”

म त्यही घरमा, उसको कोठामा पहिलो पटक पसेकी थिएँ । मेरा आँखा भने उसमा भन्दा पहिला ऊँटमा परे । ऊँट उठाएकी के थिएँ, ऊ झम्टिन आइपुग्यो । म आत्तिएर चिच्याएँ । मेरो चिच्याहटले ऊ तर्सियो र ऊँट थपक्क मेरो काखमा राखिदियो ।

यसरी पहिलो भेटमै ऊ हरुवा बन्यो । म जितुवा । त्यसपछि बल्ल चिनजान भयो, हरुवा बब्लु, जितुवा कला ।


हार दोस्रो पटक पनि बब्लुकै भयो ।

ऊसँग क्यारम थियो । देहरादूनबाटै ल्याएको । मैले पहिलो पटक स्ट्राइकर समातेको त्यति वेलै हो । खेल अन्तिममा पुगेको थियो । मेरो भागमा एउटा सेतो गोटी र क्वीन बाँकी थियो । बब्लुको भागमा एउटा कालो गोटी र क्वीन । उसले कालो गोटी सजिलै छिरायो । क्वीन टचमा थियो । गाउँको नियम अनुसार, दुई जना खेल्दा टच गोटी पनि हान्न पाइन्थ्यो । तर, झेल्ली गरें मैले ।

“तैंले यो गोटी हान्न पाउन्नस्,” मैले अड्को थापेपछि उसले एक पटक मलाई हेर्‍यो । माथिल्लो ओठसम्म बगेको बाक्लो सिँगान तान्यो— स्वार्र । अनि रिटर्न हान्यो । रिटर्न तान्दा मेरो सेतो गोटी छिर्‍यो । उसले फाइन तिर्‍यो । मैले रातो क्वीन स्वाट्टै छिराएँ । गेम ओभर !

“झेल्ली,” बब्लु चिढियो ।

“के रे ? तैं झेल्ली । अबदेखि तँसँग खेल्दिनँ,” मैले घुर्की लाएँ ।

“ल, ल । होइन ।” बब्लुले मुख अलिकति बांगो पार्‍यो । आँखा भुइँतिर गाड्यो । उसका कुकुर दाँत बाहिर देखिइरह्यो । मेरो घुर्कीले काम गर्‍यो ।

नगरोस् पनि कसरी ! मभन्दा एक वर्ष जेठो भए पनि त्यति वेला हर्नामाडीमा उसको अरू कोही साथी थिएन । उमेरमा कान्छी भए पनि पढाइमा त म एक वर्षले जेठी नै थिएँ । ऊ आठमा, म नौमा । उमेर र कक्षा नमिले पनि साथी भएका थियौं हामी । भएको साथी नगुमोस् भन्ने डर थियो बब्लुलाई । त्यही डरलाई घुक्र्याउने हतियार बनाएँ मैले ।

यसै त बब्लु स्वर थिचेर बोल्ने गथ्र्यो । कसैले ठूलो आवाज गरे आत्तिन्थ्यो । झन् मेरो सामुन्ने त ऊ बजिरहेको बिनको अगाडि सर्प जस्तो हुन्थ्यो । लल्याकलुलुक । ऊ प्रायः शान्त रहन्थ्यो ।

रूप पनि अलि बेग्लै थियो उसको । कचौरा जस्ता कान अलिकति कोप्चो परेका थिए । आँखा यति चिम्सा थिए, जति वेला भेट्दा पनि निदाए जस्तै लाग्थ्यो । सबैभन्दा अनौठा त उसका कुकुर दाँत थिए– बाहिरतिर उछिट्टिएका । तिनै दाँतले गर्दा उसका ओठ कहिल्यै बन्द हुँदैनथे ।

देहरादूनमा जन्मिएको । उतै आधा बाल्यकाल बिताएको । हिन्दीमा नेपाली मिसाएर बोल्थ्यो ऊ । त्यही पनि भकभकाएर । स्कूलमा साथीहरूले उसको नाम राखिदिएका थिए, बुंगो ।


त्यो बुंगो केटाको घरमा म हरेक दिन जान्थें । हाम्रो घरबीचको दूरी हिँडेर तीन मिनेट, कुदेर डेढ मिनेटको थियो । “बुहारी । अण्डा फ्राई खाने ?” वेलावेला फुपू जिस्काउनुहुन्थ्यो ।

“ह्या ! फुपू पनि खालि जिस्काउनुहुन्छ,” म खुट्टा बजाउँथें ।

बब्लु र म मामाचेला र फुपूचेली थियौं । त्यसैले आमा र फुपू एकअर्कामा ठट्टा गर्नुहुन्थ्यो— बब्लु र मेरो बिहा गरिदिने भनेर । म आँखा तर्दै फुपूसँगै भान्सामा केही बेर अलमलिन्थें । त्यसपछि बब्लुको कोठामा पस्थें ।

मलाई भने बब्लुमा भन्दा बढी उसँग भएको क्यारम, लुडो, व्यापारी, चेस र रिङमा लगाव थियो । तीभन्दा पनि बढी मन त कमिक्समा बसेको थियो । कमिक्सको स–सानो पुस्तकालय नै थियो उसको । ती सबथोक ऊसँगै देहरादूनबाट हर्नामाडी आइपुगेका थिए ।

“अरे ओ, हमार भदैनी, त ओ बब्लुलाई नेपाली पढ्न सिकाऊ है । नेपालीमा नामी बनाउन पर्छ,” अल इन्डिया रेडियो सुनिरहनुभएका लाहुरे फुपाजुले सुत्ने कोठाबाटै आवाज दिनुहुन्थ्यो । आवाज दिउन्जेल रेडियोको कान देब्रेतिर बटार्नुहुन्थ्यो । त्यसपछि दाहिनेतिर बटार्नुहुन्थ्यो ।

‘एक प्यार का नगमा है, मौजो की रवानी है जिन्दगी और कुछ भी नहीं, तेरी–मेरी कहानी है’

फुपाजुको स्वर मधुरो हुन्थ्यो र गल्लीभरि, कोठाभरि, घरभरि, आँगनसम्मै रेडियो गुन्जिन थाल्थ्यो । बब्लु भित्ताको सिमेन्टेड तख्ताबाट कमिक्स झिकेर मलाई दिन्थ्यो । र, म रेडियोको ध्वनि तरंगमा लहरिँदै कमिक्समा हराउन थाल्थें । कमिक्स पढिरहँदा सिनेमा हेरिरहे जस्तै हुन्थ्यो । कमिक्सको लत बसिसकेको थियो । बिस्तारै बब्लुको पुस्तकालयका कमिक्स निख्रिन थाले । त्यसपछि मैले बजारबाट भाडामा कमिक्स ल्याएर पढ्न थालें । राज कमिक्सका हिरोमध्ये सुपर कमान्डो ध्रुुव मेरो प्रिय थियो । बलिष्ठ पाखुरा । गठिलो मांसपेशी । अग्लो कद । म मात्रै होइन, मेरो कक्षाका अरू केटी पनि ध्रुवको फ्यान थिए । धु्रव छातीमा पहेंलो र अन्यत्र नीलो रङ भएको टिपिक्कको कपडा लगाउँथ्यो । कम्मरमा बेल्ट बाँध्थ्यो ।

ऊसँग अलौकिक शक्ति थियो । ऊ हावामा उडेर गुण्डाहरूलाई तह लगाउँथ्यो । बच्चाहरूलाई संकटबाट जोगाउँथ्यो । चराचुरुंगीसँग बात मार्न सक्थ्यो । पानीभित्र बीस मिनेटसम्म बस्न सक्थ्यो । स्कूलका केटीहरू जस्तै कमिक्सभित्रको दुनियाँमा धु्रवलाई मन पराउनेमा रिचा (काली बिराली) थिइन् । रिचा ध्रुवको पिछा गर्थिन् । तर, ध्रुव नताशाको प्रेममा इमानदार थिए । इमानदार, रणनीतिक र भौतिक ज्ञान भएको ध्रुवको म पनि अतिप्रशंसक हुन पुगेकी थिएँ ।


प्रशंसा त म बब्लुको पनि गरिदिन्थें ।

“बब्लु, तँ मेरो बाँकेलाल होस्, पसल गइदे न”– आमाले पसल जान अह्राएपिच्छे म बब्लुलाई भन्थें । हामीले सँगै बसेर पढेका थियौं, ‘बाँकेलाल और शादीका षड्यन्त्र ।’

पसल तल्लो रोडमा थियो, डेढ किलोमिटर टाढा । ऊ दुवै कुकुर दाँत देखिने गरी हाँस्थ्यो । एक पटक स्वार्र सिँगान तान्थ्यो । अनि नाइलनको झोला बोकेर पसल जान्थ्यो । भुंग्रो जस्तो डल्लो घाम टाउकोमा अड्याएर । त्यतिन्जेल, म कमिक्स पढेर बस्थें । झ्यालछेउको खाटमा बसेर । सिरसिर बतास त्यही झ्यालबाट पस्थ्यो, रेशमी पर्दा हल्लाएर ढोकाबाट निस्कन्थ्यो ।

मुखले ‘तँ मेरो बाँकेलाल होस्’ भने पनि मलाई त ध्रुव पो मन पथ्र्यो । कहाँ ध्रुव – सुपरहिरो, शक्तिशाली । कहाँ बब्लु ? म चाहन्थें– कोही मेरो जीवनमा आओस्, ध्रुव जस्तै । ऊसँग अलौकिक शक्ति होस् । ध्रुव जस्तै मानिसलाई जोगाओस् । सामाजिक रूपमा चर्चित होस् । र, ध्रुवले नताशालाई गरे जस्तै उसले मलाई प्रेम गरोस् ।

हृदयमा कैशोर्यको काउकुती जाग्न थालेको वेला थियो त्यो । चाहना नहोस् पनि कसरी ! नर्सरीको बिरुवा जस्तै हलक्क बढेको थियो, उमेर । शरीर । आकांक्षा । सपना । र, सपनामा आउन थालेको थियो, सागर डंगोल ।

दशैंमा निस्कने नयाँ नोट जस्तो थियो सागरको अनुहार । सफा । कटकटे । ओल्टाइपल्टाई हेरिरहूँ जस्तो लाग्ने । सुमसुम्याइरहूँ जस्तो लाग्ने । डेनी डेन्जोंगपाको जस्तो हेयर स्टायल । नीलो र खैरो रङको सम्मिश्रणबाट बन्ने झोल जस्ता रसिला आँखा । छनोट गरेर वृक्षरोपण गरेको सिसौको रूख जस्तो सिरिक्क परेको ज्यान । उसले सलमान खानको साजन फिल्म हेरेपछि लगाउन थालेको थियो ‘साजन पाइन्ट’ । पाइन्टको पछाडिको खल्ती भुक्क उठेको हुन्थ्यो । खल्तीमा चाँदनी रुमाल पट्याएर हाल्थ्यो । स्कूलमा ऊ चर्चित थियो, सलमान खानको उपनामले । मैले भने उसको उपनाम ‘धु्रव’ राखिदिएकी थिएँ, मनमनै ।

हर्नामाडीमा पथलैयाबाट आएको थियो, मेरो धु्रव । उसको मामाघर यहीं थियो नि त । मामाघरमै बसेर पढ्न थालेको थियो रबिनसँग । रबिन मेरै कक्षाको सहपाठी थियो । र, मेरो ध्रुव रबिनको फुपूको छोरा । रबिन र ध्रुव एकै दामलका देखिन्थे । उसैले हो धु्रवबारे बताएको । ध्रुव हाम्रो स्कूलमा कक्षा नौमा भर्ना भएको थियो । सेक्सन ‘बी’ मा । म सेक्सन ‘ए’ मा थिएँ ।

ध्रुवलाई देखेदेखि रबिनसँग मेरो मित्रता बाक्लो हुन थालेको थियो । रबिनसँग गफ गर्दा ध्रुवबारे म थप जानकारी प्राप्त गर्थें । ध्रुवसँग त कहिलेकाहीं हाफ छुट्टीमा स्कूलको करिडोरमा भेट हुन्थ्यो । कहिलेकाहीं साइन्सको प्राक्टिकल हुँदा ल्याबमा । अर्थशास्त्रको कक्षा चाहिं एउटै हुन्थ्यो । त्यस बखत म ऊभन्दा पछिल्लो बेन्चमा बस्थें । त्यसो त स्कूल छुट्टी भएपछि चौरमा पनि देखाभेट हुन्थ्यो । जहाँ केटाकेटीहरू जम्मा हुन्थे । भलिबल प्राक्टिस गर्थे ।

.......

एक पटक भलिबल प्राक्टिस गर्दै थियौं । ध्रुव हाम्रो समूहमा थियो । कोर्ट वरिपरि खेल हेर्ने केटाकेटीहरूले रेखा बनाएका थिए । बब्लु त्यो रेखाको एउटा थोप्लो भएर उभिएको थियो । ऊ मेरो सर्भिस पालो पर्दा मात्र बल टिपेर ल्याइदिन्थ्यो ।

“बब्लु बल ल्या त ।” क्लकवाइज गेममा धु्रवको सर्भिसिङ गर्ने पालो थियो । बल कोर्ट बाहिर पुगेको थियो । बब्लु चुपचाप उभिरह्यो ।

“ओई, बुंगो । सुनिनस् ? बल ल्या भनेको ।” धु्रव जंगियो । बल अर्कै फुच्चे केटोले टिपेर ल्याइदियो ।

“ला, सा..ला ।” धु्रवले बल हावामा उफार्‍यो । सुइँय्य .. । सँगसँगै आफू पनि उफ्रियो । र, निधारभन्दा एकहात माथिबाट सट हान्यो । ड्याम्म । बब्लु डंग्रङ भुइँमा ढल्यो । बल बब्लुको छातीमा लागेको थियो । एकछिन भुइँमै घोप्टिरह्यो ।

“मुला, अझ हाँस्छस् । बुंगो ।” धु्रवले बब्लुको नाम काढ्यो । बब्लुको दुवै कुकुर दाँत बाहिर देखिएको थियो ।

बब्लु उठ्यो । छातीमा टाँसिएको धुलो टक्टक्याउँदै बब्लु ध्रुवको नजिक आयो । नाक बजायो । स्वार्र.. । एक्कासि धु्रवको छातीमा टाउको जोत्यो । न्वारनदेखिको बल झिकेर घचेट्दै लग्यो । नेट टाँगिएको पोलसम्म पुर्‍याएर धस्यो । त्यसपछि घरतिर बेपत्ता दौडियो ।

यो सब छिनभरमा भएको थियो । के हुँदै छ भन्ने अनुमान लाउन नभ्याउँदै । हामी सबै एक छिन ट्वाँ पर्यौ । मैले पहिलो पटक बब्लु त्यसरी झोंक्किएको देखें । खासमा बब्लु हाँसेकै थिएन । चोटले रन्थनिएको थियो । ऊ रिसाउँदा पनि उसको कुकुर दाँत देखिन्थ्यो । त्यसैलाई ध्रुवले हाँसेको भन्ठानेछ । र, थप गाली दियो । बब्लु अब ठूलो भइसकेको थियो । सोह्र वर्षको । उसलाई नाम काढेको फिटिक्कै मन पर्दैनथ्यो ।


मन त मलाई पनि पर्न छोडेको थियो– बब्लु । धु्रवले मेरो सम्पूर्ण ध्यान आपूmतिर जो खिचेको थियो । म बब्लुकहाँ भने पुगिरहन्थें । बब्लुको झयालबाट मूल सडकमा चियाउन । मूल सडकमा ध्रुव र रबिन साइकल कुदाउँदै बजार जान्थे । फर्कन्थे । मलाई जतिखेरै ध्रुवलाई देखिरहूँ, हेरिरहूँ लाग्न थालेको थियो । ऊ साथीहरूसँग हात हल्लार्ई–हल्लाई गफ्फिएको टाढैबाट हेर्थें । नजिक पुग्न भने आँट हुँदैनथ्यो । कहिलेकाहीं नजिक पुगें भने उभिएको जमीन नै हल्लिरहे जस्तो लाग्थ्यो ।


नभन्दै एक दिन म उभिएको जमीन हल्लियो ।

मेरो धु्रवले बिनालाई भगाएछ । बिना मेरै सहपाठी । काली केटी । फटाही केटी । तर, त्यसले कहिल्यै कुनै सुइँकै दिइनँ । धु्रव र उसको प्रेमको । सुइँको त मैले पनि कहाँ दिएँ र ! धु्रवलाई मन पराएको । एकोहोरो प्रेम गरेको । ऊ ओहोरदोहोर गर्ने बाटोछेउ उभिने गरेको । बब्लुको झयालबाट चियाएको । कक्षामा उसको पछाडिको बेन्चमा बस्ने गरेको । अहँ कसैलाई थाहै दिइनँ । आँफैलाई ढाँटेर मेरो हृदयले प्रेम गरेको धु्रव अरू कसैलाई प्रेम गर्दो रहेछ । अरू कसैको सपना देख्दो रहेछ । अरू कसैको हात समाएर पे्रमको राजमार्गमा हिँड्दो रहेछ ।

एकाएक भ्रमको कुहिरो फाट्यो र सत्य मेरो अगाडि उभिदियो । थ्याच्च पछारिएँ म यथार्थको धरातलमा । लाग्यो, बिरानो सडकको चौबाटोमा दिशाहीन छु, एक्लै–एक्लै उभिइरहेकी । हातमा बोकेर प्रेमको फूल– ओइलाइसकेको, सुकिसकेको ।

खबर आएको दिन म ओछ्यानमै पल्टिरहें । बब्लुको घरमा पनि गइनँ । जाने नै किन र ?


“माइजू, कला छ ?” भोलि पल्ट बब्लु मलाई खोज्दै आयो ।

“छ हो, अचम्मै भाछ । डुलुवी हिजोदेखि कतै गएकी छैन ।” आमाको कटाक्ष सँगसँगै बब्लु मेरो कोठामा आइपुग्यो । बब्लुको डडाँल्नोमा चढेर घाम आइपुग्यो ।

म उठेकै थिइनँ । ऊ खाटछेउको मुढा तानेर बस्यो । मैले आँखा उठाएर बब्लुलाई हेरें । उसको कुकुर दाँत बाहिर निस्किएको थियो ।

“आमाले खोजिरहनुभा’छ ।” आमाको बहाना लाएर बब्लुले आपूmलाई पोख्यो । मलाई भने कसैसँग बोल्न मन थिएन । ट्वाल्ल परेर बब्लुलाई हेरिरहें । बब्लुको आँखा हिउँदको इनार जस्तो देखिएको थियो । गहिरो । अलिअलि ओसिलो । त्यो आँखा ध्रुवको जस्तो थिएन । धु्रवको सम्झनाले आङमा करेन्ट लागे जस्तो झनन पैदा भयो । हुलुक्क भयो । अमिलो थुक मुखभरि जम्मा भयो । म जुरुक्क उठेँ । झ्याल उघारेर बाहिर थुकें । झ्यालबाटै देखेँ, रबिन करेसाबारी हुँदै मेरो घरतिर आउँदै गरेको ।

“तँ जा । म पछि आउँछु ।” मैले बब्लुलाई धपाएँ ।

मैले बब्लुलाई धपाएँ । पहिले घरबाट । पछि जिन्दगीबाट । खासमा म आफैं भागें रबिनसँग । एसएलसी परीक्षा सकिएको पर्सिपल्ट ।


सत्र वर्षपछि बब्लुसँग भेट भयो, शहरकै अस्पतालमा । उसको पापालाई त्यहाँ भर्ना गरिएको मैले आमाबाट थाहा पाएकी थिएँ । आमा र म पापालाई भेट्न गएका थियौं । पापाको स्वास्थ्य अवस्थामा सुधार हुँदै रहेछ । वार्डमा आमा बब्लुको पापा नजिकै बसेर मसिनोसँग बोल्न थाल्नुभयो । म र बब्लु बाहिर निस्कियौं । अस्पतालको क्यान्टिनमा चिया पिउन थाल्यौं ।

“अनि तैंले बिहे गरिस् ?” बब्लुको अगाडि चियाको कप सार्दै सोधें मैले ।

“हा, हा । गरें नि हो, दुई–दुईवटा,” बब्लु बोलक्कड भइसकेछ ।

“दुइटा ! मागी कि भागी ?” म छक्क परें ।

“अँ । दुइटै भागी बिहे । पहिलेकीले छोडेर गई, मेरो मायाले मात्तिएर । तँ जस्तै ।” बब्लु आँखा टम्मै बन्द हुने गरी बोल्यो ।

“साले, मैले सोचें, तँ मेरो नाउँमा खरानी घसेर हिँड्नेछस् ।” मैले ठट्टा गरें । मेरो ठट्टा सुनेर बब्लु धीत मर्ने गरी हाँस्यो । हाँस्दा बब्लुको उछिट्टिएका दुवै कुकुर दाँत देखिए ।

comments powered by Disqus

रमझम